परिवर्तनका लागि सामाजिक अभियानले ४१ औँ सामाजिक स्वास्थ्य क्लिनिक विष्णु मेमोरियल स्कुलपरिसरमा सम्पन्न गरेको छ ।
अभियानले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मुटु, उच्च रक्तचापका बिरामीलाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको अध्यक्ष विष्णु बरालले जानकारी दिए ।
उनका अनुसार पाक्षिक रूपमा गरिँदै आएको क्लिनिकमा मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहको सहकार्य रहेको छ । मुटु, उच्च रक्तचाप, मधुमेहसम्बन्धी जाँच गरिँदै आएको उनले जानकारी दिए ।
क्लिनिकमा सहभागी मोरङ उर्लाबारीका खोमनाथ प्याकुरेलले बूढाबूढीलाई डाक्टरसँग जाँच्ने सुविधा दिएकोमा संस्थालाई धन्यवाद दिए ।
करिब दुई वर्षदेखि क्लिनिक सञ्चालन हुँदै आएको छ । क्लिनिकमा विगतदेखि मधुमेहको जाँच र औषधि पनि वितरण गरिँदै आएको छ । यसपटकको कार्यक्रममा ७६ जनाको स्वास्थ्य जाँच गरिएको थियो ।
कार्यक्रममा नर्स रेनु चौधरीले रक्तचापको परीक्षण र मधुमेहको जाँच गरेकी थिइन् । कार्यक्रममा अभियानमा आबद्ध वर्षा अग्रवाल, हेम ढकाल, जेनिस शाक्य, प्रशान्त अग्रवाल, राजु फुयाल, मोहन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
विभिन्न सामाजिक सङ्घ–संस्था, वडा कार्यालय तथा विद्यालयको सहकार्यमा कार्यक्रम गरिएको हो ।