पूर्वसहमतिअनुसार मन्त्रिपरिषद् विस्तार नगरिएको भन्दै कोशी प्रदेशका सत्तारुढ दलहरुबीच वैमनश्यता उत्पन्न भएको छ । 

सबै दलबाट एक–एक जनामात्रै मन्त्री बनाउने सहमति पालना नगरिएपछि एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले असन्तुष्टि व्यक्त गरेका छन् । 

एकातिर संवैधानिक प्रश्न उठिरहेको अर्कातिर सरकारले पूर्णता नपाउँदै सत्तारुढ गठबन्धन दलबीच विवाद सुरु भएको हो । असार १९ मा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका उद्धव थापाले पूर्वसहमति तोडेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीले आपत्ति जनाएको हो । असार १९ मा दुईजना र आइतबार थप तीनजना मन्त्री थप्दा विगतको सहमति पालनाबाट मुख्यमन्त्री थापा चुकेको पूर्वमुख्यमन्त्री राजेन्द्र राईले आरोप लगाएका छन् । 

‘हामीले सबै दलबाट एक–एक जना मात्रै मन्त्री बनाउने सहमति गरेका थियौँ’, उनले भने, ‘तर त्यो सहमति तोडेर मुख्यमन्त्री थापाले एकै दलबाट दुईभन्दा धेरै मन्त्री नियुक्त गर्नुभयो। यो सहमति विपरीत भएकाले हामीले आपत्ति जनाएका छौँ।’

मुख्यमन्त्री थापाले सहमति पालना नगरे सत्ता सहकार्य अघि बढ्न नसक्ने पूर्व मुख्यमन्त्रीसमेत रहेका राईले चेतावनी दिए । उनले सहमति पालना नगर्दा सहकार्य अघि बढ्न नसक्ने बताए । 

राईले आइतबार भएको तीन मन्त्रीको शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन् । आइतबार नेकपा माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की र कांग्रेसबाट रामकुमार खत्रीलाई मन्त्री नियुक्त गरिएको छ ।