दुर्घटनाका थुप्रै कारणमध्ये एउटा कारण चालकको लापरबाहीलाई पनि लिइन्छ । तर, विश्वमा दुर्घटनाबाट मृत्यु हुने दर हेर्दा दशौँ नम्बरमा आउँछ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई आधार मान्दा विश्वमा १० मृत्युको कारणमध्ये दशौँ नम्बरमा दुर्घटना रहेको छ । पछिल्लो समय यसलाई विपद्कै सूचीमा राखिएको छ । नेपालमा पनि दुर्घटना दर अधिक रहेको छ । त्यही कारण सरकारले यसलाई विपद्को सूचीमा सूचीकृत गरेको अवस्था छ । ट्राफिक प्रहरीको विभिन्न तथ्याङ्कहरूलाई आधार मान्दा ६० प्रतिशतभन्दा बढी दुर्घटनाको कारण चालकको लापरबाही र हेल्चेक्र्याइँ रहने गरेको छ । यसै साता कोशी प्रदेशमा प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सप्ताह कार्यक्रम सुरु गरेको थियो । यसमा नागरिकलाई जनचेतना दिने साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य रहेको थियो । यसैबीचमा लागूपदार्थ सेवन (लापसे) अभियान पनि चलाइयो । यो अभियानअन्तर्गत धरानमा पाँच चालकलाई जाँच गर्दा तीन जनामा लापसे गरेको भेटिएको थियो । यसले के सङ्केत गरेको छ भने चालकहरूले मादक पदार्थ सेवन मात्रै नभई लागूपदार्थ सेवन पनि गर्दा रहेछन् भन्ने प्रमाणित गरेको छ । लापसे गरी सार्वजनिक सवारी साधन चलाउँदा त्यसको असर स्वभाविकै सडकमा देखिने हुन्छ नै । सडक दुर्घटनामा चालक सबैभन्दा बढी सचेत हुनुपर्ने हो तर, यस्ता पदार्थको सेवन गरेर सवारी चलाउँदा दुर्घटना नभएर के हुन्छ ?

धेरै चालकहरूले ‘दुर्घटनाको सम्पूर्ण कारण चालकलाई मात्रै मान्ने गरेको भनी’ गुनासो गर्ने गरेका छन् । ट्राफिक प्रहरीको अधिकांश तथ्याङ्कहरूमा पनि झण्डै ८० प्रतिशतसम्म दुर्घटनाको कारण चालकको लापरबाहीलाई नै लिने गरिन्छ । त्यसबाहेक मात्रै सवारीको पुनःजाँच, सडकको अवस्था, यात्रुहरूको लापरबाही आदि परेको पाइन्छ । माथिको तथ्यले चाहिँ ट्राफिक प्रहरीले दुर्घटनाको कारण चालकमाथि नै थोपर्नु ठीकै हो भन्ने देखिन्छ । कुनै पनि चालकले आफूलाई मात्रै गुडाइरहेको हुँदैन । उसले सयौँको जीवनलाई गुडाइरहेको हुन्छ । त्यो जीवनसँग अनगिन्ती अन्य जीवनहरू जोडिएका हुन्छन् । परिवार जोडिएको हुन्छ । चालकको पनि परिवार हुन्छ । त्यो परिवारसँग अन्य परिवारहरू जोडिएका हुन्छन् । त्यसकारण चालकले जहिल्यै पनि गम्भीर भएर आफूलाई प्रस्तुत गर्नुपर्छ । त्यसो नगर्दा नै परिणाम दुर्घटना भइरहेको हुन्छ । कोशी प्रदेशमा दैनिक कुनै न कुनै साना ठूला दुर्घटना भएको सुन्नमा आइरहन्छ । यसो हुनुका पछाडि ‘मापसे’ र ‘लापसे’ पनि प्रमुख हुनसक्छ । यसतर्फ चालक स्वयम् सचेत हुनुपर्छ । ट्राफिक प्रहरीलाई देख्दा मात्रै नियम पालना गर्ने हाम्रो संस्कारमा पनि परिवर्तन गर्न जरुरी छ ।

दुर्घटनालाई न्यूनीकरण गर्ने दायित्व चालकको सबैभन्दा बढी दायित्व हो । त्यसपछि नागरिकको दायित्व र सरकारको पनि आफ्नो दायित्वहरू हुन्छ । ती दायित्वहरूलाई सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्वक निर्वाह गर्ने हो भने त्यसले सबैलाई भलो गर्छ । सार्वजनिक सवारी साधनको हकमा सबैभन्दा जिम्मेवार चालक नै हो । सवारी साधन गुडाउनुअघि राम्रोसँग मर्मत तथा चेकजाँच गरिनुपर्छ । यात्रुहरूले बाटो काट्दा, सडकमा हिँड्दा, सार्वजनिक सवारी साधनबाट उत्रिँदा, चढ्दा निश्चित नियमहरूलाई अनुसरण गर्नै पर्छ । त्यस्तै सरकारले राजमार्गहरूको रेखदेख, मर्मत, सम्भार जस्ता कार्यहरू गरिरहनुपर्छ । बाटोको अवस्था हेरी ट्राफिक सङ्केतहरू राख्ने वातावरण सिर्जना गरिनुपर्छ । यस्ता यावत् जिम्मेवारी आ–आफ्नो स्थानबाट पूरा गर्ने हो भने पक्कै पनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहनमा ध्यान दिने हो कि ?