भानुजयन्तीको अवसरमा धरानस्थित भानुचोकमा रहेको आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिकमा माल्यार्पण गरिएको छ ।

धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले सो अवसरमा माल्यार्पण गर्दै भानुको जीवनी र भाषा, साहित्य उत्थानमा गरेको योगदानको चर्चा गरे । 

नेपाली लेखक संघ सुनसरीले विविध कार्यक्रम गर्दै धरानमा २१० औँ भानु जन्म जयन्ती आयोजना गरेको अध्यक्ष हर्ष सुब्बाले जानकारी दिए । 

कवि, साहित्यकार, समालोचक र लेखकलगायतका उपस्थिति रहेको कार्यक्रममा भानुभक्तको शालिकमा माल्यार्पणसँगै भानुभक्तको जीवनीमाथि परिचर्चा, तथा रचनावाचन कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख बेघासँगै गोविन्द तिम्सिना, प्राडा भोलानाथ पोख्रेल, डा. भवानीशंकर भट्टराई, प्रा डा. खेमनाथ दाहाल, कुलबहादुर कार्की (पदम), डा. गोपाल भण्डारी, विजय घिमिरे, लालबहादुर कार्की, गिरिराज आचार्य, प्राडा चन्द्रमणि नेपाल, जगन्नाथ कट्टेललगायतको उपस्थिति रहेको थियो । 

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठुलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ । 

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

रामायणसँगै ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । आदिकविका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ सँगै अन्य फुटकर रचनासमेत न् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै कविता रचना गरेका थिए– 

‘भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली ।’ 

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको विद्वानहरुले चर्चा गर्ने गरेका छन् ।