विराटनगर । विराटनगर महानगरपालिका–३ घर भएका ७० वर्षीय हेमराज मगर बुधबार बिहान चौपायाको लागि बारीमा घाँस काट्न गएका थिए । घाँस काट्ने क्रममा उनको दायाँ हातमा सर्पले डस्यो । उनी हतारिएर कोशी अस्पतालको आकस्मिक कक्षमा भर्ना भए । त्यहाँ रहेको ४० शय्या बिरामीले भरिभराउ थियो ।

शय्या नपाएपछि उनी अकस्मिक कक्षको झ्यालमा बसेर उपचार गर्दै आएका छन् । ‘स्लाइन पानी झ्यालमा झुण्ड्याएर हातमा चढाएको छ । आकस्मिक कक्षमा शøया नभएपछि यहाँका स्वास्थ्यकर्मीले पनि झ्यालमा राखिदिए’ उनले भने, ‘२४ घण्टा यही झ्यालमा बसेर उपचार गर्ने भनिएको छ । हैरान हुने भयो । मजासँग अडेस पनि लाग्न मिल्दैन । कलिकति हलचल भयो भने भूर्इंमा लडिहालिन्छ ।’

मोरङको जहदा गाउँपालिका–४ की २१ वर्षीया जानुकाकुमारी ऋषिदेवलाई पनि सर्पले टोकेपछि आइतबार दिउँसो १ बजे कोशी अस्पताल लिएर आफन्त आएका छन् । उनले पनि कोशीको आकस्मिक कक्षमा शøया नपाएपछि हेमराजदेखि अगाडिको झ्यालमा राखेर उपचार सुरु गरिएको छ । जानुकासँगै छेउमा अर्का ४० वर्षीय विराटनगर–७ का पुष्कर पोखरेललाई पनि सँगै राखिएको छ । पोखरेल पनि आइतबार दिउँसो बैङ्क जान साइकल लिएर घरबाट निस्किए । बाटोमा दायाँ खुट्टामा सर्पले डसेपछि उनी दिउँसो १ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा आए । बिरामीले शøया भरिभराउ छ । कतै ठाउँ नपाएपछि उनलाई पनि झ्यालमा राखेर उपचार सुरु गरिएको  छ ।

पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा जेनरल, आइसियू र आकस्मिक कक्षको शय्या विस्तारमा अस्पताल विकास समिति र प्रशासनले ध्यान नदिँदा बिरामीले पाएको सास्ती हो, यो । आकस्मिक कक्षमा शय्या अभाव भएपछि यहाँका स्वास्थ्यकर्मीहरू आएका बिरामीलाई एउटै शय्यामा दुई जना, झ्याल, ट्रली र स्ट्रेचरमै राखेर उपचार गर्न विवश छन् । कोशीको आकस्मिक कक्षमा ४० शय्या रहेको छ । भएको ४० शय्यामा बिरामी प्रायः भरिभराउ हुने गर्दछन् । ३ सय ५० शय्याको कोशी अस्पतालमा मेडिकल वार्डमा ३२ शय्या, आइसीयूमा १२ शय्या र एचडीयूमा ५ शय्या रहेको छ ।

‘आकस्मिक कक्ष, आइसीयू, मेडिकल वार्ड र एचडीयूमा शय्या थप गरिदिए बिरामीलाई सहज हुनेथियो । यी तीनवटा वार्डमा नयाँ आएका मेसु र विकास समितिले शय्या थप गरिदिए आकस्मिक कक्षमा आएका बिरामी झ्याल र एउटै बेडमा दुई जनासम्म राखेर उपचार गरिनुपर्ने बाध्यताको अन्त्य हुने थियो’ उपचारमा खटिएका एक चिकित्सकले भने, ‘हामीले धेरै सुझाव दिइसक्यौं । तर, इच्छाशक्ति भएका मेसु पाइएको छैन । भएको जनशक्तिलाई राम्रोसँग परिचालन गर्ने र शय्या विस्तारमा ध्यान दिए अहिलेको यो झ्याल र एउटै बेडमा दुई जनासम्म राखेर उपचार गरिनुपर्ने अवस्था हल हुने थियो ।’

कोशी अस्पतालमा दैनिक १ हजार देखि १ हजार ५ सय जना बिरामीले दैनिक ओपीडी र आकस्मिक कक्षमा सेवा लिने गरेका छन् । करिब १ सयदेखि १ सय ५० जना बिरामी भर्ना हुने खालका हुन्छन् । भर्ना भएका बिरामीले शøया नपाएपछि झ्याल र चिसो भूईंमा छट्पटिँदै उपचार गराउन बाध्य छन् । ‘बिरामी भएपछि अस्पतालमा आरमले उपचार पाइन्छ भनेर आउने गरिन्छ । तर, कोशी अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा झन् बिरामी भइन्छजस्तो भयो’ झ्यालमा बसेर उपचार गर्दै आएका ७० वर्षीय हेमराज मगरले भने, ‘शøयामा बसेर उपचार पाए शरीरलाई पनि आराम हुने थियो होला । यहाँ झ्यालमा बसेर उपचार गराउँदा शरीरलाई धेरै सास्ती भएको र असहज महसुस भयो ।’

अहिले कोशीको आकस्मिक कक्षमा सर्पले डसेका, ज्वरो, डाइरिया, पेट र किड्नीमा समस्या भएका बिरामी धेरै आउने गरेका छन् । आएकामध्ये शøया भरिएपछि झ्यालमा बसेर उपचार गर्दा पीडादायी अवस्था हुने उनीहरू बताउँछन् । कोशीमा आएका बिरामी आर्थिक रूपमा विपन्न आउने गर्दछन् । आएका बिरामीलाई उपचार गरेर पढाउने गरेको कोशी अस्पतालको अकस्मिक कक्षको इन्चार्ज गजेन्द्रप्रसाद यादवले बताए । ‘आएका जति बिरामीलाई शøया भएसम्म राखेर उपचार गरिन्छ । नभएपछि पनि यहीँ उपचार गरिदिनु भनेपछि झ्याल र एउटा बेडमा दुई जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ’–उनले भने ।

कोशी अस्पतालका मेसु डाक्टर चन्द्रभाल झाले जनशक्ति कमीको कारणले समस्या आएको बताए । ‘अहिले एक जना स्वास्थ्यकर्मीले ३० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ’ उनले भने, ‘जनशक्ति थप गरेपछि शøया पनि विस्तार गरिने योजना रहेको छ । केही दिनभित्रै समस्याको हल हुनेछ ।’ अहिले अस्पतालको विकास समिति पनि नयाँ नियुक्ति भएर आएकोले केही दिनभित्रै बैठक बसेर जनशक्ति थप गरी अगाडि बढ्ने उनले बताए । ‘हाम्रो प्राथमिकता भनेको एनआईसीयू सञ्चालन गर्ने र आकस्मिक कक्षलाई व्यवस्थित गर्ने लक्ष्य रहेको छ’ उनले भने, ‘केही दिनभित्रै सुधार हुनेछ ।’

hospital chap2