देउराली । वराहक्षेत्र नगरपालिका ९ राजाबासमा युवतीहरूको दुई समूह बिच भएको कुटपिटमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
असार २९ गते राजाबासको चिहान डाँडा स्थित कोसी नदीको किनारमा युवतीहरूको दुई समूह बिच झगडा भएको थियो । वराहक्षेत्र ८ की २२ वर्षीया विनीता उराउ र १७ वर्षीया सन्ध्या परियारको समूह बिच भएको झगडामा उराउको समूहले सन्ध्याको समूहलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उराउको समूहकी एक युवतिलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर राजेश दत्तका अनुसार वडा नम्बर १० प्रकाशपुरकी प्रीति लिम्बूलाई पक्राउ गरेको हो ।
उराउ समूहमा प्रीतिसहित १९ वर्षीय सन्जिता राई, निहाङ राई र दुर्गा राई गरी ५ जनाको समूहले आफ्नो केटा साथीसँग बोलेको भन्दै सन्ध्यासहित १६ वर्षीय नबिना विश्वकर्मा र १९ वर्षीय मनीषा राईलाई कुटपिट गरेको खुलेको दत्तले बताए ।
उनले भने ' उराउको समूहले आफ्नो ब्याइफ्रेन्डसँग किन बोलिस् भनेर कुटपिट गरेको रहेछ । हिजो हामीलाई जाहेरी आएकोले एक जनालाई पक्राउ गरेका छौँ । अदालतमा म्याद थपको प्रक्रियामा छौँ । '
उनले कुटपिटमा संलग्न अन्य चार जनाको खोजी कार्य भइरहेका भन्दै उनीहरू विरुद्ध अभद्र व्यवहार मुद्दा चलाइएको बताएका छन् ।
कुटाइ खाने तीन जनाको अवस्था सामान्य रहेको दत्तले बताएका छन् ।