मोरङ । विराटनगर महानगरपालिका–६ सरोचियास्थित शिक्षा सदन माविका शिक्षकहरूले राम्ररी नपढाएको विद्यार्थीले गुनासो गरेका छन् ।
बिहीबार बिहान विद्यालयको अनुगमन गर्न पुगेका महानगरका प्रमुख नागेश कोइरालासँग विद्यार्थीले त्यस्तो गुनासो गरेका हुन् । शिक्षकहरूले राम्ररी नपढाएकै कारण विद्यार्थीहरू नियमित कक्षामा नआउने गरेको उनीहरूको भनाइ थियो । मेयर कोइरालासित विद्यार्थीहरूले कक्षा कोठामा बत्ती नभएको, छात्राका लागि छुट्टै शौचालय नभएको, सेनिटरी प्याड राख्ने डस्टबिन नराखेको, शिक्षकहरूले होमवर्क दिए पनि चेक नगर्ने गरेकोलगायतका गुनासो पोखेका थिए ।
विद्यार्थीसितको अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षक(शिक्षिकाहरूसित छलफल गरेका थिए । उनले विद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा प्रधानाध्यापकसहित सबै शिक्षक(शिक्षिकाहरूले जिम्मेवारी लिनुपर्ने बताए । उनले विद्यालय सुधार्नका लागि दुई महिनाको समय दिएका छन् । दुई महिनाभित्र पनि विद्यालयमा सुधार नआए महानगरले कडा कदम चाल्ने मेयर कोइरालाले चेतावनी दिए । उनले शिक्षकहरूसँग भने, ‘विद्यालयमा विद्यार्थी नियमित नआएको तपाईंहरूलाई चिन्ता छैन । एकले अर्कालाई दोष थोपर्ने र पन्छिने काम अब चल्दैन ।’
शैक्षिक सुधारको अभियानअन्तर्गत महानगरपालिकाका मेयर कोइरालाले सामुदायिक विद्यालयहरूको अनुगमनलाई तीव्रता दिएका छन् । वडाध्यक्ष हरिशचन्द्र सहनी (अक्षय), शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराई, महाशाखाका कर्मचारी र सचिवालयको टोलीसहित विद्यालय पुगेका मेयर कोइरालाले सुरुमा हरेक कक्षामा पुगेर विद्यार्थीहरूसित मात्रै अन्तरक्रिया गरेका थिए ।