याक्थुङ (लिम्बू) हरू लिम्बुवानमा देवताहरू आउनुभन्दा पहिला आएका हुन् । कतिपय मानवशास्त्रीहरूले किरातीहरू नवपाषाण युग अघिबाटै नेपालमा बस्दै आएका हुन् भनेका छन् । रुसी पुरातत्वविद् एनातोले सटेनकोले वि.सं. २०३४ सालमा काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा ई.पू.३० हजार वर्षअघिको ढुङ्गे हतियार उत्खनन् गरी प्राप्त गरेका थिए । उक्त ढुङ्गे हतियार किरातीहरूको हो भन्ने उनको निष्कर्ष छ । उनको निष्कर्षअनुसार किरातीहरू सोही समयबाट नै हिमालयको दक्षिणी भू–भागमा विचरण गर्दै आएका हुन भन्ने स्पष्ट हुन्छ । याक्थुङ किरात मानव समुदायकै एउटा प्रमुख शाखा हो । त्यसकारण याक्थुङ जातिको उद्विकास ताप्लेजुङ जिल्लाको याङ्याङ (तमोर क्षेत्रं) को आसपास अथवा फक्ताङ्लुङ (कुम्भकर्ण), कोङ्कोङ्लुङ (कञ्चनजङ्घा), मुकुमलुङ (पाथीभरा) उपत्यकामा भएको प्रतीत हुन्छ । याक्थुङहरूको आदि मानव मुजिङ्ना–खेयोङ्नाको जन्म भएको स्थान ताप्लेजुङ जिल्लाको पिप्पुधापलाई मानिन्छ भने उनका सन्तान सुसुवेङ लालावेङले समेत यही भूखण्डमा विचरण गरेका थिए । याक्थुङ जातिको अनुभव र अनुभूतिजन्य ज्ञानको पुञ्ज तथा जीवन दर्शनको रूपमा रहेको ‘मुन्धुम’ को रचना पनि नवपाषाणकालमै छिरुवा, तापेथोक, लेलेप, हेल्लोक, इखाबु आदि क्षेत्रमा भएको विश्वास गरिन्छ । यर्जुवेद, अथर्ववेद, रामायण, महाभारत, मनुस्मृति र कौटिल्यको अर्थशास्त्र जस्ता हिन्दु धर्मग्रन्थ तथा अन्य ग्रन्थहरूमा किरात जातिको उल्लेख हुनु तर, मुन्धुममा खसआर्यका बारेमा कतै उल्लेख नहुनुले पनि मुन्धुम आदि हो र किरात समुदाय र याक्थुङ जाति नवपाषाण युगभन्दा पहिलेदेखि नै यहीँका रैथाने हुन् भन्ने कुरा झल्किन्छ ।

वगोङ्मा मुन्धुम (गर्भ रक्षा मुन्धुम) अनुुसार माइतीले चेलीलाई मन परेको सेम्फुङ पाङ्फोकफुङ (फूल) टिप्न खोज्दा माइती भीरबाट लडेपछि तमोर नदीले बगायो । चेलीले काबेली र तमोरको किनारैकिनार माइतीको लाश खोज्दै जाँदा वराहक्षेत्रको कोका नदी किनारमा लाश प्राप्त गरिन् । भावविह्वल चेलीले माइतीको लासमा फूलको माला चढाई आलापविलाप गर्दै सुन र चाँदीको पुलमा ओहोर–दोहोर गरी गर्भ रक्षा गर्ने जुनी लिनू भनी वरदान दिइन् । यस मुन्धुममा सुनचाँदीको प्रसङ्ग आएको र वैज्ञानिक मतानुसार सुनचाूदी इ. पू. ६ हजार वर्ष अघि पत्ता लागेको हो । त्यसकारण, याकथुङका पुर्खा दशौं हजार वर्ष अघिबाटै उक्त स्थानमा बसोबास गर्दै आएको पुष्टि हुन्छ । यस्ता अरू अनेकौं मुन्धुमहरूबाट पनि यही कुरा ज्ञात हुन्छ । यसको अतिरिक्त विभिन्न याक्थुङ लोककथा तथा किंवदन्तीअनुसार समेत माथि उल्लेखित स्थान तथा मुनातेम्बे, महाभारत पर्वत र चुरे क्षेत्र नै याक्थुङहरूको उद्गमस्थल भएको कुरा प्रमाणित हुन्छ ।

