भद्रपुर । भारतसँग सिमाना जोडिएका झापाका विभिन्न नाका हुँदै साना तथा ठूला सहरहरूमा प्रतिबन्धित भारतीय कुखुराको अवैध आयात हुँदै आएको छ ।
नेपाली बजारमा कुखुराजन्य वस्तुको मूल्य बढेपछि भारतीय प्रतिबन्धित अवैध कुखुराको तस्करी बढेको हो । ब्रोइलर कुखुराको तयारी मासु, जिउँदो कुखुरा र अण्डा नेपालमा अवैधरूपमा भित्रिँदै आएको कुखुरा व्यवसायीको भनाइ छ । नेपाली बजारमा कुखुराको मूल्य बढेको मौका छोपेर बिचौलियाहरूले भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने गरेका जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाले जनाएको छ । सङ्घका झापा सदस्य घनश्याम निरौलाका अनुसार तस्करहरूले नेपालकै कुखुरा भएको दाबी गरेको बताए । नाकाबाट अवैधरूपमा निकासी हुने ब्रोइलर कुखुरालाई वैधानिकता प्रदान गर्न बिचौलियाले फर्जी बिल नियमनकारी निकायलाई देखाउने गरेको उनको आरोप छ ।
भारतबाट नेपाल भिœयाउँदा साइकल र मोटरसाइकलमा उभिन्डो पारेर अवैध आयात गरिएका कुखुरा नेपालसम्म आइपुग्दा शिथिल र घाइते अवस्थाको हुने गरेको पशु चिकित्सकले जनाएका छन् । नेपालको तुलनामा भारतीय सरकारले दिएको सुविधाका कारणले सस्तोमा उत्पादन भएका भारतीय उत्पादनसँग नेपाली उत्पादनले मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने व्यवसायीले बताउँदै आएका छन् । स्थानीय व्यवसायीहरूले पालेका कुखुरा बिक्री गर्दा भारतबाट अवैधरूपमा भिœयाउने तस्करहरूले सस्तो मूल्यमा बिक्री गरिदिँदा नेपाली व्यवसायी मर्कामा परेको जिल्ला कुखुरा उत्पादक व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले बताए ।
भारतबाट अवैध रूपमा आयात हुने कुखुरामा बर्डफ्लूको सम्भावना बढी हुने भएकाले नेपाली कुखुराको मासु नै सेवन गर्न चिकित्सकले सल्लाह दिएका छन् । भारतीय र नेपाली उत्पादनका कुखुरामा प्रष्ट भिन्नता हुने नेपाली व्यवसायीले बताएका छन् । भारतीय कुखुरा ‘कब–४००’ जातको हुन्छ । यो जात भारतीय नै हो । भारतीय ब्रोइलरको पहेँलो खुट्टा हुने, छातीमा मासु कम र अग्लो प्रकृतिको हुने हुन्छ । यता नेपालमा उत्पादन हुने कुखुरा अमेरिकी नश्लको ‘कब–५००’ जातको हुन्छ । नेपालका उत्पादन भएका कुखुराको छातीमा मासु धेरै हुने र चेप्टो प्रकृतिको हुन्छ । यो कुखुराको खुट्टा सेतो र छोटो हुने गरेको नेपाली पोल्ट्री व्यवसायीहरूले बताएका छन् । भारतबाट साइकल र मोटरसाइकलमा अवैध तस्करी गरी ल्याएका कुखुरा तस्करसँग खरिद गरेर बजार र होटेलसम्म पु¥याउने गरेको उनले बताए ।
यता झापाका व्यवसायीले दमकका नगरप्रमुख राम थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीयस्तरमा भारतीय अस्वस्थकर मासुको बिक्री वितरणमा तत्काल रोक लगाउन माग गरेका छन् । व्यवसायीले त्यसको नियमित अनुगमन गर्न पनि माग गरेका छन् । व्यवसायीको ध्यानाकर्षण पत्र बुझ्दै सरोकारवाला निकायका प्रतिनिधिसँगको आकस्मिक बैठकमा नगरप्रमुख थापाले बजारको नियमित अनुगमन र सार्वजनिक सूचनासमेत गर्ने निर्णय भएको बताए । नगरको पशु विकास शाखा, खाद्य तथा गुणस्तर शाखा, इलाका प्रशासन कार्यालय दमक, इलाका प्रहरी कार्यालय, स्थानीय पत्रकारसहितको टोलीले दमक बजारको आकस्मिक अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा दमक–७ स्थित नासिर स्टोरमा पुगेको टोलीले भण्डारण गरिएका करिब ४ सय ५० ब्रोइलर कुखुरा फेला पारेको थियो । ती कुखुरा सप्तरीको कठौनाबाट खरिद गरेको उनले दाबी गरे । तर, उनको साथमा खरिद बिल र क्वारेन्टाइन प्रमाण–पत्र नरहेको पशु सेवा कार्यालय दमकका प्राविधिक विपु अधिकारीले बताए । व्यवसायीले भने नासिर स्टोरका प्रोप्राइटर इदृस सिद्दिकीले भारतीय कुखुराको अवैध कारोबार गर्ने गरेको दाबी गरेका छन् । उनको स्टोरमा भएका कुखुरा घाइते, अशक्त, दुर्गन्धित र ‘कब–४००’ सँग मिल्ने भएकाले भारतीय नै भएको व्यवसायी जिया मियाँले पुष्टि गरे । यसैबीच आन्तरिक राजश्व कार्यालय दमकले नासिर स्टोरको खरिद र बिक्री बिल जफत गरेर अनुसन्धान सुरु गरेको छ ।