सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ ।  

अस्पताललाई ड्रोन आक्रमणको निशाना बनाएको उसले पाँच जनालाई मारेको र २२ जना गैरसैनिक नागरिकलाई घाइते बनाएको सुडानी  सेनाले एक प्रेस विज्ञप्ति निकालेर बताएको छ । यस सम्बन्धमा आरएसएफले कुनै टिप्पणी गरेको छैन । 

राजधानी खार्तुमको उत्तरपश्चिममा अवस्थित ओम्दुरमानको मिलिटरी मेडिकल कोर अस्पतालको आपतकालीन परिसरमा आक्रमण गरेर आरएसएफले अन्तरराष्ट्रिय मानवीय कानून र युद्धका सबै नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ । आक्रमणमा परेको अस्पतालबाट त्यसको स्थापनाकालदेखि नै नागरिक र सैन्य कर्मचारीलाई सेवा प्रवाह हुँदै आएको थियो । 

गत अप्रिल १५ देखि सुडानभर सुडानी सशस्त्र सेना र आएएसएफबीच सशस्त्र युद्ध जारी छ । पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार द्वन्द्वमा परी तीन हजारभन्दा बढीको मृत्युभएको छ भने छ हजारभन्दा बढी घाइते भएका छन् ।