श्रावण महिनाभरि लाग्ने बोलबम मेला सुरु भएको छ । धरानस्थित हिन्दूहरुका आराध्यदेव रुद्राक्षरण्य पिण्डेश्वर महादेवमा सप्तकोशी नदीको जल अर्पण गर्नका लागि वराहक्षेत्र चतराधाममा भक्तालुहरु भेला हुन थालेका छन् ।

प्रत्येक वर्ष साउन महिनाको पहिलो सोमबार सप्तकोशी नदीको जल पिण्डेश्वर महादेवमा अर्पण गर्दै आएका अर्चना बाबाका भक्तहरुको औलिया बाबा मठमा घुइँचो लागेको छ ।

श्री पिण्डेश्वर महादेव अर्धनारिश्वरी सद्गुरुदेव अर्चना बाबा १०८ शिव साधनामध्ये बोलबम विशेष  १०२ औं शिव साधनामा सहभागी भक्तजनले आजै वराहक्षेत्र मन्दिरमा पूजाअर्चना गरी वराहक्षेत्र नगर परिक्रमा गरेका छन् ।

bolbam chatara2

यो वर्षको बोलबम मेलालाई भव्य, सभ्य बनाउन विभिन्न समिति गठन गरी सहजीकरण गर्ने प्रयास गरिएको वराहक्षेत्र १ का वडाध्यक्ष किसन थापाले जानकारी दिए । पहिलो आइतबार २ हजार बढी भक्तजन आएको अनुमान गरिएको वडाध्यक्ष थापाले बताए।

शुक्रबारबाट सुरु भएको अर्चना बाबा शिव साधनामा आदि जगदगुरु श्री ॐ बाबाको सत सङ्कल्प र सद्गुरुदेव अर्चना बाबाको सानिध्यतामा शिविर सुरु भएको छ ।

पिण्डेश्वर नगरी प्राचीन हरिद्वार सिद्धभूमि  चतरागद्दीस्थित महामुनि औलिया बाबा मठ तथा सप्तकोसी आश्रम परिसरमा हजारौं भक्तजनको उपस्थितिमा आइतबारसम्म शिव साधना जारी रहने राजकुमार शम्भोले जानकारी दिए ।

ॐ श्री सम्प्रदायमा आस्थावान सद्गुरुदेव अर्चना बाबाका देशविदेशका भक्तहरुको उपस्थितिमा भजनकीर्तन, शिव साधना र बोलबम सकीर्तन भइरहेको श्री अर्चना बाबाधाम वराहक्षेत्रका सल्लाहकार महेश बज्राचार्यले जानकारी दिए ।

Bolbam chatara1

उनका अनुसार भारतका विभिन्न स्थानलगायत सिक्किम, दार्जीलिङसहित पश्चिम नेपालका कैलाली, कन्चनपुर, बाके, बर्दिया, रोल्पा, रुकुम, जाजरकोटसहित १८ जिल्ला र पूर्वी नेपालका सुनसरी, मोरङ, उदयपुर र झापालगायतका जिल्लाबाट भक्तजनहरुको शिव साधनामा उपस्थिति रहेको छ ।

शिव साधनाअन्तर्गत भक्तजनहरुको वराह भगवानको परिक्रमा र वराहक्षेत्र नगर परिक्रमासमेत गरेको  श्री अर्चना बाबाधामका संयोजक विजय राईले जानकारी दिए ।


अर्चना बाबाधामको आयोजनामा हरेक वर्ष श्रावण महिनाको पहिलो सोमबार हजारौं भक्तजनले पीण्डेश्वर महादेवमा सप्तकोशीको जल अर्पण गर्दै आइरहेका छन् । शुक्रबारदेखि आइतबारसम्म त्रीदिवसीय शिवसाधनाको आयोजना गर्ने र सोमबार रुद्राक्षरण्य महादेवमा जल अर्पण गर्ने नियमित कार्य भएको बाबाधामका संयोजक राईले जानकारी दिए ।