विजयपुर । धरान–१५ को श्रेया बचत तथा ऋण सहकारीका सञ्चालकको घर घेराउ गरेका छन् ।

शुक्रबार सहकारीका पीडितहरूले सञ्चालक चन्द्र खापुङ र लोक खापुङको घर घेराउ गरेका हुन् । सहकारी पीडितहरूले निक्षेप रकम फिर्ता गर्न माग राखी घर घेराउ गरेका हुन् ।

सहकारीका पीडितहरूले १ सय ६ जनाले सङ्घर्ष समिति बनाएर घर घेराउ गरेका हुन् । चन्द्र खापुङ हाल युके पुगिसकेका सङ्घर्ष समितिले जनाएको छ । उनका छोरा लोक खापुङ काठमाडांैतिर लुकेर बसेको बताइएको छ । 

सङ्घर्ष समितिका संयोजक देवकुमार राईले २०७६ सालदेखि सहकारीले बचतकर्ताहरूको निक्षेप रकम फिर्ता गर्न छोडेको बताए । उनले सञ्चालक खापुङसँग कुरा गर्दा १ अर्ब बढी पैसा फिर्ता गर्नुपर्ने बताएको जानकारी दिए ।

हाल सङ्घर्ष समितिको सम्पर्कमा १ सय ६ जना रहेका छन् भने उनीहरूको १८ करोड ३७ लाख ४० हजार ३ सय ५९ रुपैयाँ निक्षेप रकम रहेको छ ।

सञ्चालक खापुङहरूविरुद्ध उपमहागनरको न्यायिक समिति, इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पनि न्याय नमिलेपछि हाल जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको समितिले जनाएको छ ।

प्रहरीले पक्राउ नगरेकाले खापुङ भागेर युके पुगेको र छोरा काठमाडौंमा लुकेको उनीहरूको आरोप छ ।