भद्रपुर । क्याम्पस प्रशासनले सञ्चालनको कार्यविधि बनाउन नसक्दा लामो समय देखि मेची बहुमुखी क्याम्पस भद्रपुरको छात्रावास (होस्टल) प्रयोगविहीन भएको छ ।
होस्टल निर्माण सम्पन्न भएको १४ महिना बितिसक्दा पनि प्रयोगमा आउन नसकेको हो । ठेकेदार कम्पनीले २०७९ बैशाख ११ गते निर्माण सम्पन्न गरेर होस्टलको भवन क्याम्पसलाई हस्तान्तरण गरेको थियो ।
दुई सेक्सनमा बनेको भवनमा २१ कोठा छन् भने दुई तलाको छ । भ्याटसहित ३ करोड ७७ लाख ७४ हजार ९५१ रुपैयाँको लागतमा निर्माण भएको भवन २०७६ माघ १३ मा शाह इन्जीनीयरिङ कन्ट्रक्सन काठमाडौैँले सम्झौता गररे निर्माण सुरु गरेको थियो ।
कमलप्रसाद गुरागाईं क्याम्पस प्रमुख रहेको बेला तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलान्यास गरेको होस्टल दुई वर्षभित्रमा सञ्चालनमा ल्याइने बताएको भनेपनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । तर, २०७६ माघ १३ गतेदेखि निर्माण सुरु भएको होस्टल निर्माण भइसक्दा पनि चार वर्षको समय भित्रपनि सञ्चालन कार्यविधि बनाउन क्याम्पस प्रशासनले सकेको छैन ।
होस्टलको भवन निर्माण सम्पन्न भए पछाडिपट्टि भान्सा घर निर्माण भइरहेको छ । पानीको निकास नहुँदा भवन वरिपरि डुबान भएको छ । निर्माण कम्पनीले ठेक्का सम्झौता अनुसार काम पूरा गरेर हस्तान्तरण गरे पनि अन्य कामका लागि क्याम्पस प्रशासनले ढिलासुस्ती गरेको विद्यार्थीको भनाइ छ ।
क्याम्पसको विषयमा स्ववियु सभापति सन्देश धमलाले होस्टल कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बन्ने क्रममा रहेकोले तत्काल बैठक बसेर कार्यविधि बनाउने बताए । उनले भने, 'कस्ता विद्यार्थीलाई होस्टेलमा राख्ने, कुन कुन वर्गकालाई समेट्ने, होस्टलको शुल्क कति लिने जस्ता विषयमा छलफल गरेर अगाडि बढ्ने छौ’ ।
क्याम्पस प्रमुख जीवन पोखरेलले यसै शैक्षिक सत्रको भदौ–असोजदेखि होस्टल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । भवन पुरा भएपनि अन्य पूर्वाधारसहित आन्तरिक आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्दा समय लागेको बताए । फर्निचर, सुरक्षाकर्मी आवास, भान्सा, पक्की घेरावारा लगायतका सामग्रीका लागि स्रोतको खोजी गर्दै आन्तरिक, विश्वविद्यालय लगायतका स्थानबाट रकम सङ्कलन गरी अनुमानित ७० लाखको लागतमा व्यवस्थापन गरिएको उनको भनाइ छ । ४८ जना छात्रा अटाउने गरी भवन निर्माण गरिएको उनले बताए ।