नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आगामी २०८४ को निर्वाचनमा पार्टी कमजोर हुन्छ र पराजित भइन्छ भन्ने भयले काङ्ग्रेसका नेता, कार्यकर्ता निराश भएको धरानमा आयोजित एउटा कार्यक्रममा बताएका छन् । काङ्ग्रेसमा नेतृत्व परिवर्तनका लागि देशका विभिन्न ठाउँ पुगिरहेका महामन्त्री थापाको भनाइमा सत्यता छ । नेपालको पुरानोमध्येको पार्टी मानिने नेपाली काङ्ग्रेस समयानुकूल परिवर्तन हुन नसक्दा कमजोर र धरासायी भइसकेको छ । त्यसमाथि माथिल्लो तहका नेताहरूका विवादित गतिविधिले पनि काङ्ग्रेस आम मतदाताको नजरबाट गिरिरहेको छ । पछिल्ला दिनमा नेताहरूका विभिन्न अपराधमा संलग्नता भेटिनु र त्यस विषयमा पार्टीले स्पष्ट निर्णय लिन नसक्नुले पनि काङ्ग्रेसलाई कमजोर बनाएकै छ । विगतमा पनि काङ्ग्रेसका थुप्रै नेताहरू भ्रष्टाचार र विभिन्न काण्डमा मुछिएका छन् । तिनलाई पनि पार्टीले कारबाही गर्नुको साटो ढाकछोप गर्ने प्रयत्न गरेका घटनाहरू आम जनमानसले भुलेको छैन ।
पछिल्लो समय चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्रीसमेत भइसकेका काङ्ग्रेसमा माथिल्लो तहका नेता बालकृष्ण खाँण पक्राउ परिसकेका छन् । त्यसो त काङ्ग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा काङ्ग्रेस नेतृ आरजु देउवा र खाँण पत्नी मञ्जुको नाम पनि यो प्रकरणमा चर्चामा आएको थियो । यति ठूलो काण्डमा पार्टीका नेता पक्राउ परेको र कसैको नाम मुछिएको घटनामा काङ्ग्रेसले पार्टीभित्र बृहत् छलफल गरेर धारणा बनाउनु पथ्र्यो तर, बैठकहरूमा समेत पार्टी सभापति देउवाले यो विषयमा चासो देखाएका छैनन् । यस्तो गम्भीर विषयलाई कहिलेसम्म लुकाउन, छिपाउन सकिन्छ ? जमाना पहिलाजस्तो छैन अब । यस्ता विषय त्यतिकै सेलाएर जाने अवस्था पनि छैन । यस्तै अर्को चर्चित ललिता निवास जग्गा प्रकरणमा पनि काङ्ग्रेसकै कतिपय नेताको समेत नाम मुछिएको छ । यो विषयमा पनि पार्टीले कदम चाल्न सकेको देखिँंदैन । त्यसो त जिउँदा मान्छेलाई इँटा भट्टामा हालेर ज्यान लिनेजस्तो अमानवीय र जघन्य अपराध गर्ने काङ्ग्रेस नेता अफताब आलम पक्राउ परेपछि देउवाले उनको बचाउ गर्दै काङ्ग्रेसमाथि आक्रमण भएको अभिव्यक्ति दिएका थिए । यस्ता व्यक्तिलाई दण्ड दिने भन्दा चुनावको टिकट दिन देउवा नै सक्रिय हुन्थे । यसरी पार्टीभित्रका नेता, कार्यकर्ताले गलत गतिविधि गर्दा कानूनी दायरामा ल्याउनु भन्दा उनीहरुलाई बचाउँदै जाने कार्यले काङ्ग्रेसबाट आम मतदाता निराश हुन थालेको पहिल्यैदेखि हो ।
आम मतदाता मात्र होइन, अहिले काङ्ग्रेससँग पार्टीकै नेता, कार्यकर्ता पनि सन्तुष्ट देखिंँदैनन् । महामन्त्रीहरूले नै असन्तुष्टि पोखिरहेका भेटिन्छन् । यस्तो लाग्छ, काङ्ग्रेसमा अहिले पार्टी सभापति शेरबहादुर देउवा र उनी निकटका केही नेता कार्यकर्ताबाहेक अधिकांश असन्तुष्ट छन् । यो कुरा देउवाले पक्कै बुझेका छन् । पटक–पटक प्रधानमन्त्री बनेका र लामो समयदेखि पार्टीको नेतृत्व सम्हालेका देउवाले अबका दिनमा पार्टी हाँक्न त्यति सहज देखिँंदैन । एकातिर मतदातामा आएको चेतना, अर्कातिर आक्रामक रूपमा उदाइरहेका नयाँ दलहरू चुनौती छँदैछन् । त्योभन्दा पनि देउवालाई तनाव आफ्नै पार्टीभित्रका नेता कार्यकर्ताको चित्त बुझाउन नसक्नुमा छ । पार्र्टी महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले नै काङ्ग्रेस शुद्धीकरणमा जानुपर्ने मुद्दा उठाइरहेकाले देउवालाई ठूलो सङ्कट आइलागेको छ । पार्टी सुधार गर्ने र जनमत घट्न नदिने हो भने युवापुस्ताको सुनुवाइ गर्नुको विकल्प छैन तर, पार्टी जेसुकै होस् त मैले भनेकै हुनुपर्छ भन्ने हो भने महामन्त्री थापाले भने झैं आगामी निर्वाचनमा पार्टीको हालत राम्रो हुने देखिँंदैन । अहिलेको आम प्रश्न हो, सुध्रिएला त नेपाली काङ्ग्रेस ?