प्रोमो कोड प्रयोग गरेर वानएक्स बेट प्लेटफर्मको गैरकानुनी ढंगमा प्रचारप्रसार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरु धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंले धरौटी बुझाएर छाड्न अनुमति दिएपछि उनीहरु हिरासमतबाट निस्किएका हुन् ।
उनीहरु हिरासतबाट आज २७ दिनपछि निस्किएका हुन् । उनीहरुलाई परिवार तथा साथीहरुले खादा लगाएर स्वागत गरेका थिए ।
अदालतले आठजना कलाकारहरुलाई जनही ५ हजार र दिनेश खड्कालाई १० लाख र अनिता धिताललाई ५ लाख धरौटी माग गरेको थियो ।
प्रहरीले गत जेठ ३२ गते वान एक्स सट्टेबाजी प्रकरणको आरोप लगाउँदै ८ जना कलाकारसहित १० जनालाई पक्राउ गरेको थियो । एकजना अझै फरार छन् । सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।
उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । अभियोग पत्रमा उनीहरूले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरूसँग बिगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ ।
गत जेठ ३२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले हास्य कलाकार मरिचमान श्रेष्ठ, पवन खतिवडा, राजु पौडेल, सरोज घिमिरे, बेगम नेपालीका साथै युट्युबरहरु एलिश राई, जलन घर्तीमगर र गणेश देवकोटालाई पक्राउ गरेको थियो ।