राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धरानभित्र विवाद बढी रहेको, गुटउपगुट चलिरहेको राप्रपाका कार्यकर्ताहरुले बारम्बार गुनासो गर्ने गरेका छन् ।
चुनावताका राप्रपामा खेमा चल्दा सम्भावना भएकाहरुले टिकट पाएनन् । चुनावी अभियानमा समेत युवाहरु निष्क्रिय बसे । धरानमा राप्रपाको अपेक्षित भोट नखसेको गुनासो बढिरहेको छ ।
धरानमा पार्टीभित्रका समस्याबारे कार्यकर्ताहरुले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई रिपोर्टिङ गरिरहेका छन् । लिङ्देनले समेत धरान राप्रपा निर्माणका लागि चासो राखेको र धरान आउने आश्वासन दिइरहेका बेला अध्यक्ष लिङ्देनले ६ महिना धरानमा बसेर काम गर्ने उद्घोष गरेका छन् ।
नवीन राप्रपाको अभियान चलाइरहेको राप्रपाले धरानबाट स्थानीय तहसँग राप्रपालाई जोड्ने अभियानअन्तर्गत काम सुरु गर्ने भएको छ । हरेक नेताले कम्तिमा ६ महिना स्थानीय तहमा बसेर पार्टी सुदृढीकरण गर्नुपर्ने अध्यक्ष लिङ्देनले बताएका छन् ।
राप्रपा अध्यक्ष लिङ्देनले आफैं ६ महिना धरान आएर काम गर्ने बताएका हुन् ।
राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हरेक स्थानीय तहलाई राप्रपासँग जोड्न आवश्यक रहेको बताए ।
‘देशलाई माया गर्ने, धर्मलाई माया गर्ने र देशभित्र नै रोजगारी सिर्जना होस् भनेर चाहना राख्नेहरूको पार्टी राप्रपा हो भनेर बुझाउने र उनीहरूलाई राप्रपामा जोड्ने कामको प्रारम्भ भएको छ ।’ अध्यक्ष लिङ्देनले भने, ‘म आफैं धरान उपमहानगरपालिकामा ६ महिनाका लागि जाँदै छु ।’
अध्यक्ष लिङ्देनले धरानमा रहेर धेरै समय स्थानीय तहलाई दिने र वडावडाबाट नागरिकको गुनासो सुन्ने कार्यक्रम तय गरेको बताए ।
चार दिनअघि राप्रपाले नवीन राप्रपाको कार्ययोजना कार्यान्वयन गर्न प्रदेश संयोजक तोकिसकेको छ ।
अध्यक्ष लिङ्देनले उक्त कार्ययोजना कार्यान्वयन गर्न कोशी प्रदेशमा रोशन कार्कीलाई संयोजक तोकेका छ । राप्रपाको केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठकले नवीन राप्रपा–२०७८ को कार्ययोजना पारित गरिसकेको छ ।