बिर्तामोड (ब्लाष्ट) झापाको बिर्तामोड नगरपालिकामा रहेको ‘गिरीबन्धु टि–स्टेट’ मा एकजना शेयर होल्डर छत्रबहादुर गिरीले हाली–मुहाली गरेपछि अन्य शेयर होल्डरले कानूनी बाटो रोजेका छन् । उनले एकलौटी रूपमा जमिन बिक्री गर्ने भन्दै करोडौं रकम सङ्कलन गरेकोप्रति अरू साझेदारले आपत्ति जनाएका हुन् ।
२०२० सालमा स्थापित गिरीबन्धु टि–स्टेटमा छत्रबहादुर गिरी २५ प्रतिशत साझेदार हुन् । त्यतिबेलादेखि नै अन्य साझेदारको कम्पनीमा ७५ प्रतिशत हिस्सा छ । छत्रबहादुरले अन्य साझेदारले पाउने हिस्सा नदिई एकलौटी रूपमा जमिन दिने भन्दै झापादेखि काठमाडौंसम्मका व्यवसायीसँग करोडौं रकम उठाएको आरोप उनीहरूले लगाएका छन् ।
केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा गिरीबन्धु टि–स्टेटको जमिन बिक्री गर्नका लागि भूमिसुधार ऐन १८ औं संशोधन गरिएको थियो । २०७८ असार २४ गते ओली क्याबिनेटको बैठकले फाष्ट ट्रयाकमा गिरीबन्धुको जमिन बिक्री गरेर झापाको पृथ्वीनगरमा चिया बगान स्थानान्तरण गर्न दिने निर्णय गरेको थियो ।
ओली क्याबिनेटको सोही निर्णयको जगमा टेकेर छत्रबहादुरले व्यवसायीलाई जमिन दिने भन्दै रकम उठाउन थालेका हुन् । छत्रबहादुर गिरीले व्यवसायीसँग करोडौँ रकम उठाएको अर्का साझेदार कृष्णकुमार गिरीका छोरा नवीन गिरीले बताएका छन् । छत्रबहादुरले २५ देखि ३० करोडको हाराहारीमा रकम उठाएको उनको अनुमान छ ।
‘हामीलाई थाहा नै छैन, छत्र काकाले बजारमा करोडौं रकम उठाउँदै हुनुहुन्छ अरे’ गिरीले भने, ‘२५ देखि २७ प्रतिशत शेयर भएको कम्पनीको शेयर होल्डरले १ सय प्रतिशत नै मेरो हो भनेर भ्रम छरिरहनुभएको छ । तर, हामीले त्यो जमिन खरिद गर्ने नाममा कोही पनि नफसून् भनेर सत्य कुरा सार्वजनिक गरेका हौं ।’
गिरीबन्धु टि–स्टेटको २०४० सालमा भएको विशेष साधारणसभाले भगवान गिरी, प्रेमकुमार गिरी र कृष्णकुमार गिरीलाई कम्पनीको हिस्साका रूपमा राजमार्गको उत्तरपट्टि १ सय २ बिगाहा जमिन दिने निर्णय गरेको थियो । त्यसबेला चलअचल सम्पत्तिको मूल्याङ्कन गरेर २३ लाख ५१ हजार रुपैयाँ छत्रबहादुर गिरीले भगवान, प्रेमकुमार र कृष्णकुमार गिरीलाई दिने सहमति भएको थियो । सो सहमतिअनुसार छत्रबहादुरले १० लाख रुपैयाँमात्र दिएको नवीन गिरीले उपलब्ध गराएको कागजपत्रमा उल्लेख छ ।
