कोशी प्रदेशको सरकार गठनको किचलो सत्तारुढ गठबन्धनमा देखिएका बेला नेकपा माओवादी केन्द्रभित्र समेत असन्तुष्टि प्रकट भएको छ ।  

माओवादीका तर्फबाट उदयपुर क्षेत्र नम्बर २ (क) बाट दुईपटक प्रदेशसभा सदस्यमा निर्वाचित नारायण बुर्जा मगरले मन्त्री बनाउने सवालमा आफूलाई अन्याय भएको बताएका छन् । 

उनले आफू र आफ्नो क्षेत्रका मतदाताप्रति अन्याय भएको सामाजिक सञ्जालमा लेख्दै प्रदेश सभा सदस्यबाटै राजीनामा दिने सोच बनाएको उल्लेख गरेका छन् । 

मन्त्री छनोटप्रति माओवादीबाट निर्वाचित सांसद मगरले राजीनामा दिने चेतावनी दिएका छन् । मगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् ।

आइतबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो । दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्कन गर्न सकेन, कोशी प्रदेश सरकार गठनप्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने मनसाय बनाइसकेको छु ।’