विराटनगर । मोरङ जहदा गाउँपालिका–१ की ५५ वर्षीया द्रौपतीदेवी राजवंशी पेटमा असह्य पीडा भएपछि आइतबार दिउँसो विराटनगरस्थित कोशी अस्पताल आइन् । उनको केही समयअघि मात्रै पाठेघरको शल्यक्रिया गरिएको थियो ।
पुरानै समस्याले राजवंशीलाई पेट दुखाइ बढेपछि छिमेकी देवन्तकुमार राजवंशीको सहारामा उनी कोशी अस्पतालको आकस्मिक कक्षमा असार २४ गते आइन् । आकस्मिक कक्षमा रहेका स्वास्थ्यकर्मीले स्त्री तथा प्रसूति रोग विशेषज्ञलाई भेट्न ओपिडीमा जान सुझाए ।
स्त्री तथा प्रसूति विभागका चिकित्सकले शल्यक्रिया गरिएको केस रहेछ भन्दै सर्जरी विभागमा जान भने । त्यहाँबाट सर्जरी विभागतिर लिएर गए । आकस्मिक कक्षबाट स्त्री तथा प्रसूति विभागमा पालो कुर्दाकुर्दै एक घण्टाभन्दा बढी समय बितिसकेको थियो । पेटको दुखाइ झनै बढिरहेको थियो । प्रसूति विभागबाट सर्जरी विभागका चिकित्सककहाँ गएर पालो कुर्दाकुर्दै राजवंशीको मृत्यु भयो । ‘सुरुमा इमरजेन्सीमा पु¥याएँ, त्यहाँबाट गाइनोमा लान भनियो’ बिरामी लिएर अस्पताल पुगेका देवन्तले भने, ‘पालो कुर्दाकुर्दै समय बितेपछि बल्ल गाइनोमा देखाउन पाइयो । गाइनोका डाक्टरले पेटमा घाउ रहेछ, अप्रेसन पनि गरेको रहेछ, सर्जरीतिर लानू भने । सर्जरीका डाक्टरलाई देखाउन नपाउँदै उहाँको ज्यान गयो ।’ देवन्तले अस्पताल पु¥याउनेबित्तिकै उपचार सुरु गरेको भए मृतकको ज्यान बाँच्ने आशा राखेका थिए । ‘तर, त्यस्तो भएन अस्पतालका वार्ड डुलाउँदा डुलाउँदै उहाँको ज्यान गयो’ उनले भने, ‘मैले १० बजे अस्पताल पु¥याएको थिएँ । १२ बजेतिर उहाँको निधन भयो ।’
उपचारमा ढिलासुस्ती भएकै कारण बिरामीको मृत्यु भएको भन्दै परिवार र छिमेकीले अस्पताल प्रशासनसँग कुरा गरे । अस्पतालले घटनाबारे छानबिन गर्न अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डाक्टर यज्ञराज खरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चन्द्रभाल झाले घटनाको छानबिन सुरु भएको जानकारी दिए । ‘अस्पतालले छानबिन समिति गठन गरेको छ’ उनले भने, ‘समितिले दिएको प्रतिवेदनको आधार थप प्रक्रिया अगाडि बढाउनेछौं ।’
छानबिन समितिका एक जना सदस्यले आकस्मिक कक्षमा तत्कालै उपचार सुरु गरेर औषधि चलाउन सकेको भए राजवंशीको ज्यान जोगिने सम्भावना हुनसक्ने बताए । ‘आकस्मिक कक्षले तत्कालै दुखाइ कम गर्ने औषधि र एन्टिबायोटिक चलाएको भए यस्तो दुर्घटना हुन्नथ्यो कि भन्ने देखिन्छ’ छानबिन समितिको संयोजक डाक्टर यज्ञराज खरेलले भने, ‘हामी छानबिनकै क्रममा छौं । विस्तृत विवरण छानबिन सकिएपछि खुल्ला ।’ समितिले इमरजेन्सीमा त्यस दिन रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग घटनाबारे बुझिरहेको उनले बताए । छानबिन चलिरहेको भन्दै अस्पतालले त्यसदिन ड्युटीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको नाम खुलाउन चाहेको छैन ।
छानबिन समिति गठन
मृत्युपश्चात् छानबिन गर्न कोशी अस्पतालका पूर्व मेसु डा. यज्ञराज खरेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।
राजवंशीको मृत्यु भएको घटनाको छानबिन गर्नको लागि अस्पतालले डा. खरेलको नेतृत्वमा समिति गठन गरेको हो । समितिले घटनाको छानबिन सुरु गरेको डा. खरेलले जानकारी दिए । ‘प्रारम्भिक चरणको छानबिनले राजवंशीको सेप्सिसको कारणले मृत्यु भएको देखिन्छ’ उनले भने, ‘यो प्रारम्भिक अनुमान हो । गाइनोमा बिरामी पठाउने क्रममा बिरामीको मृत्यु भएको छ ।’
आकस्मिक कक्षका स्वास्थ्यकर्मीको तर्फबाट पनि कमजोरी भएको देखिएको उनले बताए । ‘आकस्मिक कक्षमा आएका बिरामीलाई त्यही एन्टीबायोटिक चलाएर थप कन्सल्ट विशेषज्ञ चिकित्सकसँग गरिनुपर्ने हुन्थ्यो । तर, आकस्मिक कक्षमा आएका बिरामीलाई गाइनो वार्डमा पठाएको देखियो । आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउन हामीले सुझाव दिएका छौं ।’ आकस्मिक कक्षमा आएका बिरामीलाई अन्य वार्डमा पठाउनु परे एक जना नर्स वा स्वास्थ्यकर्मीलाई सँगै राखेर बिरामीसँग पठाउन सुझाव पनि दिएको उनले बताए ।