पृथ्वीनारायण शाहले सैनिक शक्ति, षड्यन्त्र तथा अनेक अमानवीय जालझेल गरेर याकथुङ राज्यलाई पराजित गरी गोर्खा राज्यमा विलय गराए । तत्कालिन समाजको विविधतालाई संगठित हिंसाद्वारा नामेट पार्ने राजा शाहको कार्य गोरखा राज्यको विस्तार थियो, एकिकरण थिएन । अन्तिम मल्ल राजा जयप्रकास मल्ललाई सहयोग गर्न सन् १७६७ मा क्याप्टेन किनलकको नेतृत्वमा आएको ब्रिटिस फौजलाई गुरिल्ला शैलीमा लडी सिन्धुलीगढीमा हराए पछि राजा शाहका सेनाले ठूलो सङख्यामा उक्त फौजको अत्याधुनिक हातहतियार कब्जा गरे । ती हातहतियारहरू नै वस्तुतः याक्थुङ राज्यको अवसानको मूल कारण बन्यो । नत्र याक्थुङ इतिहासले अर्के मोड लिन्थ्यो ।

याक्थुङ राज्यलाई गोर्खा राज्यमा विलय गराए तापनि याक्थुङहरूलाई किपटलगायत व्यापक स्वायत्तता प्रदान गरियो । त्यसको लगत्तै राजा शाहले श्री सुन राय, श्री कुम राय र श्री जङ्ग राय (लिम्बू राजाहरू) लाई सम्बोधन गर्दै एउटा तसल्ली मोहोरमार्फत् याकथुङहरुलाई अत्यधिक खुसी पार्ने र त्यत्तिकै विश्वस्त तुल्याउने काम गरेका थिए । उक्त तसल्ली मोहोरको सार यस प्रकार छ– ‘तिमीहरू हाम्रा भारदारसँग सामेल रहनू र मद्दत सघाई हिजो आफै आफ अपुङ्गी बसी आए बमोजिम त्यो मुलुक सम्भार गरी जिमी भूमि रहिञ्जेल तिम्रा शाखा सन्तानतक भोग्य गर । हामीले खोसे मासे मानी पूजी ल्याएको देवताले हाम्रो राजकाज भङ्ग गरोस्....।’ यद्यपि देशभक्त, असन्तुष्ट याक्थुङहरूले शाहको शासन विरुद्ध वि.सं. १८३१ देखि १८४३ सम्म लगातार विद्रोह गरे । त्यसपछि पनि इतिहासको विभिन्न कालखण्डमा याक्थुङहरूले कहिले सशस्त्र त कहिले निःशस्त्र अनि कहिले सघन त कहिले सामान्य विप्लवहरू अक्षुण्णरूपमा गर्दै आएका छन् । तसल्ली मोहोरमार्फत् याक्थुङहरूलाई दिएको प्रण शाह राजाहरूले वि.सं. २०२१ सालमै तोडे ।

पूर्वी लिम्बुवानको याक्थुङ जाति यो मुलुकको एक विशिष्ट जाति हो । जसको आºनै सभ्यता, संस्कृति, भाषा, धर्म, लिपि, प्रथाजनित कानून (तुम्याहाङ प्रणाली), विशेष मनोविज्ञान, भूगोलहरू छन् । उहिले माथि उल्लेख गरे बमोजिमको सार्वभौम राज्यसमेत थियो । र, थियो किपट भूमि र स्वायत्तता वि.सं. २०२१ सालसम्म । सबैभन्दा महŒवपूर्ण कुरा त याक्थुङहरूसँग नवपाषाण कालमै रचना गरिएको, ज्ञानको सागर मानिएको र कथ्य परम्परामा जीवित रहेको ‘मुन्धुम’ छ । त्यो मुन्धुम नै याक्थुङहरूको दिग्दर्शक दर्शन हो; जसले अनादी कालदेखि आजपर्यन्त उनीहरूलाई दिशानिर्देश गर्दै आएको छ । तथापि विश्वकै सर्वाधिक धनी व्यक्ति एलेन मस्कले सन् २०५० सम्ममा ‘स्पेसएक्स रकेट’ मार्फत् १० लाख मानिसहरूलाई मङ्गल ग्रहमा लगेर एउटा सहर बसाउने महामिसनको कर्ममा अधिर रहँदै गर्दा याक्थुङहरूले आºनो गुमेको राज्यलाई पुनः स्थापना गराउने मिसनलाई सदाका लागि तिलाञ्जली दिइसकेका छन् । आजको सन्दर्भमा यही चेतना नै सर्वोत्तम पनि हो ।

