सुनसरी । भारतीय नागरिकसँग मिलेर आफ्नै गाउँलेलाई अपहरण गरेर फिरौती लिने व्यक्ति पक्राउ परेका छन् ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–५ का २९ वर्षीय सन्तोष बस्नेत पक्राउ परेका हुन् । प्रहरीका अनुसार बस्नेतकै योजनामा सोही वडाका दुई युवा भारतीय बजारमा किनमेल गर्न गएका बेला अपहरणमा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईका अनुसार सोही वडाका १९ वर्षीय सौगात भण्डारी, २२ वर्षीय छविलाल आचार्य, हरि आचार्य र सुनिल गिरी गत वैशाख २५ गते किनमेलका लागि भारत पुगेका थिए । सोही साँझ सौगात र छविलाललाई  इम्तियाज नामका भारतीय नागरिकसहित ७ जनाको टोलीले पेस्तोल देखाएर अपहरण गरी बन्धक बनाएको थियो । अपहरणपछि सौगात भण्डारीका बुबासँग वैशाख २६ गते भारतीय मोबाइल नम्बरबाट फोन गरी  ५० लाख फिरौती रकम माग्दै नदिए ज्यान मार्ने धम्की दिएको प्रवक्ता राईले बताए ।

छोरालाई अपहरण गरी बन्धक बनाइएको खबर सुनेपछि सोही दिन सौगातका बुबाले अपहरणकारीहरूलाई १ लाख ५० हजार रकम बुझाएका थिए । अपहरणकारीलाई पैसा बुझाएको भोलिपल्ट सौगात र छविलाल अपहरणकारीहरूको पञ्जाबाट भागेर नेपाल आएका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा सुनसरी प्रहरीले  अनुसन्धान गर्दा उक्त फिरौती रकम माग्ने, लिने र मुख्य योजना बनाउने कार्यमा सन्तोष बस्नेत संलग्न रहेको र उनले नै भारतीय नागरिक इम्तियाजसँग मिलेर अपहरण गरेको खुलेको प्रवक्ता राईले जानकारी दिए ।

सुनसरी प्रहरीले बन्धक बनाइएका सौगातका बुबाले फिरौतीबापत बुझाएको १ लाख ५० हजार रुपैयाँ पक्राउ परेका बस्नेतको घरबाट गएको जेठ ५ गते बरामद गरेको थियो । उक्त घटनापश्चात् फरार रहेका बस्नेतलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर राजेश दत्त नेतृत्वको विशेष टोलीले धरानबाट उदयपुरतर्फ भाग्दै गर्दा वराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित झण्डाचोकबाट असार २५ गते पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतलाई अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको र अपहरणमा संलग्न अन्य व्यक्तिहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।