४० वर्षसम्म निरन्तर अतिक्रमणको चपेटामा परेको बराहक्षेत्र ५ कालाबञ्जार बजार भएर बग्ने हैंटा खोलाले पूर्ववत् रुप प्राप्त गरेको छ । हैंटा खोला अतिक्रमणका कारण बर्सेनि डुबानको समस्या खेप्नु परेका स्थानीयले यसपाली पीडाबाट मूक्ति पाएका छन् ।
अतिक्रमित हैंटा खोला सफाइ अभियानले सार्थकता पाएपछि हैंटाले आफ्नै पुरानो धार समातेको छ । हैंटा खोलामा बर्खाको पानी बग्न थालेपछि कालाबञ्जार बजार डुबानमूक्त भएको छ ।
खोला अतिक्रमण गरी बनाइएका संरचना र पुरिएको खोलाले आफ्नो पूर्ववत रुप प्राप्त गरेपछि डुबानको समस्या टरेको छ । खोलाभित्र बनेका संरचना ‘हैंटा खोला सफाइ अभियान’को बलमा वराहक्षेत्र नगरपालिकाले नीतिगत निर्णय गरी हटाएपछि अहिले खोला आसपासको दृश्य पनि सुन्दर देखिन थालेको छ ।
हैंटा खोला अतिक्रमण हटाइँदै
नगरपालिकाले तत्काल खोलालाई १६ फिट कायम गरेर खोलाभित्रका संरचना एक्स्काभेटर प्रयोग गरी हटाएको थियो । हाल खोला कालाबञ्जार बजार हुँदै खुनटोलस्थित पुलाहा खोलामा झारिएको छ ।
‘कालाबञ्जार चोकलक्षित मात्रै काम भयो’
हैंटा खोला सरसफाइका कारण कालाबञ्जारवासीमा उत्साह थपिए पनि काम भने आंशिकमात्रै भएको सरोकारवालाहरुले बताएका छन् ।
कालाबञ्जार चोकदेखि खुनटोलस्थित पुलाहा खोलासम्म सरसफाइ गरिए पनि खोलाको अतिक्रमित क्षेत्र अझै पूर्णरुपमा खाली गराउन नसकिएको स्थानीय ओम पौडेलले बताएका छन् ।
‘कालाबञ्जार चोकनेर सरसफाइ गरिएको हो, बर्खाका बेला धेरैका घर पनि हटाइयो, घर हटाउन पर्नेको मंसिरसम्म समय दिइएको थियो,’ स्थानीय पौडेलले भने,‘अहिलेसम्म नभएको काम भएको छ, यसलाई सकारात्मक मान्नुपर्छ तर काम थुप्रो बाँकी छ ।’
हैटाखोलाका जग्गा सार्वजनिक जग्गा भएकाले सबै खाली गर्नुपर्ने स्थानीयले आवाज उठाउँदै आएका छन् । हैंटा खोलाको जग्गा पूर्व सीमाना जङ्गलसम्म पर्छ । खोला पश्चिमपट्टी पनि ऐलानी जग्गा छ ।
हैंटा खोला अतिक्रमणः चालिस वर्षदेखि अतिक्रमित खोलामा वराहक्षेत्रले चलायो डोजर
‘खोलाको सम्पूर्ण भूभाग क्लियर गर्नुपर्छ भनेर हामीले नगरपालिकामा डेलिगेशन जाने तयारी गरेका थियौं, वडाध्यक्षले डिपीआर नै तयार भएको बताएपछि डेलिगेसन गएनौं, तर त्यो काम कहाँ पुग्यो थाहा छैन,’ स्थानीयवासी पौडेलले भने, ‘पानी पर्दा बाढी आउँछ, खोला दुईतिरबाटै चेप्टिएर सकिएको अवस्थामा छ ।’
चारकोशे झाडीबाट जनजागृति वन कार्यालयको पूर्वतर्फ हुँदै ठुटेचोक– पोखरी टोल हुँदै हैंटा खोला कालाबञ्जार आइपुग्छ । हर्दिया हुँदै बाङ्गेतर्फ पैनीका रुपमा गएको छ भने थला हुँदै रामधुनीको सुनसरी खोलामा मिसिन्छ ।
‘पहिलेजस्तो उत्पात भएको छैन, एकछिनएकछिनमा आइरहेको छ । कालाबञ्जार चोकको समस्या टरेको छ । पूर्ण रुपमा भने काम भएको छैन आंशिकमात्रै भएको हो ।’ स्थानीय ओम पौडेलले भने ।