तर, निःसन्देह आजको युग पहिचानको युग हो । यही कुरालाई समयमै तीक्ष्ण दृष्टिका कारण गहिरो ढङ्गले बुझेका विश्वको १ नम्बर विश्वविद्यालय हार्वडका प्रकाण्ड विद्वान प्राध्यापक सामुएल फिलिप्स हन्टिङ्टनले सन् १९९६ मा ‘सभ्यताहरूको द्वन्द्व र विश्व व्यवस्थाको पुनर्निर्माण’ भन्ने पुस्तक प्रकाशित गरेर यो जगत्मा बिसौं शताब्दीकै सबैभन्दा ठूलो सुनामी ल्याइदिएका थिए । विश्व प्राज्ञिक जगत्मा हलचल मच्चिएको थियो । विश्वका सबै मुलुकका विद्वानहरू माझ उक्त अद्भूत कृतिका बारेमा कैयौं पटक प्राज्ञिक विवेचनाहरू भएका थिए । उक्त कृतिका अनुसार अब वैचारिक द्वन्द्वको युगलाई सभ्यताको द्वन्द्वको युगले प्रतिस्थापन ग¥यो । हार्वड विश्वविद्यालयका कुशाग्र बुद्धि भएका अर्का प्राध्यापक फ्रान्सिस फुकुयामाका अनुसार अब पश्चिमा उदार लोकतन्त्रको विश्वव्यापीकरण र विजय भएको छ । अबको नयाँ विश्व व्यवस्थामा सबैभन्दा व्याप्त, महत्वपूर्ण र विपद्पूर्ण द्वन्द्व इतिहासमा जस्तो सामाजिक वर्ग, धनी र गरिब र आर्थिक वर्गहरूमाझ हुने छैन । मूलतः भिन्न सांस्कृतिक समूहका बीचमा हुनेछ । युगोस्लाभियाको द्वन्द्वमा रसियाले सर्बहरूलाई सहयोग गर्यो भने साउदी अरेबिया, टर्की, लिबिया र इरानजस्ता मुलुकहरूले बोसनियनहरूलाई सहयोग गरे । यसरी सहयोग गर्नुको कारण वैचारिक, राजनीतिक थिएन, न त आर्थिक नै थियो । बरू यसको कारण थियो, उनीहरू माझको सांस्कृतिक सादृश्यता । प्राध्यापक हन्टिङ्टनले  एउटा सन्दर्भमा भनेका छन– ‘जबसम्म हामी जे होइनौं र त्यसलाई घृणा गर्दैनौं, तबसम्म हामी जे हौँ, त्यसलाई प्रेम गर्न सक्दैनाँै ।’ यो कथन निर्विवाद सत्य हो । वस्तुतः आजको मनुष्यले आफूलाई बढी प्रेम र अरूलाई बढी घृणा गरेकै कारण अधिकांश द्वन्द्वहरू जन्मिएका हुन् । रसिया–युक्रेन युद्ध त्यही अनुरागको मानसपुत्र हो । युगोस्लाभिया त्यही प्रवृत्तिले टुक्रिएको थियो र पृथक सभ्यताकै कारण दुई महाशक्ति राष्ट्र चीन र अमेरिकाको सम्बन्ध आज इतिहासमै सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ ।

