विराटनगर । विराटनगरका ठूला अस्पतालअगाडिका फार्मेसीले दिएको औषधिभन्दा बढी परिमाण देखाउने र सर्जिकल सामानमा मूल्य बढी हालेर बिरामीसँग ब्रह्मलुट गरेको खुलेको छ ।
विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडिको चिरञ्जीवी फार्मेसीले बिरामीसँग खुलेआम ठगी गरिरहँदा पनि नियमनकारी निकाय मौन छ । मोरङको कटहरी गाउँपालिका–१ घर भएका विकेश सरदार बिरामी भएपछि गत जेठ १ गते विराट नर्सिङ होममा भर्ना भए । औषधि भने हस्पिटलअगाडिको चिरञ्जीवी फार्मेसीबाट किने । हस्पिटलभित्रका फार्मेसीले भन्दा सस्तो र छुट बढी दिने लोभमा बाहिरको फार्मेसीबाट औषधि खरिद गरेको उनी बताउँछन् । जब डिस्चार्ज हुने भए; उपचारमा प्रयोग भएको औषधिको बिल देख्दा उनी तीन छक्क परे । फार्मेसीले दिएको बिलमा उल्लेख भएको औषधिको परिमाण र मूल्य सोचेभन्दा बढी थियो । ठगी भएको आशङ्का भएपछि अर्को फार्मेसीमा गई बुझ्दा मूल्यसँगै परिमाण पनि बढाएको पुष्टि भयो ।
सरदारले उपचारमा प्रयोग भएको हस्पिटलको स्लिपअनुसार ‘टारगोसिड ४०० आईएनजी’ मेडिसिन ८ पिस मगाएका थिए । तर, फार्मेसीले उक्त सामान ८ पिस दिएर १२ पिस खातामा चढाएका थिए । एउटा टारगोसिड मेडिसिनको तीन हजार सात सय पाँच रुपैयाँ पर्छ । बिरामीबाट फार्मेसीले १४ हजार ८ सय २० रुपैयाँ बढी लिएको देखिन्छ । उसले पाँच प्रकारको १६ पिस औषधि खातामा बढी चढाएर ३० हजार ४ सय ८० रुपैयाँ बिरामीसँग ठगी गरेको बिरामी सरदार बताउँछन् । फार्मेसीले सर्जिकल सामानको खरिदमा पनि बढी मूल्य हालेर ठगी गरेको उनले बताए । १७ प्रकारको सर्जिकल सामान ६१ हजार ७ सय ५ रुपैयाँमा खरिद गर्दा ७ हजार ४ सय ६३ रुपैयाँ बढी मूल्य तिराएको उनले बताए । सर्जिकल सामान एक्जामिनेसन ग्लोब्सको मूल्यमा प्रतिग्लोब्स एक सय रुपैयाँ बढी मूल्य हालेको ब्लाष्ट दैनिकले प्रमाण फेला पारेको छ ।
सरदारका अनुसार फार्मेसीबाट ग्लोब्स ६ सय ५० रुपैयाँले ३२ पिस लिएका छन् । त्यही एक्जामिनेसन ग्लोब्स अन्यत्र ५ सय ५० रुपैयाँ मूल्य पर्छ । फार्मेसीले बिरामीबाट ३२ पिस बिक्री गरेबापत ३ हजार २ सय रुपैयाँ बढी मूल्य लिएको पाइएको छ । सर्जिकल र अन्य औषधि गरी सरदारसँग मात्र उक्त फार्मेसीले ३७ हजार ९ सय ४३ रुपैयाँ बढी मूल्य लिएको देखिएको छ ।
यस्तै विराटनगरकी मन्सुर अन्सारीको पनि पीडा सरदारसँग मिल्दोजुल्दो छ । अन्सारी पनि बिरामी भएर विराट नर्सिङ होममा भर्ना हुँदा सोही फार्मेसीबाट औषधि लिए । छ प्रकारको औषधिमा परिमाण बढाएर ४१ हजार ४ सय ९१ रुपैयाँ ६२ पैसा लिएको उनले बताए । बिरामी अन्सारीका अनुसार ३३ प्रकारको सर्जिकल सामान १९ हजार २९४ रुपैयाँ ९६ पैसामा खरिद गर्दा ४ हजार ४ सय १४ रुपैयाँ २ पैसा बढी लिएको थियो । औषधिजन्य वस्तुको अनुगमन गर्ने निकाय औषधि व्यवस्था विभाग र बिरामीसँग बढी मूल्य लिएको जानकारी पाए अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय हो । तर, अनुगमनको जिम्मेवारी पाएको यी निकायहरू मौन बसिदिँदा फार्मेसीमा ठगीधन्दा फस्टाएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेल बताउँछन् । ‘बजार अनुगमन गर्ने निकाय असार, साउन भनेर अहिले सुतेको अवस्था छ । तर, उपभोक्तालाई महिना हेरेर ठगी गर्दैनन्, ठगी गर्न पल्किएका जहिले पनि सक्रिय हुन्छन्’ उनी भन्छन्, ‘नियमनकारी निकाय १२ महिना सक्रिय हुनुपर्दछ । बजार अनुगमनलाई कडाइ गरिनुपर्दछ ।’
प्रशासन सक्रिय भएमात्रै उपभोक्ता ठगीबाट जोगिने उनको धारणा छ । औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले बढी मूल्य लिएर ठगी गरेको घटना विभागले नहेर्ने बताए । ‘बढी मूल्य लिएर ठगी गरेको घटना विभागले हेर्दैन’ उनले भने, ‘कालोबजारीतिर जाने भएकोले यो घटना प्रशासनले हेर्ने गर्दछ ।’ अनुगमनको विषयबारे जिज्ञासा राख्दा उनले भने, ‘असार मसान्त भएकोले अहिले जनशक्तिले भ्याएको छैन ।’ मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव बिरामीलाई बढी मूल्य लिएर ठगी गरेको पाइए कारबाही गरिने बताउँछन् । ‘तोकिएको मूल्यभन्दा बढी रकम लिन कसैले पनि पाउँदैन । यदि बढी मूल्य लिएर ठगी गरेको पाइए कारबाहीको दायरामा ल्याउनेछौं’–उनले भने ।
यस्तो छ कानूनी व्यवस्था
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले कसैले देहायको कुनै काम गरे गराएमा कालोबजारी गरेको ठहर्छ । नेपाल सरकारले मोल निर्धारित गरिदिएको वस्तुमा सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको माल वस्तुको उत्पादक, आयात वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै माल वस्तु बिक्री गरेमा लिएको सो माल वस्तु फिर्ता गराई सो माल वस्तु जफत गरी निजलाई एक वर्षसम्म कैद हुनेछ र १० लाख रुपैयाँसम्म जरिबाना हुने कानूनी व्यवस्था छ ।