विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गरेका छन् ।

सहिद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा शुक्रबार  सम्पन्न ‘मस्तिष्क मृत्युपश्चात्को अङ्गदानसम्बन्धी कानूनी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख गौतम, मेयर कोइरालाले आफ्नो मृत्युपश्चात् शरीरका केही अङ्ग दान दिने घोषणा गरेका हुन् ।

कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा.सुधा देवकोटाले पनि मृत्युपश्चात् शरीरका केही अङ्ग दान दिने घोषणा गरिन् । शुक्रबार मात्र ५४ जनाले मृत्युपश्चात् शरीरका केही अङ्ग दान दिने मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेको सहिद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द श्रेष्ठले जानकारी दिए । अहिलेसम्म देशभरिमा ३ हजारले मृत्युपश्चात् शरीरका केही अङ्ग दान दिने मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेको उनले बताए ।
‘मृत्यु भएको व्यक्तिबाट ८ वटा अङ्ग झिक्न सकिने कानूनी व्यवस्था रहेको छ । जसमा दुई वटा मिर्गौला, दुईवटा फोक्सो, एक वटा कलेजो, मुटु, प्याङ्क्रियाज, एक सानो आन्द्रा पर्छन्’ डा. पुकारचन्द भन्छन्, ‘ऐनले ८ वटा अङ्ग प्रत्यारोपण गर्न मिल्ने व्यवस्था गरे पनि नेपालमा हाल मिर्गौला र कलेजोको मात्र प्रत्यारोपण हुने गरेको छ ।’

अन्य अङ्गको प्रत्यारोपण सुरु गर्न नेपालमा सोही अनुसारको दक्ष जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारको कमी छ । ‘यो चिकित्सा विज्ञानको अत्यन्तै गम्भीर र जटिल प्रक्रिया हो । सीप, दक्ष जनशक्ति र पूर्वाधार उत्तिकै राम्रो हुनुपर्छ । अनि मात्र सम्भव छ’–उनले भने ।

अङ्ग दानको लागि जनचेतना बढाउनु पर्नेमा जोड
मस्तिष्क मृत्युपश्चात् अङ्ग दान गराउनको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको कारणले अब जनचेतना बढाएर मस्तिष्क मृत्युपश्चात् अङ्गदान गर्नको लागि अभिपे्ररित गरिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका सभामुख बाबुराम गौतमले अङ्ग दान जीवन दान मरणोपरान्त अङ्ग दानको लागि जनचेतना फैलाउनुपर्ने बताए । ‘अहिले पनि मस्तिष्क मृत्युपश्चात् अङ्ग दानको बारेमा धेरैले बुझेका छैनन्’ उनले भने, ‘ऐन बनेको छ । बनेको ऐन कार्यान्वयन गर्दै यस विषयमा जनस्तरमा बुझाउन जरुरी रहेको छ ।’ यसैगरी विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव अङ्गको सफल प्रत्यारोपणले नागरिकको जीवनलाई गुणस्तरीय बनाई बिरामीको उपचारमा सहज पु¥याउने बताए । अङ्ग दान एउटा महान् मानवीय कार्य भएकोले मृत्युपश्चात् डढेर र गलेर जाने अङ्गले अरूको जीवन बचाउन सकिने भएकोले स्थानीय स्तरमा जनचेतना फैलाउनुपर्ने उनले बताए ।

एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मानव अङ्ग प्रत्यारोपणको लागि निजी क्षेत्र र सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । आधुनिक र समय सापेक्ष प्रविधिको अवलम्बन गरी थप गुणस्तरीय सेवा प्रवाहको लागि सरकारी निकायसँग निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले अङ्गदानलाई प्रोत्साहान गरेर दुर्घटनाग्रस्त जीवनलाई बचाउनु पर्ने बताए । त्यसको लागि अङ्गदानको लागि जनस्तरमा जनचेतना जगाउनुपर्ने उनले बताए ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ आफन्तले ‘ब्रेन डेथ’ भइसकेका व्यक्तिको अङ्ग निकाल्न स्वीकृति नदिँदा सङ्कलन गर्न अप्ठेरो परेको बताए । ‘अहिलेको सङ्ख्या अत्यन्त कम हो । मस्तिष्क मृत्युबारे आफन्तलाई बुझाउन गाह्रो छ । खरानी भएर जाने अङ्ग दिनु न, यसले अरूको ज्यान बचाउन सहयोग गर्छ भन्दा पनि उहाँहरू मान्नुहुन्न । यसबारे जागरुकता अभियान जरुरी छ ।’

नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको छ । तर, कार्यान्वयन पक्ष फितलो हुँदा अनुमान गरेअनुसारको सफलता प्राप्त भएको छैन । ऐनमा व्यवस्था भएअनुसार कार्यान्वयन पक्ष प्रभावकारी हुने हो भने अङ्ग प्रत्यारोपणमा क्रान्ति आउने डा. श्रेष्ठको भनाइ छ ।

नेपालमा अङ्ग प्रत्यारोपण सुरु गर्न सरकारले ‘मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५’ जारी गरेको थियो ।  २०७२ सालमा ऐनको पहिलो संशोधनपछि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट जीवित व्यक्तिमा अङ्गदान गर्न पाउने नयाँ व्यवस्था मिलाएको छ । कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्य सचिव डा.सुधा देवकोटा, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुङ्गेललगायतले बोलेका थिए ।