देउराली । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगी सङ्क्रमितका लागी छुट्टै क्लिनिक संञ्चालमा ल्याइएको छ ।
धरान उपमहानगरपालिका र प्रतिष्ठानकोको सहकार्यमा प्रतिष्ठानको जी। ओपिडी भवन अगाडी टेन्ट टाँगेर डेँगी सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको सहज उपचारका लागि छुट्टै क्लिनिक सञ्चालन गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डाक्टर चुरामणी पोखरेलले बताएका छन् ।
पोखरेलका अनुसार आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालनमा रहने उक्त क्लिनिक असार २९ गतेबाट सुरु गरिएको हो ।
धरान उपमहानगरपालिकाले ५ सय थान डेंगी परीक्षण किट उपलब्ध गराइ टेन्ट तथा कुर्सीहरूको व्यवस्था मिलाइ दिएपछि प्रतिष्ठानले चिकित्सक, नर्स, पारामेडिक्स लगायत जनशक्तिको व्यवस्था गरेर उक्त क्लिनिक सञ्चालनका आएको डा. पोखरेलले बताएका छन् ।
हप्ताको सातै दिन सञ्चालन क्लिनिकमा डेंगीको निःशुल्क परीक्षण गरिने व्यवस्था रहेको छ । डेंगी चेक गराउन आउने बिरामीले ओपिडी टिकट लिएर क्लिनिक आएपछि चिकित्सक, नर्सहरूद्वारा जाँच गरेर र्यापिड किटबाट डेंगी परीक्षण गरी तुरुन्तै पत्ता लगाउन सकिने छ ।
सङ्क्रमितको अन्य आवश्यक जाँच तथा परीक्षणहरूका लागि प्रतिष्ठानको ल्याबमा पठाइने डा. पोखरेलले जानकारी दिएका छन् । उनले । घातक हुनसक्ने लक्षणहरू रक्तचापमा कमी हुनु, मुटुको धड्कन बढ्नु, गिजा तथा शरीरमा आएका डाबरहरूबाट रक्तस्राव हुनु, छिनछिनमा वान्त हुनु, पेट दुख्नु आदि भएका बिरामीहरूलाई इमर्जेन्सी पठाएर उपचार गरिने बताए ।
अन्य सामान्य अवस्थाका सङ्क्रमितलाई अवस्था हेरी घर पठाउने वा प्रतिष्ठानमै राखेर उपचार गरिने गरेको उनले जानकारी दिएका छन् ।
उनका अनुसार असार २९ गते देखि ३१ गतेसम्म उक्त क्लिनिकमा १२१ जनाको परीक्षण गरिएकोमा मध्ये ९६ जना (७९.३५ प्रतिशत) मा डेंगी सङ्क्रमण देखिएको छ । परीक्षणमा धरानको १५, १७ र ११ नम्बर वडाबाट बढी सङ्क्रमितहरू देखिएको उनले जानकारी दिएका छन् ।
यसरी सङ्क्रमित हुनेहरूमा बालकदेखि बद्धसम्म सबै उमेर समूहका बिरामीहरू र केही गर्भवती महिलाहरू पनि रहेको सह प्रवक्ता डा. पोखरेलले बताएका छन् ।
बिरामीहरूको चाप बढी भए पनि ५ सय थान मात्र निःशुल्क किट उपलब्ध भएकोले प्रतिष्ठानले थप किटका लागि उपमहानगरपालिका, प्रदेश स्वास्थ्य मन्त्रालय, सङ्घीय स्वास्थ्य मन्त्रालयहरूसँग पहल गरिरहेको जनाएको छ ।
उपमहानगरपालिकाबाट थप २ सय थान तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य मन्त्रालय, काठमाडौँबाट २ हजार थान किट उपलब्ध गराउने आश्वासन प्राप्त भएको पनि प्रतिष्ठानले जनाएको छ ।