बिर्तामोड । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वब थापाले आगामी साढे ४ बर्ष गठबन्धनको सरकार सञ्चालन हुने दावी गरेका छन् ।
झापाको बिर्तामोडमाम नेपाली कांग्रेस झापाद्धारा आयाजित स्वागत–सम्मान कार्यक्रममा थापाले गठबन्धन दलहरुबीचमा बलियो समझदारी भएका कारण कोशी प्रदेशमा आगामी निर्वाचनसम्म गठबन्धन दलको सरकार रहने दावी गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा बिहीबार मुृख्यमन्त्री नियुक्त भएका थापाले अबको एक महिनाभित्रमा बिश्वासको मत प्राप्त हुने बिश्वास व्यक्त गरेका छन् ।
‘३० दिनपछि विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी शुरु हुनेछ’–थापाले भने– ‘बहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले ४ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नेछ ।’
विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकताका आधारमा छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने धारणा राखे । सबैको सद्भाव र इच्छाशक्तिका कारण आफू मुख्यमन्त्री बनेको र यो सबैको उपलब्धी भएको उनको भनाई थियो ।
थापाको नियुक्तिको बिरोध गर्दै नेकपा एमालेले सर्वाेच्च अदालतमा रिट दायर गरेको छ । सो रिटमाथि आइतबार पेशी तोकिएको छ । तर, थापाले अदालतमा रिट दायर भएको बिषयमा कुनै टिप्पणी गरेका छैनन् ।
अदालतले मुख्यमन्त्री नियुक्तिको बिषय उल्टाउन सक्ने सम्भावना पनि छ । पदमै रहेको समयमा सभामुख बाबुराम गौतमले लिएको पक्षधरतालाई लिएर एमाले अदालत गएको हो ।
उपस्थित सम्पूर्णलाई नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले स्वागत गरेकोे कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, गोमा भट्टराई, प्रदेशसभा सांसद गोपाल तामाङ र लख्खीदेवी गणेश, नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्यहरु, पार्टीका जिल्ला पदाधिकारी, सदस्य, स्थानीय तहमा कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका विभिन्न तहगत समितिका पदाधिकारी–सदस्य एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।