• योगेन्द्र उपाध्याय ‘पुष्प’

कहिलेकाहीँ मनमा आउने सवालहरुले मस्तिष्कलाई विचलित गराउँछन् । विचलित गराउने प्रत्येक प्रश्नहरु महत्वपूर्ण पनि हुँदैनन् तर, महत्वपूर्ण नठानिएका प्रश्नहरु नै हुन् जसले विचलनको स्थितिसम्म जो कोहीलाई पनि पुर्याउने क्षमता राख्दछन् । महत्वपूर्ण ठानिएका प्रश्नहरु उत्तरसमेतका हुन्छन् ।

या भनौं महत्वपूर्ण रहेका विषयवस्तुहरुमाथि गरिएका प्रश्नले नै मानिसलाई भौतिक विकास गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो जस्तै यो जंगलमा रहेको बिरुवा घर आफू बस्ने ओढार नजिकैको स्थानमा गएर रोप्दा के होला ? भन्ने प्रश्नले कृषिक्रान्तिको सुरूवात भयो भने केट्लीको ढक्कन बाफले कसरी उचाल्न सक्यो होला ?

भन्ने प्रश्नले अठारौं शताब्दीमा औद्योगिक क्रान्तिको सुरूवात गर्यो । चरा कसरी उड्यो ? पानी किन पर्छ ? स्याउ कसरी खस्यो? मानिस बिरामी कसरी पर्छ? जस्ता थुप्रै महत्वपूर्ण प्रश्नहरुको योगदान हामीले कहिल्यै बिर्सन हुँदैन, जसले मानवलाई भौतिकीको क्षेत्रमा नयाँ उचाइ एवम्जीवनमा नयाँ आयाम प्रदान गर्न आफूलाई समर्पित गर्यो ।

अब प्रश्नहरु सायद बाँकी नभएर होला या बाँकी रहेका प्रश्नहरु मेरो क्षमता/विद्वता/व्यवहार/ अनुभवभन्दा बाहिरको पनि भएर होला, काम लाग्ने प्रश्नहरु सकिएपश्चात् मनमा एकमात्र प्रश्न बाँकि रहँदो रहेछ के म भन्दा जान्ने, सुन्ने कोहि होला त?

परमाणु बमको सिद्धान्त पनि यस्तै हुन्छ युरेनियमको अणुहरुको बाहिरी अर्बिटमा २ वटा इलेक्ट्रोन हुने र बाहिरी अर्बिटमा ८ वटा इलेक्ट्रोन भए मात्र युरेनियमको अणु स्थिर अवस्थामा पुग्ने हुनाले उसले वातावरणमा हुने अक्सिजन, कार्बनडाइअक्साइड लगायतका ग्याँसका बाहिरी अर्बिटबाट ६ वटा इलेक्ट्रोन लिएर आफू पूर्ण हुन चाहन्छ र यसबाट हुने चेन रियाक्सनले ठूलो विस्फोटको अवस्था सिर्जना गर्दछ । 

रुचि धेरै भएतापनि आफू विज्ञानको विद्यार्थी परिएन, नेपाली परियो त्यो पनि एजुकेशनवाला, नेपाली एजुकेशन हुनुको पीडा मलाई मात्र थाहा छ । विदेशबाट आएपश्चात् थोरै धन र ठूलो मनको साथमा जाँगर चल्यो विवाह गर्ने, बुबाको कुण्डलीको कहरबाट बचेका स्त्रीहरुमात्र मेरा लागि विवाह गर्न योग्यता प्राप्त गर्न सफल हुने हुनाले मनले खाएकाहरु पाउने आशा निकै कम थियो । कुण्डलीमा पास भएका ५–६ जनाको इन्टरभ्यू लिइयो/दिइयो तर, आफू होचो, मझौनी गाउँ, वैदेशिक रोजगारबाट फर्केको बेरोजगार आदिका कारणले कुरा मिलिरहेको थिएन ।

इन्टरभ्यूकै क्रममा एक ठाउँमा मामाको साथमा पुगियो । उनी रहिछन् अङ्ग्रेजी एजुकेशन, आँट र जाँगरको अभाव भयो अङ्ग्रेजी सुन्ने बित्तिकै किनकि उनले अङ्ग्रेजीमा इन्टरभ्यू लिन थालिन् भने संस्कृत र नेपालीका श्लोक हानेर पनि त भएन ।

तर, स्पिकिङ अङ्ग्रेजी राम्रो थियो मेरो २ वर्ष अमेरिकन र ब्रिटिसहरुको साथमा काम गरेर आएको थिएँ, मात्र थिएन सर्टिफिकेट, उनको अङ्ग्रेजीको प्रज्ञानतालाई मेरो हेलो, हाए, एस.एस. र बाईबाट जितिदिन्छु भन्ने लाग्यो अनि मामाले दिएको ‘भाञ्जा मै मिलाउँछु’ भन्ने हौसला पनि छँदै थियो साथमा ।

