आजको दिनमा युवाहरू पलायन मानसिकताबाट किन गुज्रिरहेका छन् ? कक्षा १२ सक्दा नसक्दै उनीहरूको दिमागमा किन विदेश जाने सोचको विकास भएको छ ? देशको समग्र राजनीतिप्रति युवाहरू किन सन्तुष्ट बन्न सकेका छैनन् ? राजनीतिमा किन दक्षिणपन्थी सोचको विकास भइरहेको छ ? यस्ता यावत् प्रश्नको उत्तर सहजै भेटिँदैन । यी प्रश्नको उत्तर खोज्नुअगाडि हाम्रो सामाजिक संरचना र राजनीतिले निर्माण गरेको समग्र भ्रष्टता, अराजकता, दण्डहीनता जस्ता विषयमा गम्भीर भएर मनन् गर्नुपर्ने हुन्छ । आजका युवाहरू देशबाट पलायन हुन खोज्नुका पछाडिका थुप्रै कारणहरू छन् । हाम्रा सामाजिक संरचनाहरू, शिक्षा प्रणाली, कर्मचारीतन्त्र, राजनीति यस्ता थुप्रै कुराले भूमिका खेलेको छ । आजका युवा सूचना र प्रविधिको कारण एउटा उच्चतम् सामाजिक संरचना, शिक्षा प्रणाली, कर्मचारीतन्त्र र राजनीतिलाई आत्मसात गरिसकेका छन् । अमेरिका, युरोप जस्ता देशहरूमा भइरहेका प्रक्रिया, प्रणालीको बारेमा सहजै थाहा पाउने हैसियतमा पुगेका छन् । त्यो हैसियतका कारण हाम्रो प्रणालीलाई हेर्दा ठीक विपरीत छ । युवाले त्यहाँको जस्तो सुखसुविधा, इमानजमान, कर्मचारीतन्त्र, राजनीतिलाई आत्मसात गर्न पाउँदैनन् । जसले गर्दा उनीहरूमा नैराश्यता छाउँदै गएको छ । हाम्रो काम गर्ने शैलीले पनि युवाहरू वाक्कदिक्क छन् । जताजतै भ्रष्टाचार, भनसुन जस्ता यावत् समस्याले पनि युवाहरूमा पलायन मानसिकता झन् बढ्दै गएको अवस्था छ ।

सबै समस्याको जड राजनीतिमा पुगेर ठोक्किन्छ । २००७ देखि यता हालसम्म हाम्रो राजनीतिले आममान्छेलाई के दियो ? सर्वसाधारण मान्छेले के प्राप्त गरे ? प्रजातन्त्रदेखि लोकतन्त्रसम्म आइपुग्दाका उपलब्धिहरूलाई हेर्ने हो भने राजनीतिक दलहरूले आम मानिसका लागि के गरे ? प्रश्नको चौघेरामा उभिएर हेर्दा राजनीति पारदर्शी भएन । हैकमवादको अन्त्य हुन सकेन । भ्रष्टाचार झनै मौलाएर गयो । आर्थिक अनियमितता झनै बढेर गयो । यसलाई अन्त्य गर्नका लागि राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा लेखेका विषयहरूलाई कहिल्यै गम्भीर भएर मनन् गरेनन् । न त कार्यान्वयन नै गरे । घोषणापत्रहरूमा ठूल्ठूला कुराहरू लेखेर पनि कार्यान्वयन भने शून्यजस्तै भयो । भनसुन र आफ्ना आफन्तलाई बदल्ने परिपाटीबाट गुज्रिँदै गएको राजनीतिले युवाहरूमा थप निराशा पैदा ग¥यो । यसैको परिणाम आज युवाहरू यस देशमा बस्न चाहनुको सट्टा विदेशका लागि मरिमेट्ने भइदिए । हो, पञ्चायतको तीस वर्ष र आजको तीस वर्षमा धेरै कुराहरू फेरिए । हिजोभन्दा आज विकास तीव्रगतिमा अघि बढ्यो । आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आम्दानी, कुल गार्हस्थ्य उत्पादन, आर्थिक प्रगतिमा केही न केही रूपान्तरण अवश्य नै भयो । तर, जुन रफ्तारमा हुनुपर्ने थियो, त्यो हुन सकेन । यसले आम नागरिकमा राजनीतिप्रति वितृष्णा पैदा गरिदियो । फलतः दक्षिणपन्थले टाउको उठाउने ठाउँ भइदियो ।

समग्र देशको उत्थान गर्ने राजनीतिमा नातावाद, कृपावादको भोक चढ्यो । त्यो भोकले अन्ततः एउटा सिर्जनशीलतालाई नष्ट गरिदियो । जसले गर्दा दक्षिणपन्थहरूको बाहुल्यता बढ्दै जाँदै छ । यसलाई नियन्त्रण गर्न राजनीतिक दलहरू नै सुध्रिनु आवश्यक छ । राजनीति दर्शनबाट मुक्त हुँदाको परिणाम आजको अवस्था हो । एउटा दर्शनबाट चलेको राजनीतिले मात्रै देशलाई एउटा उचाइमा पु¥याउन सक्छ । राजनीति गर्नेहरूले भूतो न भविष्यजस्तो हुने अवस्था सिर्जना गरिनु नै अवसरको खडेरी पर्नु हो । अवसर नभएको देशमा युवाहरू पक्कै पनि बस्न चाहँदैनन् । राजनीतिले थप बेरोजगार पैदा गरिदिएको छ । शिक्षा व्यवहारमुखीभन्दा पनि किताबी मात्रै छ । रोजगारीको अवसर सिर्जना गर्ने उद्योगधन्दाहरू थप घट्दो क्रममा छन् । खुल्ला पुँजीवादले धनी झनै धनी र गरिब झन् झन् गरिब हुने अवस्था बन्दै गइरहेको छ । यसले आर्थिक खाडल थप गहिरो बनाउँदै छ । उत्पादनमुखी शिक्षा, राजनीति हुनुपर्ने हो तर, त्यसो हुन सकेको छैन । हाम्रा जमिनहरू थप बाँझिदै छन् । भएका जमिनहरू खण्डीकरण हुँदै छन् । कृषि उत्पादन हाम्रो आर्थिक मेरुदण्ड बन्नुपर्ने हो । तर, राजनीतिमा देखिएको स्खलित मान्यताले त्यसलाई थप बढावा दिइरहेको छ । राजनीति एउटा दर्शनबाट नचल्ने हो भने भोलिको भविष्य थप अन्धकार देखिँदै छ । यसप्रति चिन्ता कसले लिनुपर्ने हो ?