लम्पी स्किनको भाइरस रगतद्वारा पूरै शरीरमा फैलिन्छ । जसका कारण मुख एवम् पाचनतन्त्रको श्लेष्मा झिल्ली, श्वासनली एवम् फोक्सोमा घाउ खत एवम् अल्सर हुने गर्दछ । पशुहरूको खुट्टा तथा शरीरका अन्य भाग र तल्लो भागमा पनि भरिन्छ, जसले गर्दा पशुलाई हिँडडुल गर्न गाह्रो हुन्छ । यस रोगका कारण भाले पशुमा प्रजनन् अक्षमता हुने गर्दछ । गर्भिणी पशुहरूमा गर्भपतन हुनुका साथै कैयौं महिनासम्म ऋतु चक्रको ऋतुकाल देखापर्दैन । यस रोगका कारण कमजोरी, निमोनिया, थुनेलो हुने गर्दछ । छालाको निर्जीव गाँठाहरू झिँगाको औंंसाका कारण छालामा गहिरो प्वाल पर्दछ । पशुलाई निको हुन लामो समय लाग्दछ ।

लम्पी छाला रोगबाट निको भएपछि, गाईवस्तुले अझै पनि केही समस्या वा जटिलताहरू अनुभव गर्न सक्छ । यहाँ केही सम्भावित समस्याहरू छन्, जुन गाईवस्तुहरूले सामना गर्न सक्छन्ः

दागहरूः लम्पी छाला रोगले गर्दा छालाको घाउले दागहरू छोड्न सक्छ । यी दागहरूले जनावरको उपस्थितिलाई असर गर्न सक्छ र सम्भावित रूपमा निश्चित बजारहरूमा तिनीहरूको मूल्यलाई असर गर्न सक्छ ।

दूध उत्पादनमा कमीः रोगबाट निको भइसकेपछि पनि गाईवस्तुबाट दूध उत्पादनमा अस्थायी वा स्थायी कमी आउन सक्छ । यो रोगको समयमा जनावरले भोगेको शारीरिक तनाव वा स्तन ग्रन्थीको कार्यलाई असर गर्ने दागको कारण हुन सक्छ ।

कमजोर प्रतिरक्षा प्रणालीः लम्पी छाला रोगले गाईवस्तुको प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण प्रभाव पार्न सक्छ । यद्यपि तिनीहरू प्रारम्भिक सङ्क्रमणबाट निको हुन्छन्, तिनीहरूको प्रतिरक्षा प्रतिक्रियामा सम्झौता हुनसक्छ, जसले तिनीहरूलाई अन्य रोगहरू र सङ्क्रमणहरूको लागि बढी संवेदनशील बनाउँछ ।

सेकेन्डरी इन्फेक्सनः लम्पी छालाको रोगले गर्दा हुने खुला छालाको घाउले माध्यमिक सङ्क्रमणको अवसर सिर्जना गर्न सक्छ । ब्याक्टेरिया र अन्य रोगजनकहरू क्षतिग्रस्त छालाबाट प्रवेश गर्न सक्छन्, जसले थप स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । जसलाई चिकित्सा ध्यान र उपचार आवश्यक पर्दछ ।

प्रजनन् चुनौतीहरूः लम्पी छाला रोगले गाईवस्तुको प्रजनन् स्वास्थ्यलाई पनि असर गर्न सक्छ । यसले अस्थायी वा स्थायी बाँझोपन, कम प्रजनन् दर वा गर्भवती गाईहरूमा गर्भपातको जोखिम बढाउन सक्छ । यस रोगमा द्वितीयक सङ्क्रमण जीवाणुद्वारा भएमा मृत्यु पनि हुन सक्दछ ।

असार मानो रोपेर मुरी उब्जाउने महिना हो । भूपरिवेष्ठित मुलुक भएकाले यहाँका धेरै भूभाग भिरालो हुनु स्वभाविक छ । त्यसैले यस्तो जमिनमा ट्याक्टरजस्ता आधुनिक औजारभन्दा गोरु, राँगाजस्ता जनावर खनजोतका लागि सहज हुन्छन् । त्यसमाथि विदेशी मुद्रा तिरेर ल्याइने पेट्रोलियम पदार्थको सट्टा आफ्नै कान्ला पाखामा उम्रने घाँस तथा उसैले जोतेका जमिनले दिने उत्पादनले चल्ने भएकाले पनि हाम्रो सन्दर्भमा पशु खनजोतका लागि उपयुक्त हुने गर्छन् ।

