- भेषराज घिमिरे
प्राचीन हिन्दू धर्मका धार्मिक ग्रन्थहरू, (शास्त्रीय प्रमाण) मा वर्णन भएअनुसार पौराणिक समयमा देवता र दानवहरूका बीच घमासान युद्ध भयो । युद्धमा दुवैतर्र्फ निकै ठूलो नोक्सानी भयो । अझै नोक्सानी हुने देखेर विष्णु भगवानले युद्धलाई अन्यत्र मोड्नका लागि एउटा जुक्ति सोचेर देवता र दानवका बीच समुद्र मन्थन गर्ने विचार गर्नुभयो । अतः देवता र दानवहरूले समुद्र मन्थन गर्न सुरु गरे । जसमा मन्दराचल पर्वतको मदानी र वासुकी नागको नेती बनाइयो । समुद्र मन्थनवाट अनेक वस्तुहरू निस्कन थाले कामधेनु गाई, अमृत, धन्वन्तरी भगवान, विश्वरूपा सुन्दरी आदि निस्कँदै गए ।
अमृतलाई दानवहरूबाट जोगाउनु पर्दछ भनेर त्यसैबेला धन्वन्तरी भगवानले अमृतलाई सुटुक्क लुकाएर राक्षसहरूले थाहा नपाइकन रुद्राक्षरण्यमा (हाल धरानको पिण्डेश्वर) अमृतको पिण्ड बनाई राखी दानवहरूबाट जोगाउने काम भयो ।
समुद्र मन्थनवाट पवित्र अमृत मात्र निस्किएन, हलाहल कालकुट विष पनि निस्कियो । उक्त विष खतरनाक थियो । जसले स्वर्ग, आकाश र पृथ्वीमा रहेका देवता, दानव, स्थलचर, जलचर, वनस्पति आदि सम्पूर्ण नै ध्वस्त खरानी बनाउने देवताहरूले लक्षण र सङ्केत देखेपछि अब कुनै प्राणीहरू बाँच्न सक्ने छैनन् भन्ने लागेर देवताहरूले आपसमा छलफल र बिचार विमर्श गरे । यो संसार ध्वस्त बनाउन सक्ने विषलाई नियन्त्रण गर्न उनै परमात्मा प्रभु सबै प्राणीका रक्षक भोलेबाबासँग मात्र यो कालकुट विष नियन्त्रण गर्ने शक्ति छ । वहाँका शरणमा जाऔँ भनी सवै देवगणले निर्णय गरे ।
त्यसपछि सबै देवताहरू, दानवहरू त्राहिमाम प्रभु त्राहिमाम प्रभु भन्दै कैलाशतर्फ प्रस्थान गरे । सबैले बोलबम भोलेबाबा भन्दै उनै आशुतोष भगवान भोले बाबाका शरणमा परी रुँदै, कराउँदै सम्पूर्ण देवतागणले भोलेनाथलाई हलाहल कालकुट विषका विषयमा सबै विवरण प्रभु समक्ष बिन्ती गरे । बिन्ती सुनिसकेपछि देवादिदेव महादेव भोलेनाथले भन्नुभयो, ‘यदि यो संसारका देवता, दानवलगायत सम्पूर्ण प्राणीहरूको रक्षा एवम् कल्याण हुन्छ भने म यो विष सेवन गरेर पचाइदिन्छु ।’ सोही अनुरूप आशुतोष भगवानले सम्पूर्ण प्राणीजगत्को कल्याणार्थ कालकुट विष पिउनुभयो । बमभोले बाबाले कालकुट विष पिइसकेपछि वहाँको घाँटीमा अड्कियो । परमात्मा भोलेनाथलाई विषले छट्पटाहट, कष्ट र पीडा हुन थाल्यो । भोलेनाथको घाँटी नै निलो भयो । त्यसैले भोलेनाथलाई निलकण्ठ पनि भनिन्छ ।
कालकुट विषले महादेवका सम्पूर्ण अङ्ग प्रत्यङ्ग जलन हुन थाल्यो । भगवान भोलेनाथलाई दुःख, पीडा, कष्ट र छट्पटाहटले भारी पीडा भइरहेको थियो । शीतलता, ठण्डा र शान्तिको खोजीमा भाँैतारिँदै कति नदी, ताल, पोखरी तथा समुद्रमा डुबुल्की मार्दै, हाम्फाल्दै हिँड्न थाल्नुभयो । तर, शान्ति र शीतलता कहीँ प्राप्ति भएन ।
अन्त्यमा रुद्राक्षरण्यको मध्यभागमा अमृतको पिण्डलाई महादेव भोलेबाबाको प्रतीकका रूपमा पिण्डेश्वर महादेव शिवलिङ्ग स्थापना गरेर पावनी कौशिकी नदीको जल बोलबम, बोलबम भन्दै पिण्डेश्वर भोलेबाबालाई चढाएपछि मात्र देवादिदेव महादेव (बम भोले बाबा) लाई शान्ति, आनन्द र शीतलता प्राप्त भएको थियो । साथै ब्रह्माण्डभरिका देवता र मानवहरूलाई पनि सुख–शान्ति प्राप्त भएछ भनेर शास्त्रीय प्रमाणहरूले भन्दछन् । त्यसैले खासगरी साउन महिनामा कौशिकीको जल भोलेबाबाको प्रतीक शिवलिङ्गमा चढाउनाले आफूले चिताएको कुरा पूरा हुने जनविश्वासमा जल चढाउने कार्यलाई निरन्तरता दिइयो । यसबाटै बोलबमको परम्परा र प्रथा चलिआएको रहेछ । अस्तु ।
–वराहक्षेत्र न.पा.–२