कोशी प्रदेशमा सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमको समेत समर्थन देखाएर सरकार गठनको प्रस्ताव लाने तयारी गरेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यसलाई असंवैधानिक भनेका छन् । 

कांग्रेस नेता कोइरालाले दल त्याग गरेका सभामुखको समर्थनमा दाबी पेश गर्नु लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुने बताएका छन् ।

कांग्रेसका नेता कोइरालाले कोशी प्रदेश सरकार गठनमा सभामुखको समर्थनमा दाबी पेश गर्नु असंवैधानिक हुने सामाजिक सञ्जाल फेसबुकमा धारणा व्यक्त गरेका छन् । कोइरालाले स्टाटसमा भनेका छन्, ‘प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या छैन । तर सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्तविपरीत हुन जान्छ । 

सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु हो । यदि संसदमा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रीय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुन जान्छ ।’