तर, विडम्बना यतिबेला मुलुकभर फैलिएको लम्पी स्किन नामक रोगका कारण धमाधम पशु मरिरहेका छन् । गाई, भैँसी र गोरु मर्नाले किसान चिन्तित छन् । अझ त्यसमा पनि यतिबेलै गोरु मरेपछि रोपाइँसमेत प्रभावित भइरहेको छ । उसै त सरकारले समयमा मल नदिएको, सिँचाइका लागि आकासे पानीको भर पर्नुपर्ने र विभिन्न समस्या झेलिरहेका किसान आँखैअगाडि गोठकै किलोमा मरेको गोरु टुलुटुलु हेर्नुपर्दा अवाक् भएका छन् ।

खासमा यो नयाँ रोग हैन । कृषिविज्ञहरूका अनुसार यो नेपाल प्रवेश गरेर पशुलाई सताउन थालेको ३ वर्ष भइसक्यो । यतिबेला गण्डकी प्रदेशमा मात्र ३० हजार ६ सय ५३ पशु यही रोगका कारण बिरामी परेका र ७ सय ४१ वटा मरिसकेका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, गण्डकीको जानकारीले यसको समस्या कति विकराल छ भन्ने बुझ्न सघाउँछ । अझै पनि ११ हजार ४ सय गोरु बिरामी भएको जानकारी पनि सो कार्यालयले दिएको छ । ३ वर्षअघि देखिएको रोग यतिसम्म क्षति गर्न सक्ने अवस्थामा आइपुग्दा पनि रोकथामका लागि पर्याप्त पहल नहुनु दुःखद् विषय मान्नुपर्छ । जसका लागि कृषि र पशुपन्छीको जिम्मा लिएर बसेका सरकारी निकाय बढी जिम्मेवार छन् ।

विज्ञहरूका अनुसार यो रोगको खास उपचार छैन । रोग सङ्क्रमित क्षेत्रका पशुलाई खोप लगाउने मात्र हो । जुन पशु यही कारण बिरामी परेको छ भन्ने थाहा हुन्छ, उसलाई खोपसमेत दिन मिल्दैन । यो रोगको लक्षण भने उच्च ज्वरो आउनु, टाउकोदेखि पुच्छरसम्म छालामा गिर्खा देखिनु, गिर्खा फुटेर घाउ नै बन्नु आदि हुन् । यो रोग लागेपछि मरेन भने पनि बाँझो हुने, गर्भ तुहिने आदि सम्भावना हुन्छ । तर, यही पक्षमा पनि पर्याप्त सरकारी प्रयास नहुनु अहिलेको क्षतिको मुख्य कारण मान्न सकिन्छ ।

यो रोग यस्तै रोग लागेको पशुसँगको संसर्ग, लसपसबाट सर्छ । त्यसबाहेक किर्ना, लामखुट्टे, झिँगा आदिको टोकाइबाट पनि सर्छ । तर, यति कुरा पनि सबै पशुपालक कृषकसम्म पुग्न सकेको छैन । उनीहरूले सञ्चार माध्यममार्फत् यस्ता सूचना मात्र पाउन सकेका भए पनि क्षतिको आकार घट्न सक्थ्यो । त्यति मात्र हैन, यो रोगको लक्षण देखिएपछि गोरुलाई रोपाइँका लागि लैजानु हुन्न, उसलाई यतिबेला आराम चाहिन्छ, पर्याप्त आराम र खुराक मिलेमा बाँच्न पनि सक्छ भन्ने जानकारीसमेत अभाव रह्यो । यसमा पनि सरकारी पक्षकै दोष देखिन्छ किनकि प्रत्येक पशुपालक भेटरिनरीविज्ञ हैनन् र हुन आवश्यक पनि छैन । जसले यो प्रचार–प्रसारको जिम्मेवारी निर्वाह गर्नुपर्ने हो, उनीहरू नै चुकेपछि किसानले गरुन् के ? अहिले लम्पी स्किनपीडित किसानहरूले भोग्नुपरेका पीडाको मुख्य कारण यही हो ।