वराहक्षेत्र ४ का वडाध्यक्ष आशाराम चौधरीले अनियन्त्रित खोलाका कारण घरघरमा र चुलाचुलामा पानी पसेको बताए ।
कालाबञ्जरको हैंटाखोला अतिक्रमण गर्नेलाई अप्ठेरो
‘गर्नुपर्ने काम पूर्ण रुपमा भएको छैन, हैंटा खोलालाई कुपी खोला हुँदै बेलाहा खोलामा झार्नुपर्छ, अझै पनि यताका स्थानीयलाई खोलाले समस्या नै बनाएको छ,’ वडाध्यक्ष चौधरीले भने, ‘खोलालाई पूर्ण रुपमा सफाइ गरिएन भने समस्या बढ्दै जान्छ, हिजोको वर्षाले पनि घरघरमा, चुलाचुलामा खोलाको पानी पुगेको छ ।’
हैंटा खोला हाल खुन टोलसम्म पुर्याएर पुलाहा खोलामा झारिएको वडाध्यक्ष चौधरीले बताए । ‘पुरानो खोला हो, सफा नगरेको धेरै भो, पहिला ठूलो थियो, अहिले साघुरिएको छ,’ वडाध्यक्ष चौधरीले भने, ‘बाटोदेखि उत्तरपट्टीका स्थानीयले केराको झ्याङ, बोटविरुवा लगाएको छ । हर्दियाबाट बेलाहा झार्दा राम्रो हुने भनेर हामीले नगरमा कुरा राखेको थियौं, नगरबाट गर्ने भन्ने पनि कुरा भएको थियो ।’
हैंटाखोला अतिक्रमण हटाउन नगरको दोस्रो पटक सूचना
हाल खोलाको चौडाई १६ फिट कायम गरिएको छ । मङ्सिरपछि खोलाको नक्सा कायम गरिने नगरपालिकाले बताउँदै आएको छ । १६ फिट कायम गरिएको खोलाले हाल कालाबञ्जारमा बाढीको समस्या समाधान गरे पनि बजारक्षेत्र बाहिर समस्या ज्यूँकात्यूँ रहेको स्थानीय बताउँछन् ।
वराहक्षेत्र नगरपालिकाले वैशाख ३ गते पहिलो पटक ३५ दिने सूचना जारी गरी अतिक्रमित खोला खाली गर्न आह्वान गरेको थियो । सो अवधिमा अतिक्रमित क्षेत्र खाली नभएपछि गत जेठ ७ गते दोस्रो पटक र जेठ १६ गते तेस्रो पटक सूचना जारी गरेको थियो । तेस्रो पटक सूचना जारी गर्दा समेत अतिक्रमण नहटेपछि नगरपालिकाले अतिक्रमित क्षेत्र आफैं खाली गर्ने निर्णण गरी कार्यान्वयन गरेको थियो ।
हैंटा खोला सरसफाइको नीतिगत योजना वराहक्षेत्र ५ को वडा कार्यालयले अघि सारे पनि स्थानीय अभियन्ता सूर्य बस्नेत, पहलमान बस्नेतलगायतको सक्रियतामा हैंटा खोला सरसफाइ अभियान सुरु गरिएको थियो । अभियानकै क्रममा गठन भएको वराहक्षेत्र सचेत समूहले हैंटा खोलाको नियमित सफाइ गरिरहेको थियो ।
यो सरसफाइ अभियानमा नगर प्रमुख रमेश कार्कीसमेत सहभागी भएका थिए । अभियानको प्रभावकारिताकै कारण खोलाको क्षेत्र निकाल्ने र अतिक्रमित भूभाग खाली गराउने निर्णयमा वराहक्षेत्र नगरपालिका पुगेको थियो ।
खोला अतिक्रमण गरेर निर्माण भएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा समिति निर्माण भएको थियो । समितिमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौला रहेका थिए । समितिले यस अघि तत्काल खोलाको नक्सा हेरेर खोला निकाल्ने तयारी गरेको थियो । यद्यपि हाल खोलाको नक्साअनुसार भने जग्गा छुट्याउने काम नगरले सुरु गरेको छैन ।