त्यसैले आजको युगचेतनाअनुसार याक्थुङ, शेर्पा, राईहरूले प्रदेश १ को नामाङ्कन उनीहरूको पहिचान झल्किने हुनुपर्दछ भन्ने माग राख्दै आएका छन् । यद्यपि प्रदेश १ का आदिवासी जनजातिहरूको चाहना अन्य जातिहरूको सभ्यता, संस्कृति, भाषा, धर्म र पहिचान नामेट पारेर आºनोको मात्र प्रभुसत्ता कायम गराँै भन्ने हुँदै होइन, जुन यो मुलुकमा अद्यावधिक हुँदै आएको छ । अनेक आवरणमा यो प्रपञ्चको सुरुवात तत्कालीन समयमा दार्जिलिङ निवासी सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सुधपा) बाट भएको थियो । पछि यो प्रवृत्तिलाई लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र राजा महेन्द्रहरूले राज्यसत्ताको समेत चरम् दुरुपयोग गर्दै प्रभावकारी कार्यान्वयन गरेका हुन् । एक राष्ट्र हुनका लागि एक जाति, एक भाषा, एक संस्कृति, एक धर्म हुनुपर्छ भन्ने विचारका प्रमुख भाष्यकार थिए देवकोटा । उनी पहाडी खस–आर्य संस्कृतिलाई मात्र नेपाली संस्कृति ठान्थे र खस–आर्य सभ्यतालाई मात्र सभ्य ठान्थे । भाषा आयोगका प्रतिवेदनहरू, पुस्तकहरू र अन्य दस्तावेजहरूमा यस्ता दुरासययुक्त र विद्वेषपूृर्ण विचार र भावनाहरू छ्यापछ्याप्ति पढ्न पाइन्छ ।

ती प्रतिवेदन र दस्तावेजहरूमा आदिवासी जनजातिहरूको सभ्यता, भाषा, संस्कृति र धर्मलाई जङ्गली र असभ्यको संज्ञा दिँदै तिनीहरूलाई मासेर हिन्दु सभ्यता, संस्कृति, धर्म र पर्वते भाषाको एकछत्र प्रभुसत्ता स्थापना गर्न सुझाइएका छन् । एक दरबारिया विद्वान् कृष्णचन्द्र अर्यालले वि.सं. १९७४ मा भाषाको सम्बन्धमा यस्तो धारणा व्यक्त गरेका थिएः ‘...जहाँसम्म एक गोरखाभाषाले अरू सबै जङ्गली भाषालाई अर्ध(चन्द्र (गलहत्ती) लगाउन्न, तहाँसम्म गोरखाभाषाको उन्नति हुन्छ भन्नु र मुख्य भाषा कहिनयोग्य छ भन्नु केवल मनको लड्डु मात्र हो ।’ यी तथाकथित बुज्रुकले जङ्गली भाषाको संज्ञा लिम्बू, मगर, तामाङ, नेवार, भोटे, दनुवार, थारू भाषालाई दिएका हुन् । नेपाल राष्ट्रिय शिक्षा योजना आयोगको एउटा नश्लीय सुझाव यस्तो छः ‘...केटाकेटीहरूलाई प्रारम्भिक भाषा (शिक्षाको माध्यम भाषा) का रूपमा नेपाली नै सिकाइयो भने अरू भाषाहरू क्रमशः गौण हुँदै जानेछन् ।’ जङ्गबहादुर राणाले वि.सं. १९१० मा इस्तिहार जारी गरी सरकारी कामकाजको भाषा नेपाली अनिवार्य हुनुपर्ने, चन्द्रसमशेरले वि.सं. १९६२ मा घरायसी कागजपत्रहरूसमेत नेपाली भाषामा लेख्नुपर्ने नत्र अदालतमा मुद्दा नलाग्ने र देवकोटाहरूले शिक्षाको माध्यम भाषासमेत पर्वते भाषा अनिवार्य गरिदिएपछि आदिवासी जनजातिहरूको भाषा, संस्कृति तथा सभ्यता ओझेलमा पर्दै गए, कति मासिए र कति कोमामा पुगे । समृद्ध साहित्य निर्माणको उषाकालमा प्रवेश गरेको याक्थुङ भाषाको उन्नयनसमेत युगौं पछाडि धकेलियो ।