यो रोगविरुद्ध खोपका लागि केही रकम छुट्याइए पनि त्यो प्रत्येक किसानको गोठसम्म पुग्न सकेको छैन । पहिलो कुरा उनीहरू यो रोगबारे जानकार छैनन्  दोस्रो कुरा यसको खोपले सङ्क्रमणबाट बचाउन सकिन्छ भन्ने जानकारी छैन । तेस्रो कुरा खोपकर्ताहरू कहिले आउँछन् र कहाँ कसलाई सम्पर्क गर्ने भन्ने टुङ्गो छैन । चौथो कुरा, उनीहरू आइहाले भने पनि कि पशु सङ्क्रमित भइसकेको हुन्छ कि त मरिसकेको । यस्ता लथालिङ्गे तालको ‘सरकारी कृषि सेवा’ किसानका लागि ‘आकाशको फल आँखा तरी मर्’ हुँदै आएको छ । जसलाई लम्पी स्किनको दबदबाले पुनः एकपटक पुष्टि गरेको छ ।

जसको काम जे तोकिएको छ, उसले त्यसैमा इमानदारीसाथ लाग्ने हो भने समस्या हुर्कन पाउँदैन । कृषकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यका साथ अर्बौं बजेट विनियोजन हुने गरेको छ । त्यही बजेटबाट तलब र सेवा सुविधा लिएर आफू तथा परिवार पाल्ने कृषि र पशु शब्द जोडिएका अड्डाका कर्मचारी मात्र जिम्मेवारीबाट च्यूत नहुने हो भने कुनै पनि रोग कृषकको आँसुमा परिणत हुने थिएन । कृषकलाई सेवा दिन खटिएकाहरू आफू ठूलो र हाकिम तथा निकै जान्नेसुन्ने पल्टने गर्दै आएका छन् । यही घमण्डका कारण उनीहरू न किसानले बोलाएका बेला जान्छन्, न त नगएबापत केही कारबाही हुन्छ । अझ कतिपय ठाउँमा त किसानको घर र गोठमा गएर सेवा दिएबापत खर्चसमेत लिन्छन् । यस्तो अवस्थाले किसानलाई पीडामाथि पीडा थोपर्नेबाहेक केही गर्दैन ।

पहिलो कुरा मुलुकभर लम्पी स्किनका कारण सिर्जित समस्याबारे एकिन तथ्याङ्क सङ्कलन गर्नु आवश्यक छ । त्यसैका आधारमा यसले सताउन सक्ने सम्भावित पशुका लागि आवश्यक खोपको मात्रा व्यवस्था गर्नुपर्छ । यस रोगको लक्षण, उपचार आदिबारे पशुपालक कृषकलाई जानकारी दिन व्यापक पहल जरुरी छ । मुख्य कुरा रोग फैलिरहेका क्षेत्रलाई प्राथमिकतामा राखी व्यापकरूपमा कर्मचारी र प्राविधिक परिचालन गरी सेवा उपलब्ध गराइहाल्नुपर्छ । आगामी दिनमा यो रोग निर्मूल गर्ने उपायबारे पनि अध्ययन र पहल आवश्यक छ ।

यस रोगमा पशुमा हुने कमजोरी, दूध उत्पादनमा हुने ह्रास, पारवहन एवम् खनजोत गर्ने शक्तिमा हुने ह्रास, प्रजनन् अक्षमता, द्वितीयक सङ्क्रमण जीवाणुका कारण हुने मृत्युले कृषका लागि धेरै ठूलो आर्थिक नोक्सानी हुने त गर्दछ तर, पनि यस रोगको द्रुत लक्षण पहिचान गरी उचित सहयोगी उपचार सेवा एवम् रोकथामका उपाय द्रुतरूपमा गर्ने हो भने रोग फैलिन मात्र हैन । रोगबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । तर, भन्न सकिन्न मानव समुदायमा विगत ४ पात्रो वर्षदेखि देखिएको कोभिड–१९ को उपचार एवम् रोकथामको लागि हाम्रो व्यवस्थापकीय क्षमता दक्षता प्रभावकारिता हेर्दा पशुजन्य रोगबारे आशावादी हुने ठाउँ धेरै थोरै छ । अझ यो रोगको सङ्क्रमणपछि बाँचेका बथानमा देखिने जटिलताबारे कति सचेत छौँ ।

(लेखकले सेन्ट्रल लुजोन स्टेट युनिभर्सिटी फिलिपिन्सबाट प्रिभेन्टिभ भेट मेडिसिनमा एम.भि.एस्सी. अध्ययन गरेका हुन् ।)