कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् । 

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी  र जनता समाजवादी पार्टीको समर्थनमा बिहीबार थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् । उनले सभामुख बाबुराम कार्कीसहित ४७ जना सांसदको समर्थनमा दाबी पेश गरेका छन् ।


कोशी प्रदेशमा गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, नेकपा एसका ४ र जसपाका १ गरी ४६ सीट छ । सभामुखलाई दलको सदस्य मानेर गठबन्धनले बहुमत पुर्याएको हो ।  एमालेसँग ४० र राप्रपासँग ६ गरी  गठबन्धनसँग पनि ४६ सांसद छन् ।  ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ ।

दलको सदस्यता त्यागिसकेका सभामुखलाई सरकार गठनको प्रक्रियामा मुछ्न नहुने एमालेले बताउँदै आएको छ ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले आज अपराह्न ५ बजेसम्म दाबी पेश गर्न समय दिएका थिए ।

कोशी प्रदेशमा कुनै पनि दलको बहुमत छैन । जसले गर्दा दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न दाबी पेश गरिएको हो । राप्रपाले साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई समेत माओवादीको सदस्य गनेर गठबन्धन दलले बहुमत जुटाएका हुन् । 

बहुमतको कसरतका लागि काठमाडौं पुगेका दलका नेताहरू आज विराटनगर आएपछि दाबी पेश गरेका हुन् । 

मुख्यमन्त्री हिक्मत कार्कीले गत शुक्रबार विश्वासको मत नपाएपछि प्रदेश प्रमुख परशुराम खापुङले गरेको नयाँ सरकार गठनको आह्वान गरेका थिए । 

आजै थापालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको अवस्थामा भोलि मन्त्रीमण्डल विस्तारको तयारी छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने र मन्त्रीहरू क–कसलाई पठाउने भन्ने विषयमा भोलिमात्रै छलफल हुने बताए ।