सङ्घीयता अन्तर्गतको लोकतान्त्रिक सरकार उत्कृष्ट सरकार भएको हुनाले एउटै मात्र नागरिकको गुनासो सम्बोधन गर्नु पनि उक्त सरकारको प्रमुख दायित्व मानिन्छ । तर, विडम्बनाहरूको पनि विडम्बना त के भने प्रदेश नम्बर १ का लाखौं आदिवासी जनजातिहरू त्यसमा पनि विशिष्ट याक्थुङ जातिलगायत युगौंदेखि पहिचानको निम्ति आन्दोलित हुँदै आएका छन् । उनीहरूसँग गहिरो पीडा, वेदना, आक्रोस र अपमानित हुनु पर्दाको व्यथा र कुण्ठा छ; जसलाई उनीहरूले सभ्य र शान्तिपूर्ण तरिकाले निरन्तर अभिव्यक्त गर्दै आएका छन् र अथाह वलिदान गर्दै आएका छन् । उदेकलाग्दो कुरा त के छ भने सङ्घीयता अन्तर्गतको लोकतान्त्रिक राज्यले जनताको पीडामा मलहमपट्टी लगाउनु त कता हो कता उल्टो मुसोलिनी प्रवृत्ति प्रदर्शन गर्दै आएको छ । त्यही प्रवृत्तिको ज्वलन्त परिणाम स्वरूप लाजेहाङ लिम्बू सहिद बन्न पुगे । त्यति मात्रै कहाूँ हो र ? गोली लागेर ढलेका गजेन्द्र फागोलाई प्रहरीले नृशंसतापूर्वक टेकेर उनको खुट्टा दुई ठाउँमा भाँचिदिए, जुनबेला उनी बलिन्द्र आँसुका धारा बगाएर रोइरहेका थिए । त्यतिले पनि जल्लादहरूको क्रोधाग्नि समन नभएपछि लाठीले निर्ममतापूर्वक हिर्काएका थिए । खोइ कहाँ गयो हाम्रो मानवता र समवेदना ? सयौं गम्भीर घाइते भएर अस्पतालमा उपचार गरिरहेका छन् भने सयौंलाई झुट्टा मुद्दामा फसाएर जेलको कहर काट्न बाध्य पारिएको छ ।

वस्तुतः यो राष्ट्रको आन्दोलन हो । जुन समाजमा अझै विभेद, असमानता र जातिवाद व्याप्त छ, त्यो समाजलाई न्यायपूर्ण, सभ्य, सुसंस्कृत र सम्मानित बनाउने आन्दोलन पनि हो यो । इतिहासमा स्वाभिमानी जाति याक्थुङहरूको भूमि हरण भएको छ, उनीहरूको भाषा, संस्कृति, धर्मलाई राज्यसत्ताको बलमा मास्ने कुकृत्य गरिएको छ र उनीहरूले अझै विकासको लयलाई पक्रिन सकिरहेका छैनन् । सत्य त के हो भने लिम्बुवानका ‘फस्ट सेटलर’ याक्थुङहरू नै हुन् । उनीहरूले नै त्यहाँको वन, जङ्गल, डाँडाकाँडा र भस्मे फाँडेर कृषियोग्य जमिन बनाएका थिए । कृषिको प्रारम्भ गरेका थिए । अनि संस्कृतिको विकास गर्दै सभ्यताको निर्माण गरेका थिए । आजका शासकहरू त केही सय वर्षअगाडि मात्र आएका शरणार्थी हुन्, जसलाई याक्थुङहरूले जहिल्यै न्यानो हृदयले शरण, स्नेह र सम्मान सबै दिएका थिए ।

अमेरिका आधारभूत रूपमा दोस्रो–तेस्रो विश्वमा साम्राज्यवादी मुलुकको रूपमा निन्दित देश हो । यद्यपि अमेरिकी संविधानले त्यहाँका आदिवासीहरूलाई पर्याप्त अधिकार र सम्मान दिएको छ । अमेरिकामा चानचुन १ करोड आदिवासी छन् । तीमध्ये नाभाजो, चेरोक्की, इलिनोइ, चक्टव, मस्कोजी, हउडेनोसउनी आदि प्रमुख हुन् । अमेरिकी सङ्घीय सरकारले संवैधानिक रूपमा ५ सय ७४ वटा आदिवासी सरकारलाई मान्यता दिएको छ । केही अपवादबाहेक यी सरकारको आºनो आन्तरिक मामिलालाई नियमन गर्न सङ्घीय र राज्य सरकारको जस्तै अधिकार हुन्छ । कानून बनाउने, कर लगाउने, आर्थिक समृद्धि हासिल गर्ने, संस्कृतिको रक्षा गर्ने, जमिनको व्यवस्थापन गर्ने अधिकार हुन्छ । यतिसम्म कि उनीहरूको आºनै अदालत पनि हुन्छ । अमेरिकी आदिवासीहरूको सम्प्रभुतालाई अमेरिकीहरूको भन्दा पुरानो मानिन्छ । आदिवासीहरूको जमिनप्रति सम्मान दर्शाउन प्रत्येक औपचारिक कार्यक्रम प्रारम्भ गर्नुभन्दा पहिले आफू उभिएको जमिनलाई ढोग्ने गरिन्छ । 

