असार २ गते आएको बाढीले मेची राजमार्गको हेवा खोला पुल बगाएपछि यो मार्ग भएर आवतजावत गर्ने सवारीका साधन र ढुवानीका साधन अलपत्र परेका छन् ।
सवारी चालक र कर्मचारी साधन अलपत्र हुँदा सास्ती बेहोर्न बाध्य भएको बताएका छन् ।
३ पटकसम्म डाइभर्सन गरेर सवारी वारपार गराइए पनि बाढी आएर पुरिदिँदा एक सातायता हेवा खोलाबाट सवारीसाधनले वारपर गर्न सकेका छैनन् । खोलामा पुनः डाइभर्सन बनाएर सडकमा थन्किएका सवारी र ढुवानीका साधन गन्तव्य पठाउने प्रयास जारी रहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताए ।
हेवा खोलामा बाढीले पुल बगाएपछि निर्माण थालिएको बेलिब्रिज निर्माणको काम सुस्त छ भने यसअघि ह्युमपाइपमार्फत पानी कटाएर डाइभर्सन गरिए पनि वर्षा हुने र बाढी आउने क्रम जारी रहँदा सफल भएको छैन । त्यसअघि डाइभर्सनमार्फत तीन पटक यातायात खुलाइएको थियो । पछिल्लो पटक असार १८ मा डाइभर्सनमार्फत केही घण्टा सवारी र ढुवानीका साधन आवागमन गराइएको थियो । पुनः आएको बाढीपछि मंगलबारदेखि सवारी आवागमन ठप्प छ ।
आवागमन नहुँदान झापाको बिर्तामोडदेखि ताप्लेजुङको दोभानका लागि खाद्यान्न ढुवानी गरेर आएका १६ वटा ट्रक पाँचथरको फिदिम–४ स्थित थापाटारमा सोमबारदेखि रोकिएका छन् ।
बिर्तामोडबाट ताप्लेजुङ सदरमुकाम फुङलिङका लागि खाद्यान्न लिएर हिंडेका २४ वटा ट्रक थापाटारमा ४ दिनदेखि बास बसिरहेका छन् ।
साथै पाँचथरको जोरपोखरी, गोपेटार, थर्पु र अमरपुरका लागि सामग्री लिएर हिंडेका १५ गरी ४५ वटा ट्रक जोरसालदेखि हेवा खोलासम्म सडकमा लाइन लागेर बसेका छन् ।
यो सडकमार्ग भएर फिदिम र इलाम हुँदै झापातर्फ आउन लागेका ६८ वटा मालवाहक ट्रकसमेत भारपा सडकमा अलपत्र परेका छन् ।
सडकमै साता दिनदेखि बस्न बाध्य भएको चालक खगेन्द्र लिम्बूले बताए । उनले खोला वारिपारि गरी ट्रक मात्रै १ सय १३ वटा रोकिएको जानकारी दिए ।