नेकपा एमाले कोशी प्रदेश संसदीय दलले असंवैधानिक ढंगले मुख्यमन्त्री नियुक्त भएपछि उत्पन्न हुनसक्ने संवैधानिक र कानूनी जटिलताको जिम्मेवारी गठबन्धन स्वयम्ले लिनु पर्ने बताएको छ ।

कोशी प्रदेशको सरकार निर्माणमा असंवैधानिक, अलोकतान्त्रिक  र गैरसंसदीय कार्य हुन सक्ने विषयमा प्रदेश प्रमुखको ध्यानाकर्षण गराउँदा पनि असंवैधानिक ढंगले मुख्यमन्त्री नियुक्त गर्नु दुखद भएको एमाले संसदीय दलका उपनेता रामबहादुर मगरद्वारा जारी विज्ञप्ति उल्लेख गरिएको छ ।
आज बिहीबार साँझ जारी विज्ञप्तिमा  'नेकपा एमाले संसदीय दल गैरसंवैधानिक, अलोकतान्त्रिक  एवं गैर संसदीय कार्यको घोर भर्त्सना गर्दछ ।' भनिएको छ ।

कानूनी राज्य, संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्यमान्यताको रक्षा र संसदीय व्यवस्थाको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन नेकपा (एमाले) संसदीय दल प्रतिबद्द रहेको उल्लेख गर्दै मुख्यमन्त्री नियुक्तिको घटनापछि कोशी प्रदेशमा उत्पन्न हुनसक्ने संवैधानिक र कानूनी जटिलताको जिम्मेवारी गठबन्धनले लिनु पर्ने चेतावनी समेत दिइएको छ ।

जारी विज्ञप्तिमा 'नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरु मिली दाबी पेश गर्ने भन्ने व्यवस्था विपरित नेपाली कांग्रेस संसदीय दलका नेता माननीय उद्दब थापाको नेतृत्वमा कोशी प्रदेश सभाको सभामुखको जिम्मेवारीमा रहेका सभामुख समेतको हस्ताक्षर राखी बहुमत देखाएर असंबैधानिक, अलोकतान्त्रीक र गैर संसदीय कार्य गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी र जनता समाजवादी दलको गैरजिम्मेवार पूर्ण कार्य प्रति नेकपा(एमाले) संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा (एमाले) संसदीय दलले असंबैधानिक, अलोकतान्त्रीक र गैर संसदीय कार्य हुन सक्ने विषयका बारेमा गम्भिर ध्यानाकर्षण माननीय प्रदेश प्रमुख समक्ष पेश गर्दा पनि यस्तो असंवैधानिक ढंगबाट मुख्यमन्त्री नियुक्त गर्नु दुखद हो । यस गैरसंवैधानिक, अलोकतान्त्रीक एवं गैर संसदीय कार्यको घोर भर्त्सना गर्दछ ।' भनिएको छ ।