विराटनगर बजारलाई प्रवर्द्धन गर्न विराटनगर महानगरपालिकाले सीमा नाकामा कडाइ गरेको छ ।
जोगबनीबाट सामान ल्याउँदा सीमा नाकामा अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरिएको छ ।
सीमापार सामान किन्न जानुभन्दा विराटनगरकै बजारमा सामान किन्दा व्यवसाय प्रवर्द्धन हुने भएकाले सीमामा कडाइ गरिएको महानगर मेयर नागेश कोइरालाले जानकारी दिए ।
रवि लामिछाने गृहमन्त्री हुँदा एक सय रूपैयाँभन्दा बढी सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम लगाइएको थियो । लामिछाने गृहमन्त्रीबाट हट्नासाथ हटेको नियम विराटनगर महानगरले पुनः कार्यान्वयनमा लाने निर्णय गरेको छ ।
विराटनगर महानगरपालिकाले साउन १ गतेबाट जोगबनीमा हुने किनमेललाई कडाइ गर्ने नियम लागू गरेको हो । आजबाट घरायसी प्रयोजनका लागि ल्याउने सामानमा समेत अनिवार्य भन्सार लिने नीति लिइएको छ ।
विराटनगर महानगरले सरोकारवालासँग गरेको छलफलपछि जोगबनीबाट ल्याएका सबै मालवस्तुको भन्सार सीमामै काट्ने नियम लागू गरेको हो ।
भारतीय बजारमा सामान सस्तो हुने भन्दै मोरङ, सुनसरीलगायतका जिल्लाबाट स्थानीय घरायसी सामान किन्न जोगबनी जाने गरेका छन् ।
विराटनगर महानगरपालिकाकाले विनाभन्सार सामान ल्याउँदा स्थानीय व्यापारीलाई असर परेको निर्क्यौल गरेको थियो ।
व्यापारीले गुनासो गरेपछि सरोकारवालासँग छलफल गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारले कडाइ गर्ने सहमति गरेको हो ।
अवैध व्यापारका कारण विराटनगरको बजार व्यवसाय धराशायी भएको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए ।