भद्रपुर । नेकपा (एमाले)को भातृसंस्था राष्ट्रिय युवा सङ्घ नेपाल झापा क्षेत्र नं. १ का इन्चार्जमाथि आफ्नै कार्यकर्ताले खुकुरी प्रहारको प्रयास गरेका छन् । घटना असार २५ गतेको हो ।
मेचीनगर नगरपालिका–८ इँटाभट्टास्थित एक चिया पसलमा चिया खाइरहेको समयमा सरोज मेहरामाथि युवा सङ्घ झापाका पूर्व सह–सचिव सुमन थापाले खुकुरी प्रहारको प्रयास गरेका हुन् । उनीसहित राष्ट्रिय युवा सङ्घ नेपालका प्रदेश कमिटी सदस्य तथा क्षेत्रीय इन्चार्ज रघु धिमाल तथा मेचीनगरका अध्यक्ष कृष्ण श्रेष्ठलगायतको समूह चिया पिउँदै गरेको अवस्थामा उनीहरूमाथि थापाको नेतृत्वमा १२–१३ जनाको समूह एउटा स्कार्पियो र दुईवटा मोटरसाइकलमा त्यहाँ पुगेर एक्कासि साङ्घातिक आक्रमणको प्रयास गरेको मेहराले बताए ।
राष्ट्रिय युवा सङ्घको केन्द्रको ‘नेक्स्ट इलेक्सन टार्गेट न्यू जेनेरेशन’ अभियान अन्तर्गत मेचीनगरको कार्यक्रम तय गर्न नारी कल्याणकारिणी संस्थाको सभाहलमा भेला बोलाइएको भए पनि भेला हुन माहोल प्रतिकूल भएको कारण भेला स्थगित गरिएको थियो । कार्यक्रम नहुने भएपछि दिउँसो करिब साढे १२ बजेको समयमा सोही सभाहलको छेउमै रहेको चिया पसलमा मेहरा, धिमाल, श्रेष्ठलगायतको समूह चिया पिउँदै गरेको अवस्थामा थापाले सबै युवासङ्घका कार्यकर्तासँग थापाले हात मिलाउँदै गए जब सरोज मेहराको छेउमा पुगे तब थापाले मेहरालाई हातपात गरेको प्रत्यक्षदर्शीले बताए ।
उनीहरूका अनुसार मेहराले के गरेको भनेर प्रश्न गर्ने बित्तिकै थापाले खुकुरी निकाले । एकै छिनमा चिया पसलको माहोल अस्वभाविक बन्यो । थापाले नाङ्गो खुकुरी मेहरातर्फ सोझ्याए पछि मेहरासँगै चिया खाइरहेका धिमाल र श्रेष्ठलगायतले थापालाई रोक्न खोजे तर, त्यो बेलासम्म थापासँगै आएका अन्य युवाहरूले धिमाल र श्रेष्ठलाई समेत हातपात गर्न सुरु गरिसकेका थिए । ज्यानकै जोखिम हुने देखेपछि मेहरा चिया पसलबाट बाहिरिन खोज्दा थापाको तर्फबाट खुकुरीले प्रहार भयो ।
त्यसपछि भने त्यहाँ रहेका स्थानीय थापाको समूहतिर खनिए । स्थानीयले मेहरा, धिमाल र श्रेष्ठको समूहलाई जोगाउन थापाको समूहविरुद्ध प्रतिकार गरेका कारण उनीहरू बच्न सफल भएका थिए । थापाको समूहको मुख्य निसानामा देखिएका मेहरालाई थापाले खुकुरी लिएर खेदाउन थालेपछि स्थानीयबासीले मेहरालाई एउटा घरको माथिल्लो तलामा लगेर राखे र थापाको समूह विरुद्ध खनिएपछि थापा नेतृत्वको समूह त्यहाँबाट भागेको थियो । त्यसक्रममा मेहरा सामान्य घाइते भएका थिए । तर, पनि स्थानीयको सहयोगले कुनै ठूलो दुर्घटना भने हुन पाएन ।
घटनाका बारेमा तत्कालै नेकपा (एमाले) का नेताहरूलाई जानकारी गराउँदासमेत कारबाहीको कुनै प्रक्रिया अगाडि नबढाएकाले प्रहरीमा उजुरी दिएको र घाउजाँच केश फारम भरेको धिमालले बताए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दीपक भारतीले निवेदन लिएको र घाउँजाँच केश फारम भराएको बताए । दुवै पक्षलाई चाँडै छलफलमा बोलाउने उनले जानकारी दिए ।
युवा सङ्घमा मात्रै होइन, एमाले झापाभित्र पार्टी नेतृत्व आफ्नै कार्यकर्ताबाट असुरक्षित भएको छ । यसअघि पनि एमाले प्रदेश कमिटी सदस्य तथा पूर्व प्रदेश सांसद् श्रीप्रसाद मैनालीमाथि पनि एमाले जिल्ला कमिटी सदस्य भूपाल ओलीले काँकरभिट्टामा आक्रमण गरेको घटना सार्वजनिक भइसकेको छ ।