गत सोमबार सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि तीव्र आलोचनाको सिकार हुन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा स्पष्टीकरणसहितको माफी माग्ने भएका छन् । 

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमति भएपछि नेकपा एमालेले अवरुद्ध गरिरहेको सदनसमेत खुल्ने भएको छ । तीन दलको छलफलछि नेकपा एमालेले माग्दै आएको प्रधानमन्त्रीको राजीनामा बाट पनि पछि हट्ने भएको छ ।

सदनको गतिरोध हटाउन शीर्ष नेताबीच सिंहदरबारमा भएको छलफलपछि सहमति भएको हो ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई हामीले गम्भिर रुपमा लिएका र्छौं । आज प्रधानमन्त्रीले पनि सदनमा प्रष्ट पार्नुहुन्छ । हामीले पनि आफ्नो कुरा राख्छौं ।’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने । शीर्ष बैठकमा प्रधानमन्त्रीले देशबासी समक्ष आफ्नो अभिव्यक्ति प्रति माफी माग्नुपर्ने अडान एमाले अध्यक्ष ओलीले राखेका थिए ।

प्रधानमन्त्रीले आफूले सदनमा स्पष्टिकरण दिने र आफ्नो भनाइको आशयसहित अभिव्यक्ति सच्याउने कुरा भएको बताइएको छ ।