ट्राफिक प्रहरीले सार्वजनिक यातायातका साधन चलाउने धेरै चालकहरूले लागूऔषध प्रयोग गर्ने गरेको डरलाग्दो तथ्य सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीले धरानमा नमुनाका रूपमा केही चालकलाई लागूऔषध प्रयोग गरे वा नगरेको परीक्षण गर्दा धेरैले प्रयोग गरेको भेटिएको उल्लेख गरेको छ । हुन त यो केही चालकमा गरिएको नमुना परीक्षण हो तर, यही अनुपातमा चालकहरूले लागूऔषध प्रयोग गर्ने गरेको तथ्य सही हो भने सार्वजनिक यातायातका साधनमा यात्रा गर्ने हामी सबै यात्रु असुरक्षित छौं भन्ने प्रष्ट हुन्छ । यसले हाम्रो सार्वजनिक यातायातको हालत कुन अवस्थामा छ भन्ने तस्बिर पनि देखाएको छ । एउटा सार्वजनिक यातायातको साधनको चालकले दैनिक सयौं जनाको जीवन आफ्नो हातमा लिएर हिँडेको हुन्छ । उसले सानो लापरबाही गर्दा पनि धेरैको ज्यान जोखिममा पर्छ । त्यसैले चालकहरू सबैभन्दा सजग हुनु आवश्यक छ । चालकहरू आफै गैरकानूनी र जोखिमपूर्ण कार्यमा लाग्ने हो भने सर्वसाधारणमा सार्वजनिक यातायातप्रति विश्वास अझै घट्दै जाने निश्चित छ ।

ट्राफिक प्रहरीले चालकहरूमा मापसे (मादक पदार्थ सेवन) जस्तै लापसे (लागूपदार्थ सेवन)को पनि जाँच गर्न थाल्नु सकारात्मक हो । यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ, त्यो महŒवपूर्ण हुन्छ । ट्राफिक प्रहरीले मापसे अभियान जनचेतना जगाउने भन्दा पनि राजस्व उठाउने ध्येयले गर्ने गरिएको आरोप लाग्ने गरेको छ । मापसे गर्नेलाई सचेत गराउने र पटक–पटक दोहो¥याए कानूनी कारबाही गर्नुको साटो जरिबाना तिराएर छाड्ने गरिएको छ । लापसेविरुद्धको अभियानमा पनि यसरी नै चालकलाई चिट काटेर जरिबाना तिराउँदै छाड्ने हो भने अभियान सार्थक बन्न सक्दैन । सयौंको ज्यान जोखिममा पारेर गाडी चलाउन पाइँदैन । कसैले लागूऔषध सेवन गरेर यातायातका साधन चलाए कानूनी कारबाही हुने व्यवस्था छ । लागूऔषध (नियन्त्रण) ऐन २०३३, संशोधन २०७२ समेतको परिच्छेद ३ को दफा १४ मा लागूऔषध सेवन गरेर यातायातका साधन चलाउनेलाई दण्ड सजायसम्बन्धी व्यवस्था उल्लेख छ । दफा १४ को उपदफा १ को  (क) मा गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था छ । उपदफा १ को (ङ) मा अफिम, कोका वा सो बाट बनेको लागूऔषध सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजारसम्म जरिबानाको व्यवस्था छ । त्यस्तै उपदफा १ को (छ) मा अफिम कोका वा सोबाट बनेको लागूऔषधको सेवन र खेती गर्ने कार्यबाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई अपराधको मात्रा हेरी कम्तिमा ५ वर्ष कैद, पाँच हजार जरिबाना र बढीमा पन्ध्र वर्षदेखि जन्मकैद र २५ लाख जरिबाना हुने व्यवस्था रहेको छ । (ज) मा नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागूऔषध वा मनोद्दीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्यान्स) र तिनको लवण र अन्य पदार्थसमेतको दुव्र्यसन गर्ने व्यक्तिलाई दुई महिनासम्म कैद र दुई हजार रुपैयाँसम्म वा दुवै सजाय हुने व्यवस्था रहेको छ । दफा १४ मा अपराधको मात्रा भन्नाले लागूऔषधको प्रकृति, परिमाण, सञ्चय, खरिद–बिक्री, ओसार–पसार वा निकासी–पैठारीलगायत पर्दछ ।

धेरै चालकहरूले लागूऔषधको सेवन गर्ने गरेको सार्वजनिक भएपछि यसलाई सबैले गम्भीरताका साथ लिनु आवश्यक छ । यातायातका साधन सञ्चालन गर्ने कम्पनी वा मालिकहरूले आफ्ना चालक र सह–चालकबारे अध्ययन गर्नुपर्छ । यातायात मजदुर सङ्गठनहरूले पनि गम्भीर रूपमा लिएर चालकमा सचेतना जगाउने र त्यस्तो गर्नेलाई निरुत्साहित गर्ने गर्नुपर्छ । त्यस्तै प्रहरीले लापसे परीक्षणलाई नियमित गराउनु पर्छ । आम जनसमुदायले पनि यस विषयमा चासो देखाउन जरुरी छ । सार्वजनिक यातायातको दुरावस्था सुधार गर्ने अवसर बनोस् यो अभियान ।