गइयो उनको घरमा मामाको यामाहा लिबेरो बाइक चढेर गर्मी नै भए पनि कोट भने छोड्नै मन लागेन भनिन्छ नि – फस्ट इम्प्रेसन इज द लाष्ट इम्प्रेसन । उनको घरको बरण्डामा रहेको २ थान स्टुल, १ थान बेन्ची र १ थान प्लास्टिकको कुर्सीमाथि राखिएको कुशनले मलाई मनमनै लाग्यो कुशनवाला मेरै लागि होला प्रमुख अतिथि त म नै हो नि आजको कार्यक्रमको ।

बसेँ कुशनमा कुशन पनि बिझाउन थाल्यो बसेको केहीक्षणमै जब भित्रबाट आएको मधुरो आवाज मेरो कानमा पर्यो –गर्दिनँ म बिहे नेपाली पढेकोसँग । अरु स्थानमा झैँ चियाको प्रतीक्षा थियो मलाई हेरुँ न त कस्ती रहिछन्, आशा विपरीत उनकी आमाले चिया ल्याइदिनुभयो ।

त्यति तीतो चिया मैले आजसम्म खाएको छैन । यद्यपि त्यो चियामा चिनीको मात्रा बढी थियो । इन्टरभ्यूको लागि गरिएको तयारी पनि बेकम्मा सावित भयो । पहिलो पटक त्यही समयमा लागेको थियो मभन्दा जान्ने सुन्ने पनि कोही रहेछ यो संसारमा ! घटना सानै हो तर, त्यस समयमा मेरो मनमा एउटा वस्तुको कमी थियो स्वीकार्यता, आज सोच्छु, उनको पनि त अधिकार हो, सम्मान गर्छु उनीप्रति, उनले बाबुआमाको अघि बलि दिइनन् आफ्नो इच्छाको ।

भौतिक विज्ञान २ भागमा विभाजित छ, पहिलो पुरातनवादी फिजिक्स (Classical Physics) र आधुनिक विज्ञान (Quantum Physics) । क्लासिकल फिजिक्सका प्रणेता अल्बर्ट आइन्सटाइनको थ्योरी अफ रिलेटिभिटी सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

यद्यपि क्लासिकल फिजिक्सको विकास एवम् प्रवर्धनमा आइन्स्टाइनभन्दा पूर्ववर्ती भौतिक वैज्ञानिकहरुको योगदानलाई पनि कम आँक्न भने हुँदैन । भौतिक विज्ञानको क्लासिकल विज्ञानमा रिलेटिभिटीजस्तै आधुनिक विज्ञानमा क्वान्टम थ्योरी नवीनतम् र महत्वपूर्ण अवधारणा हो । क्वान्टम फिजिक्सले अध्ययन गर्ने धेरै विषयवस्तुहरु जस्तै क्वान्टम मेकानिक्स, स्ट्रिङ थ्योरी, थ्योरी अफ रियालिटी आदिमध्ये मलाई स्ट्रि«ङ थ्योरी र थ्योरी अफ रियालिटीको अवधारणाले निकै चकित बनाउँछ मलाई ।

रियालिटीका सम्बन्धमा हाम्रा पूर्वीय दर्शनहरुमा पनि प्रशस्त शोधहरु भएका छन् तर, स्रोत सामग्रीहरुको अभाव तथा पाश्चात्य विज्ञानप्रति हामीहरुको आकर्षणले तिनलाई ओझेल बनाउँदै गयो । जस्तैः– संसार एक माया मात्र हो । रियालिटीको कन्सेप्ट पनि त्यही नै हो ।

रियालिटी या भनौं सत्यता सधैँ मेरो सापेक्ष हुने गर्दछ । मेरो मात्र होइन, तपाईंको सत्यता तपाईंको सापेक्ष हुन्छ । हुन सक्छ म तपाईंको मस्तिष्कको मात्र उपज हुँ । तपाईंले देखेका/भोगेका/सोचेका/ भविष्यमा सोच्नका लागि मस्तिष्कमा थिग्रिएका सबै वस्तुहरु तपाईंको मस्तिस्कमा मात्र छन् । तपाईंले आफ्नो सुविधाका हिसाबले मेरो रचना गर्नुभयो र तपाईंपश्चात् म पनि रहँदिन । कुनै पनि स्थानमा स्रष्टा छैन भनी दृष्टिहरु पनि रहँदैनन् । म तपाईंबाट ओझेल भएँ भने वास्तवमै म छु वा छैन भन्ने विषय तपाईंले यकिनका साथ भन्न सक्नुहुन्न ।

यस अवधारणा अनुसार आफूले सुनेको, देखेको, भोगेकोबाहेक यस संसारमा, ब्रह्माण्डमा घट्ने र घटिरहेका सबै घटनाहरु हाम्रा लागि असत्य हुन् । असत्य भन्दा पनि अझ ती वस्तु र घटनाको अस्तित्व नै हुँदैन । जब तपाईं कुनै माध्यमबाट कुनै घटना थाहा पाउनुहुन्छ, बल्ल तिनीहरु सत्यतामा परिणत हुन पुग्दछन् । यस अर्थमा हामी सबैको सत्य फरक–फरक हुन सक्दछ । यसै अर्थमा मेरो मस्तिष्कको उपज न हो सबथोक, के मेरो मस्तिष्कको एउटा उपज मात्र रहनुभएको तपाईं मभन्दा जान्ने सुन्ने हुनुहुन्छ होला त ?