आज नेपालका आदिवासीहरू पनि पहिचान खोज्दैछन् अथवा समानताको माग गर्दै छन् । अमेरिकाका आदिवासीहरूले जस्तो धेरै ठूलो कुरा मागेका छैनन् । उनीहरूले खस–आर्यहरूले जस्तो आफ्नो वर्चस्व कायम गर्न पनि कदापि खोजेका होइनन् । नेपाल नामको सुन्दर बगैंचामा सबै फूलहरूले समानरूपमा फुल्न पाउनु पर्छ ता कि विविध जातिहरूको एउटा लालित्यपूर्ण इन्द्रेणी समाज बनोस् । एउटै बगैंचामा रोपिएका त्यसमा पनि यो देशका भूमिपुत्रहरूले झारको रूपमा उच्छेदन व्यर्होनु नवचेतनाको युगमा कदापि सह्य हुँदैन र हुनु हुँदैन । त्यस्तो जायज माग राख्ने समुदाय कसरी जातिवादी हुन सक्छन् ? जातिवादी, नश्लवादी त ती हुन् जसले प्रदेश १ को नाम छापामार शैलीमा कोशी राखे; त्यो पनि जनयुद्धका नायक ‘प्रचण्ड’ स्वयम् प्रधानमन्त्री भएको बेला । यसले एउटा यक्ष प्रश्न खडा गरेको छ–‘जनयुद्ध के का लागि, कसका लागि लडिएको थियो ? कोशी कुनै सभ्यता होइन, न त कोशी नदी नेपालमा बग्छ, न त कोशी नाम कुनै समुदायको माग नै थियो ।’ यद्यपि यो नाम राख्नका लागि ठूलो ब्यूहरचना गरियो र राखियो । कसैलाई अग्रिम सूचना दिइएन । यो नामको बारेमा कसैलाई विचार राख्न पनि दिइएन । मिडियालाई समेत निषेध गरियो । गोप्य मतदान गर्न पाउने सांसद्हरूको संवैधानिक अधिकारलाई समेत उल्लङ्घन गर्दै खुला मतदान गर्न बाध्य पारियो । उक्त हर्कत असली फासीवाद थियो । वस्तुतः नश्लवादीहरूले लोकतन्त्रको चीरहरण गरेका थिए ।

प्रदेश १ को कोशी नामाङ्कन ८२ सांसद्हरूको मानसपुत्र थियो भनिए तापनि त्यो केवल प्राविधक कुरा मात्र हो । यथार्थमा कोशी नाम त ओली, देउवा, प्रचण्ड, नेपालको विवेकको प्रतिफल थियो । जुन पुस्ताको चेतना आज पनि सामन्तवादी चिन्तन र चेतनाको घेरामै फन्को मारिरहेको छ भन्ने कुरा निक्र्योल गर्न सरकारले टोपबहादुर रायमाझीलाई गिरफ्तार गर्न खोज्दा ओलीले मिडियालाई दिएको प्रतिक्रियालाई विश्लेषण गर्दा छर्लङ्ग हुन्छ । बारम्बार उपप्रधानमन्त्री, मन्त्री तथा सांसद् भएको व्यक्तिलाई जताततै अपहरणको शैलीमा गिरफ्तार गर्नु आपत्तिजनक छ, उनीजस्तो मान्छे आफै आउँछन्, ओलीले भनेका थिए । मुलुकको प्रधानमन्त्री भैसकेका र फेरि पनि हुने सम्भावना बोकेका राजनेताको यस्तो धारणा हुनु नवचेतनाको गरिबीबाहेक अरू के हुन सक्छ ? के मन्त्री नभएको व्यक्ति मन्त्रीभन्दा शिक्षित, सभ्य, नैतिकवान र इमान्दार हुन सक्दैन ?

