बैंकहरुले साउन १ गतेदेखि लागू हुने ब्याजमा आफ्नो संस्थाको अनुकूलतामा घटाउन, बढाउन वा स्थिर राख्न पाउने भएका छन् ।

हाल साधारण मुद्दती निक्षेपको ब्याज दर ९.९९ प्रतिशत छ । अब बैंकहरुले चाहेमा यसको १० प्रतिशतका दरले घटाउन वा बढाउन सक्छन् । अब बैंकहरुले ब्याज बढाउन चाहेमा झण्डै ११ प्रतिशत पुग्छ भने घटाउन चाहेमा ९ प्रतिशतमा झर्न सक्छ । 

नेपाल बैंकर्स संघले लामो समयदेखि गर्दै आएको ब्याज कार्टेलिङलाई खारेज गर्ने भद्रसहमति गरेका हुन् । बैंकर्स संघअन्तर्गतका २० वटै बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिहको बैठकले ब्याजमा गर्दै आएको कार्टेलिङ खारेज गर्ने निर्णय भएको छ । बैठकले निक्षेपको ब्याज दर तोक्ने जिम्मा सम्बन्धित बैंकहरुलाई नै दिएको हो ।

हाल बजारमा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) का हिसाबले करिब ४ खर्ब रुपैयाँ लगानी योग्य पुँजी छ । हाल सीडी रेसियो पनि ८२ प्रतिशत हाराहारी छ । हरेक दिनजस्तो निक्षेप वृद्धि भइरहेको छ ।

निक्षेप बढ्ने तर ऋणको माग नहुने हुँदा बैंकहरुलाई ब्याज घटाउनु पर्ने दबाब थियो । बैंकहरुसँग पर्याप्त तरलता हुँदाहुँदै पनि ब्याज दर महँगो भएका कारण ऋणको माग भइरहेको थिएन । यस्तोमा संघले अहिले ब्याज दर खुला छाड्ने उपयुक्त समय भएको भन्दै सम्बन्धित बैंकलाई छाडिदिएको हो ।

ब्याज दर कार्टेलिङ हटाउन राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने विज्ञहरुले सुझाव दिंदै आएका थिए । वर्षको सुरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप अहिले ५ खर्ब ५ अर्बले बढेर ५० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप वृद्धिको तुलनामा ऋण लगानी सुस्त छ । अहिलेसम्म एक खर्ब २६ अर्ब रुपैयाँ मात्र नयाँ ऋण गएको छ । वर्षको सुरुमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको ऋण अहिले ४३ खर्ब एक अर्ब पुगेको छ ।

- फाइल तस्बिर