मसँग राजनारायण मा.वि. गेरमीमा अध्यापन गराउँदाका निकै मीठा अनुभवहरु छन् । त्यहाँ पढाएका विद्यार्थीहरु जस्ता मीठा व्यक्तिहरु मैले सायदै कहिल्यै भेटेँ र सायदै कहिल्यै भेट्नेछु । एकजना सर हुनुहुन्थ्यो जिउत दास उहाँले भनेको एउटा प्रसङ्ग मलाई हमेसा याद आउँछ, अङ्ग्रेजीमा एउटा उखान छ र यो सिद्धान्त पनि हो र गर्नु पनि पर्छ ।

जीवनमा ‘हेल्प देम हु आर हेल्पलेस’ तर, नि योगेन्द्र सर तपाईंले सहयोग गरेको व्यक्ति यदि तपाईंभन्दा कमजोर स्थितिमा छ र कमजोर स्थितिमै रहिरह्यो भने ऊ तपाईंप्रति सधैँ अनुग्रहित रहिरहन्छ तर, त्यही व्यक्ति जसलाई आज तपाईंले कमजोर स्थितिमा रहेको समयमा सहयोग गर्नुभयो र भोलि उ सम्पन्न भयो भने सबैभन्दा पहिला तपाईंको अगाडि नै सबैभन्दा पहिला सम्पन्नता प्रस्तुत गर्दछ ।

जीवनलाई पल्टाएर हेर्नुस्, तपाईंले पनि कुनै न कुनै समयमा आफूले सहयोग पाएकोसँग सम्पन्नता प्रस्तुत गरेको हुनसक्छ या आफूले सहयोग गरेकोबाट सम्पन्नताको बखान सुनेको हुन सक्छ । त्यो सम्पन्नताको प्रस्तुति जुनसुकै प्रकारको हुन सक्छ, जुनसुकै रुपमा हुन सक्दछ आस्था, अर्थ, मन या वचन । यो मैले पनि गरिरहेको हुन सक्छु र तपाईंले पनि ।

अङ्ग्रेजी साहित्य र संस्कारमा बटरफ्लाई इफेक्टले निकै महत्वका साथ हेरिन्छ । विश्वास गरिन्छ, कुनै एक स्थानमा उडेको पुतलीको पङ्खबाट चलायमान भएको हावाले एक अर्का हावाका अणुहरुसँग ठोक्किएर बनेको चेन रियाक्सनले कुनै अर्को ठाउँमा ठूलो हुरीको संयोग गराइरहेको हुन्छ ।

परमाणु बमको सिद्धान्त पनि यस्तै हुन्छ युरेनियमका अणुहरुको बाहिरी अर्बिटमा २ वटा इलेक्ट्रोन हुने र बाहिरी अर्बिटमा ८ वटा इलेक्ट्रोन भए मात्र युरेनियमको अणु स्थिर अवस्थामा पुग्ने हुनाले उसले वातावरणमा हुने अक्सिजन, कार्बनडाईअक्साइडलगायतका ग्याँसका बाहिरी अर्बिटबाट ६ वटा इलेक्ट्रोन लिएर आफू पूर्ण हुन चाहन्छ र यसबाट हुने चेन रियाक्सनले ठूलो विष्फोटको अवस्था सिर्जना गर्दछ । यसको मतलव वर्तमानमा घट्ने र सिर्जना हुने साना घटनाले पनि कालान्तरमा ठूला प्रभावहरु पारिरहेका हुन्छन् ।

आगोको एउटा सानो फिलिङ्गोले विश्वलाई जलाउने क्षमता राख्दछ । यद्यपि हुनसक्छ, त्यो सानो फिलिङ्गो निकाल्न गरिएका प्रयासहरु असीमित होउन् तर, विश्वले आगो देख्दछ, फिलिङ्गो होइन । यस अर्थमा विश्वले देख्ने आगोजस्तो म तपाईंको सानो फिलिङ्गोले उत्पन्न भएको होउँला त ? भ्रम होस् या यथार्थ भ्रम भए पनि आनन्ददायक र यथार्थ भए पनि संतोषप्रदायक एउटै मात्र विचार ‘के मभन्दा जान्ने सुन्ने कोही होला त ?’

–समकालिन साहित्य