धरान । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्थापना भएका देशभरका १ सय ७५ वटा निजी र सामुदायिक कलेज/क्याम्पस बन्द हुने भएका छन् ।
ती क्याम्पसहरूले त्रिविसँगको शैक्षिक सम्बन्धन नवीकरण नगरेपछि बन्द हुने भएका हुन् । २०५० र २०६० को दशकमा चलेको ‘कलेज खोल्ने लहर र रहर’ मा स्थापना भएका यस्ता कलेजमध्ये अधिकांश सुरुदेखि आर्थिक सङ्कटमा त थिए नै, पछिल्ला दिनमा पढ्ने विद्यार्थी पनि आउन छोडेपछि क्रमशः धरासायी हुँदै गएका छन् ।
अहिले युवाहरूको झुकाव पढ्नका लागि सकेसम्म विदेश जनो र जान नसक्नेहरूको आकर्षण राजधानी या ठूलो सहर–बजारका सुविधा सम्पन्न कलेजतर्फ देखिन्छ । यसरी बन्द हुने स्थितिमा पुगेका अधिकांश क्याम्पस शैक्षिक आधार र खाँचोभन्दा पनि स्थानीय राजनीतिक स्वार्थ एवम् देखासिकीका भरमा खोलिएका पाइन्छन् ।
त्रिभुवन विश्वविद्यालयले २०७९ को पुस र चैतमा सार्वजनिक सूचना निकालेर तोकिएको मितिभित्र नवीकरण नगरे सम्बन्धन खारेज हुने जनाउ दिएको थियो । अहिले तेस्रो पटक निकालिएको सूचनाका आधारमा ती क्याम्पसको सम्बन्धन स्वतः खारेजीमा पर्न लागेको देखिन्छ ।
त्रिविले अर्को एक सूचनामार्फत् २०८० असार १५ गतेसम्म देशभरका ८ सय ८२ वटा सामुदायिक एवम् निजी क्याम्पसले आफूसँगको सम्बन्धन नवीकरण गरेको जनाउ पनि दिएको छ । त्रिविले सम्बन्धन प्रदान गरेका ८ सय ८२ कलेज/क्याम्पसबाहेक आफ्ना करिब एक दर्जन सङ्काय अन्तर्गत ६२ वटा आङ्गिक क्याम्पसहरू पनि सञ्चालन गर्ने गर्छ । पछिल्लो समयमा देशका प्रायः सबै शैक्षिक संस्थामा नियमित अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घटेको छ भने केही सहर–बजारका स्कुल–कलेजमा भने अत्यधिक विद्यार्थी ओइरिएको पाइन्छ ।