सरकारी अस्पतालमा कोशी प्रदेशको ठूलो अस्पतालमध्येको कोशी अस्पताल पर्दछ । विगतभन्दा कोशी अस्पतालमा संरचना तथा भौतिक पूर्वाधारहरू पनि उल्लेख्य रूपमा वृद्धि भएका छन् ।

तर, उखानजस्तो ‘जति भाँडो उति चुबुर्को’ झैँ भएको छ । भौतिक संरचना तथा पूर्वाधारहरू थपिए पनि अस्पताल प्रशासनले ध्यान नदिँदा बिरामीहरू झ्याल तथा एउटै बेडमा खप्टिएर उपचार गराइरहनुपरेको अवस्था छ । प्रशासनले शय्या विस्तारमा कति पनि ध्यान दिएको छैन । अर्कोतिर जनशक्ति परिचालनको अवस्था त्यस्तै छ ।

छोटो अवधिमा मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन हुँदा सोचेअनुरूपको काम गर्न सकेको अवस्था छैन । अस्पताल विकास समितिले पनि जति ध्यान दिनुपर्ने हो, त्यति दिएको अवस्था छैन । यो बेला अस्पताल भरिभराउ हुने गरेका छन् । बिरामीले बेड नपाउँदा झ्यालमा बसेर उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीलाई सास्ती छ । तर, अस्पताल प्रशासनको ध्यान नपुग्दा प्रदेशकै एक मात्र ठूलो सरकारी अस्पताल अस्तव्यस्त बनेको छ ।

कोशी अस्पतालमा प्रदेशकै गौरवमय इतिहास बोकेको अस्पताल हो । यस अस्पतालको श्रीवृद्धिमा सबैले ध्यान दिनुपर्ने अवस्था छ । तीन सय ५० शय्याको अस्पतालमा बेड विस्तारको आवश्यकता छ ।

त्यसका लागि अस्पताल विकास समिति र मेडिकल सुपरिटेन्डेन्ट गम्भीर भएर त्यसको उन्नयनमा लाग्नुपर्छ । तर, राजनीतिक भागबण्डाका कारण मेसुको परिवर्तन भइरहने हुँदा त्यसको असर अस्पताल विकासमा परेको सहजै देख्न सकिन्छ । पछिल्लो १६ महिनामा तीन जना मेसु परिवर्तन हुनु राजनीतिक परिणामको दृष्टान्त हो ।

अस्पतालको श्रीवृद्धि आजको दिनमा सबै पक्षले मिलेर गरेको हकमा मात्रै सम्भव हुन्छ । स्वास्थ्य संस्थाजस्तो संवदेनशील विषयमा राजनीति नगरेकै राम्रो हुन्छ । स्वास्थ्य संस्थाको पहिलो दायित्व भनेको बिरामीलाई सहज र सरल उपचार गर्नु नै हो । त्यसबाहेक मात्रै अन्य विषयहरू जोडिएलान् ।

कोशी प्रदेशको राजधानीमा रहेको एक मात्रै ठूलो सरकारी अस्पतालको उन्नयनमा सबै पक्षले ध्यान दिनु जरुरी छ । सबैभन्दा ध्यान उपचारमा लगाउनु पर्छ । बेडको व्यवस्थामा पनि सबै पक्षको उत्तिकै लगाव हुन जरुरी देखिन्छ । अस्पतालभित्र हुने राजनीतिलाई बन्द गरेर राजनीति वातावरणलाई पूर्ण निस्तेज गर्नु आजको आवश्यकता हो । 

अस्पतालले अहिले जे जसरी सेवा प्रदान गरिरहेको छ । यसतर्फ गम्भीर हुँदै व्यवस्थापनमा आजैदेखि पहल थाल्नु जरुरी छ । कुनै पनि सङ्घ–संस्थाको हितअनुरूप सबैले काम गर्नुपर्छ । सरकारी सम्पत्तिलाई संरक्षण गर्दै विकास र विस्तारमा बढीभन्दा बढी ध्यान दिनुपर्छ । विगतभन्दा सुधार भएको छ तर, थप सुधारको आवश्यकता महसुस गरिँदै छ ।

जेनरल, आइसियू, आकस्मिक कक्षको शय्या विस्तारमा सम्बन्धित पक्ष जुटिहाल्नु पर्छ । एउटा पक्षले अर्कोलाई र अर्को पक्षले अर्कालाई देखाउने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ । राजनीतिक दलहरू तथा सरकारले पनि आफू निकटको मान्छेलाई भन्दा पनि नेतृत्व क्षमता भएको व्यक्तिलाई पदमा राख्नुपर्छ ताकि उसले अस्पतालको उन्नयनमा ध्यान दिन सकोस् ।

यही अस्पतालमा केही दिनअघि मात्रै एक बिरामीको मृत्यु भएको खबर बाहिरिएको थियो । एउटा विभागबाट अर्को विभाग धाउँदा धाउँदै बिरामीको मृत्यु हुनु भनेको संवेदनहीनताको पराकाष्ठा हो । यसले पनि कोशी अस्पतालको व्यवस्थापन कस्तो छ भनेर चित्रित गर्दछ ।

त्यसकारण अस्पतालको श्रीवृद्धिका लागि सबै पक्ष गम्भीर हुनै पर्छ । एउटा अस्पतालको पहिलो दायित्व तथा जिम्मेवारी भनेको बिरामी बचाउनु नै हो । त्यसतर्फ अस्पताल प्रशासनले ध्यान देओस् र सँगसँगै अस्पतालको शøया विस्तारमा तत्काल कदम चालोस् ।