सुन्तलाको गुण र महत्वको विषयमा जति नै चर्चा गरे पनि कमै हुन जान्छ । फलहरूमा सुन्तला स्वास्थ्यको दृष्टिकोणले पनि ज्यादै नै लोकप्रिय फलमा मानिन्छ । प्रचलित भाषामा यो साइट्रस फलमा पर्दछ । पोषकतत्वले परिपूर्ण र अत्यन्तै स्वादिष्ट सुन्तलाको व्यास ८ देखि १२ से.मि. सम्म हुन्छ ।

सुन्तलाको औषधीय गुण
सुन्तलामा भिटामिन ए, बी, सी र क्याल्सियमलगायत स्वास्थ्यबद्र्धक गुणहरू प्रशस्त पाइन्छ । १ सय ग्राम बराबरको सुन्तलामा आर्द्रता १७.६ प्रतिशत, प्रोटिन ०.७ प्रतिशत, फ्याट ०.२ प्रतिशत, खनिज ०.३ प्रतिशत र कार्बोहाइड्रेड १०.९ प्रतिशत पाइन्छ । यसैगरी यसको खनिज र भिटामिन पदार्थहरूमा क्याल्सियम २३ मि.ग्रा. प्रतिशत, फलाम ०.३ मि.ग्रा. प्रतिशत, केरोटोन ११.४ माइक्रोग्राम प्रतिशत, थायमिन ०.१२ मि.ग्रा. प्रतिशत, नायसिन ०.३ मि.ग्रा. प्रतिशत, रिवोफ्लाबिन ०.०६ मि.ग्रा. प्रतिशत अनि भिटामिन सी .३० मि.ग्रा. प्रतिशत रहन्छ । यसको क्यालोरिफिक मूल्य ४८ हो ।

सुन्तला सजिलैसँग पचाउन सकिने फल हो । सुन्तलाको स्टार्च सूर्यको किरणको प्रभावद्वारा गुलियोमा रूपान्तर हुन्छ, जसले गर्दा या शरीरको रगतमा सजिलैसँग घुलन हुन्छ । सुन्तलको उपयोगपश्चात् तुरुन्तै शरीरलाई ऊर्जागम्य तुल्याउँदछ ।

ज्वरोमा सुन्तला
सबै प्रकारको ज्वरोमा सुन्तलालाई उत्कृष्ट आहारमा मानिएको छ । ज्वरो आएको व्यक्तिको पाचन शक्ति कमजोर हुन्छ । ज्वरोको बिरामी अत्यधिक क्रियाकलापबाट प्रभावित भएको हुन्छ, यतिबेला मुखमा र्यालको कमी हुने कारणले जिब्रोमा पत्रहरू चढ्न थाल्छन् र भोक–प्यास प्रायः लुप्त हुन्छ । यस्तो बेला सुन्तला रसको मनमोहनी सुगन्धले बिरामीमा रहेको कमीहरू हराउन विशेष भूमिका निर्वाह गर्दछ । सुन्तलाको रसले टाइफाइड, क्षयरोग र खस्रे रोगमा फाइदा गर्दछ र शरीरमा प्रतिरक्षण शक्तिको बढोत्तरी हुन्छ ।

हड्डी र दाँतको लागि सुन्तला
सुन्तला क्याल्सियम र भिटामिन सीको उत्कृष्ट स्रोत भएको हुनाले हड्डी र दाँतका बिरामीहरूको लागि फलदायी मानिएको छ । भिटामिन सी र क्याल्सियमको कमीको कारण दाँतको संरचना बिग्रन जाने हुन्छ । यस्ता बिरामीले पर्याप्त मात्रामा सुन्तलाको रस सेवन गर्नाले त्यो समस्याबाट मुक्त हुन सकिन्छ ।

बच्चाहरूका लागि सुन्तला
आमाको दूध खान नपाएका बच्चाहरूका लागि सुन्तलाको रस उत्कृष्ट आहारभित्र पर्दछ । बच्चाको उमेरअनुसार चार औंस सुन्तलाको रस नियमित सेवन गराउनाले स्वकवी र रिकेटमा रोकथाम गर्नुको साथै बच्चामा विकासको प्रक्रिया पनि नियमित हुन जान्छ ।

हृदय रोगमा सुन्तला
महसँग मिसाएर सुन्तलाको रस नियमित सेवन गर्नाले हृदय रोगीहरूलाई फाइदा गर्दछ ।

विविध रोगमा सुन्तला उपयोगी
क्षयरोग, दम, सामान्य सर्दी, ब्रोङ्काइटिस र कफजन्य व्याधिहरूमा सुन्तलाको रस १ चिम्टी नुनसँग १ चम्चा मह मिसाएर सेवन गर्नाले फाइदा गर्दछ ।

डण्डीफोरमा सुन्तला
सुन्तलाको बोक्रालाई मिहिन ढङ्गबाट पिसेर डण्डीफोर प्रभावित भागमा लगाउनाले फाइदा गर्दछ । परम्परागत मान्यताअनुसार वर्षाको पानीसँग पिसेर लगाउँदा अधिक प्रभावकारी हुन्छ । यसैगरी सुन्तलाको नियमित सेवनले रुघामर्की, इन्फ्लुएन्जा र रक्तश्रावको प्रकृतिलाई रोक्दछ । सुन्तला प्रकृतिको वरदान सावित भएको छ । किनकि यो फल सबै उमेरका मानिसहरूका लागि लाभदायक छ । अटल स्वास्थ्य र सौन्दर्यमा यसको भूमिका अतुलनीय छ ।

क्यान्सरको औषधि
सुन्तलाको बोक्रामा पनि क्यान्सरसँग लड्ने अद्भूत क्षमता हुन्छ । प्रोस्टेट क्यान्सरमा सुन्तलाको बोक्रालाई राम्रोसँग सुकाएर बनाएको चूर्ण (सातु) ले क्यान्सर कोषलाई शरीरको अन्य भागमा सर्नबाट रोक्दछ ।