आज श्रावण महिनाको पहिलो सोमबार हिन्दूधर्मावलम्बी शिव महादेवका भक्तजनहरु धर्मार्जनका लागि बोलबम पदयात्रामा निस्किएका छन् ।
साउन महिनाभरि प्रत्येक सोमबार जलाशयमा स्नान गरी शुद्ध भई जल लिई शिवलाई अर्पण गर्ने धार्मिक परम्परा रहिआएको छ । आज देशभरिका जलाशयबाट जल उठाई शिवलाई अर्पण गर्ने गर्दछन् ।
वैदिक र पौराणिक कालमा समेत ऋषि मुनि र भगवानहरुले महादेवलाई शान्त प्रसन्न बनाउनका लागि बोलबम पदयात्रा गर्ने गरेको र बेलपत्रसहित जल अर्पण गर्ने गरेको धर्म शास्त्रीय मान्यता रहेको छ ।
धरानमा समेत बोलबम मेला सुरु भएको छ । धरानस्थित हिन्दूहरुका आराध्यदेव रुद्राक्षरण्य पिण्डेश्वर महादेवमा सप्तकोशी नदीको जल अर्पण गर्नका लागि वराहक्षेत्र चतराधामबाट बिहानै हजारौं भक्तजन पिण्डेश्वर महादेव विजयपुरमा भेला भएका छन् ।
आज पिण्डेश्वर मन्दिरको मूलद्वार ६ बजेर ४५ मिनेटमा खोलिएको छ । ६ बजेदेखि महादेवको नित्य पूजा आरधना, आरती सकेर भक्तजनका लागि दर्शनार्थ मन्दिर खुल्ला गरिएको छ ।
प्रत्येक वर्ष साउन महिनाको पहिलो सोमबार सप्तकोशी नदीको जल पिण्डेश्वर महादेवमा अर्पण गर्दै आएका अर्चना बाबाका भक्तहरुले बिहान जलअर्पण गरेका छन् । एक महिना लाग्ने बोलबम मेलामा पहिलो सोमबार केही भक्तहरु मात्र उपस्थित भएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ ।