४ करोड ९४ लाख ५९ हजार ७ सय १ रुपैयाँको पाइप र पाइप बिच्छ्याउनका लागि टुचन तार र भेलमा ४२ लाख ९७ हजार ४ सय १० रुपैयाँ खर्च गर्दै ९८ औं दिनमा कोका खोलाको पानी पकुवा खोलामा झारिएको हिसाब सार्वजनिक भएको छ ।
कोका खानेपानी अभियानमार्फत् ९८ औं दिनमा धरान २० पकुवा खोलामा आइपुगेको पानीको कुल लागत मूल्य ६ करोड ७८ लाख ७७ हजार ९ सय ६४ रुपैयाँ रहेको अभियान समूहले हिसाब सार्वजनिक गरेको हो ।
धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा श्रमदानमार्फत् सञ्चालित कोका खानेपानी अभियानमा ७ करोड ४ लाख १८ हजार ६३२ रुपैयाँ आम्दानी हुँदा ६ करोड ७८ लाख ७७ हजार ९ सय ६४ रुपैयाँ खर्च भएको अभियान समूहले पत्रकार सम्मेलन गर्दै आयव्ययबारे हिसाब सार्वजनिक गरेको हो ।
असार २१ गतेसम्मको आयव्यय सार्वजनिक गर्दै अभियान समूहले फागुन २३ गतेदेखि शुरु भएको कोका अभियान अघिल्लो श्रमदान अभियानबाट बचेको २७ लाख ८ हजार ३२४ रुपैयाँसहित कुल ७ करोड ४ लाख १८ हजार ६३२ रुपैयाँ आय रहेको अभियन्ता समीर तामाङले जानकारी दिए ।
अभियानको आम्दानीमा दाताबाट ग्रहण गरिएको ४ करोड ८२ लाख ५२ हजार ३५ रुपैयाँ नगद सहयोग संकलनका साथै दाताले प्रदान गरेको १ करोड २० लाख ३८ हजार ७०४ रुपैयाँ बराबरको पाइपलाई समेत राखिएको छ । खानेपानी बोर्डबाट प्राप्त गरेको भनिएको ६६ लाख ५१ हजार २ सय २० रुपैयाँ बराबरको पाइप समेत आम्दानीमा राखिएको छ ।
अभियानमा आलोचित बन्दै आएको खाजापानी शीर्षकमा ५० लाख २४ हजार ५५८ रुपैयाँ खर्च भएको देखिएको छ । ९८ औं दिनसम्म चलेको श्रम अभियानको खाजापानी खर्च सामान्य देखिएको छ । दैनिक १२ हजारसम्मले श्रमदान गरेको र प्रत्येक शनिबार औसत ३ हजार श्रमदाता उपस्थित भएको अभियानमा दैनिक ५१ हजार २० रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक भएको छ ।
इन्धनमा ७ लाख १२ हजार ९९९ रुपैयाँ, भाडा ढुवानीमा २९ लाख ९४ हजार ८७८ रुपैयाँ र ज्याला खर्च २७ लाख १ हजार ५२ रुपैयाँ खर्च भएको देखिएको छ । पाइप बिच्छ्याउनका लागि टुचन तार र भेलमा ४२ लाख ९७ हजार ४ सय १० रुपैयाँ खर्च भएको देखिएको छ ।