गत कात्तिक ३ गतेको कुटपिटबाट मृत्यु भएकी उषा राईको छोरीहरूको पठन–पाठनका निम्ति जापानमा कार्यरत एक धरानेले अक्षयकोष स्थापना गरिदिएका छन् ।
विगत ८ वर्षदेखि जापानमा कार्यरत धरान–१३ सूर्यमार्गका उत्तमबहादुर खड्काले मृतक उषाको २२ वर्षीया छोरी स्मृति राई र १० वर्षीया छोरी टेरिसा राईको नाममा अक्षयकोष स्थापना गरिदिएका हुन् । ७१ हजार रुपैयाँ बराबरको अक्षयकोष धरान–१३ कै अमर बचत तथा ऋण सहकारी संस्थामा अक्षय कोष स्थापना गरिएको उनले जानकारी दिए । उत्तमबहादुरले नगद रकम हस्तान्तरणपछि सहकारीका अध्यक्ष भूमिराज लिम्बूलाई नगद प्रदान गरे ।
उक्त नगदबाट प्राप्त ब्याज प्रत्येक ६ महिनामा स्मृति र टेरिसाको नामको व्यक्तिगत खातामा प्रदान गरिने जनाइएको छ । कोषमा रकम थप गरिदिनका लागि अन्य सहयोगी दाताहरूलाई समेत आग्रह गरिएको छ ।