युग कहाँ पुग्यो भन्ने बारेमा माथि नै चर्चा गरियो । तर, उनी दृढताका साथ भन्दैछन्, त्यो पनि पत्रकारहरूलाई ठूलालाई कानून लाग्दैन । भूइँमान्छेलाई निर्दोष भए पनि जेल हाले हुन्छ । नत्र कुनै पनि अभियुक्तलाई चाहे ऊ प्रधानमन्त्री नै किन नहोस् प्रमाण नष्ट हुने, फरार हुने, अझ जटिलता उत्पन्न हुने हुनाले जहाँ जे जस्तो अवस्थामा छ, यथाशीघ्र गिरफ्तार गर्नुपर्ने होइन ? आखिर रायमाझी पनि फरार भए त † जतिसुकै ज्ञानगुनका कुरा छाँटे पनि मानसिकता चाहिँ मध्ययुगिन भएपछि त्यो ज्ञान घातक नै हुन्छ र यस्तो मानसिकताबाट यो मुलुकमा कायापलट हुन्छ भन्ने अपेक्षा राख्नु चाहिूँ हास्यास्पद नै लाग्छ ।

यो मुलुकमा तीव्र विकास र समृद्धि हासिल गर्न तथा सामाजिक न्याय, शान्ति र अटल राष्ट्रियतालाई सुनिश्चित गर्न सत्यको अखण्डितामा होइन, खण्डितामा, अनुभूतिको एकत्वमा होइन बहुलतामा र सत्यको सार्वकालिकतामा होइन सापेक्षतामा विश्वास गर्नु अपरिहार्य छ । फ्रान्सेली दार्शनिक ज्याक डेरिडाको ‘विनिर्माणवाद’ दर्शनको सार नै यही होला । विनिर्माणवादले पुरानोलाई भत्काएर नयाँ सिर्जना गर्ने विनिर्माण प्रक्रियामा विश्वास गर्छ । फ्रेडरिक नित्सेको ‘ईश्वरको मृत्यु’, रोलाँ बार्टको ‘लेखकको मृत्यु’, फ्रान्सिस फुकुयामाको ‘इतिहासको अन्त्य’ र  जिन फ्राङको ल्योतारको ‘महाख्यानको अन्त्य’ जस्ता नवचिन्तकहरूले पनि यही विचारलाई पुट दिन्छ । आज मुलुकमा चरम भ्रष्टाचार, लुट, बेथिति, बेरोजगारी र विभेद व्यप्त छ । दूरदराजका भूइँमान्छेहरू सिटामोल खान नपाएर ज्यान गुमाइरहेका छन् । ६० लाख युवाहरूलाई हातमुख जोडन खाडी मुलुक जानुपर्ने बाध्यात्मक परिस्थिति छ । शिक्षित, प्रतिभाशाली युवाहरूलाई यही मुलुकमा भविष्य बन्छ भन्ने कुरामा किञ्चित विश्वास छैन; प्लस–टु सक्ने बित्तिकै उनीहरूको गन्तव्य बेलायत, अमेरिका र अष्ट्रेलिया बन्दै आएको छ । यस्तो निराशाजनक स्थिति पैदा हुनुमा शीर्षनेताहरू नै जिम्मेवार छन् ।

उनीहरूकै कारण आज प्रदेश नम्बर १ अशान्त बनेको छ । पहिचानवादीहरूको माग यथाशीघ्र सम्बोधन नगरिए यो गहिरो पीडा, अपमान र चित्कारको आगो अन्य प्रदेशमा समेत छिट्टै सल्किनेछ । वस्तुतः शीर्षनेताहरूकै पुरातन चिन्तन र चेतनाको कारण प्रदेश १ का नागरिकको शिर ढलेको छ । ढलेको शिर ठाडो पार्नको निम्ति उनीहरूको माङ्गेन्ना (याक्थुङहरूको शिर उठाउने आध्यात्मिक अनुष्ठान) गर्नु पर्दछ । उक्त माङ्गेन्ना भनेको प्रकारान्तरले प्रदेश १ को गोत्रीय नाम ‘कोशी’ तत्काल खारेज गरी त्यहाँका आदिवासी जनजातिहरूको पहिचान झल्किने ‘अभियाचना’ लाई अविलम्ब पूरा गर्नु नै हो । नत्र व्यवहारमा राष्ट्रिय गानमा भनेजस्तो सय थुँगा फूलका हामी एउटै माला नेपाली होइन कि, एउटै थुँगा फूलका हामी एउटै माला नेपाली मात्र चरितार्थ हुनेछ ।