बाँकी रकम १३ लाख ५१ हजार रुपैयाँ र कम्पनीको हिस्सा १ सय २ बिगाहा जमिन आफूले पाउनुपर्ने मागसहित असन्तुष्ट गिरी परिवारले छत्रबहादुरलाई प्रतिवादी बनाउँदै २०७८ सालमा ‘कीर्ते जालसाज’ र ‘दूषित कित्ता नक्सा एकीकृत निर्णय, दर्ता बदर, दर्ता कायम, चलन’ मुद्दा दर्ता गराएको थियो । सो मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । यसैगरी २०७९ साल असोजमा कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘आवश्यक छानबिन गरी कम्पनीको हिसाब किताब गरी शेयरसमेत अद्यावधिक गरी पाऊँ’ भन्दै पीडित पक्षले निवेदन गरेको थियो ।
छत्रबहादुरले २०७८ चैतमा पीडितको माग दाबीअनुसारको जमिन छुट्याउन बाँकी रहेको प्रत्युत्तर अदालतमा फर्काएका थिए । सो प्रत्युत्तरमा उनले विशेष साधारणसभाले गिरीबन्धु टि–स्टेट प्रालिको नाममा दर्ता कायम रहेको राजमार्ग उत्तर–पूर्वतर्फबाट १ सय २ बिगाहा जमिन फिर्ता गर्न तयार नै रहेको स्वीकारेका छन् । सो जमिनमा भएको चिया बगान वादीसमेतका हिस्सेदारहरूले भोग गरिरहेको कुरा छत्रबहादुरले स्वीकार गरी रीतपूर्वक आएमा जमिन राजीनामा पास गरिदिने अदालतलाई जानकारी गराएका थिए ।
‘हामीले छत्र काकालाई व्यवहार मिलाउन धेरै पटक अनुरोध ग¥यौँ, उहाँ केही न केही बहाना बनाएर हामीसँग सम्पर्कमा आउनुहुन्न’ पीडितमध्येका नवीनले भने, ‘घरमा गएर भेट्यो भने पनि उहाँ केही न केही बहाना बनाएर काठमाडौँतिर जानुहुन्छ । उहाँसँगको सहमतिमा व्यवहार नमिल्ने देखेर हामीले कानूनी बाटो रोजेका हौँ, हामीले अदालतदेखि कम्पनी रजिष्ट्रारको कार्यालयसमेतमा सो जमिनमा रहेको हाम्रो हिस्सा दिलाइपाउन निवेदन गरेका छौँ । हाम्रो मागको उचित सुनुवाइ हुनुपर्छ ।’
‘कम्पनी स्थापना हुँदाका समयमा छत्र काका ९ वर्षको हुनुहुन्थ्यो, यतिबेला उहाँ ७० वर्ष पुग्नुभयो’ नवीनले भने, ‘यतिबेला आएर उहाँ कम्पनीको स्वामित्व एकलौटी बनाउने योजनामा हुनुहुन्छ, त्यसका विरुद्ध हामी कानूनी लडाइँमा छौँ ।’
पीडितहरूको निवेदन उपर कारबाही गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयले २०७९ फागुनमा ६ बुँदे आदेश गरेको थियो । त्यो निर्देशनलाई पनि छत्रबहादुरले पालना नगरेको पीडितहरूको आरोप छ ।
२०४० साल कात्तिक १७ को विशेष साधारणसभाको निर्णयसम्बन्धी सक्कल कागजात, साधारणसभाको निर्णयबमोजिम भगवान, प्रेमकुमार र कृष्णकुमार गिरीले आफ्नो स्वामित्वको शेयर बिक्री हस्तान्तरण गरेको भए सो सम्बन्धी लिखत कागजातहरू उजुरीकर्ताहरूको नाममा जग्गा हक हस्तान्तरण भए÷नभएको जवाफसहित सो सम्बन्धी लिखत कागजात, उजुरीकर्ताहरूको नामको शेयर के कुन आधारबाट राइट अफ शेयर भएको हो ? सो सम्बन्धी कानूनी आधार प्रमाणसहितका कागजातहरू र कम्पनी दर्ता हुँदाका बखतको सुरु शेयर लागतको विवरण र सञ्चालक समितिको निर्णय र कम्पनीका कागजातहरू हालसम्मको अद्यावधिक बिवरण, लेखा परीक्षण प्रतिवेदन तथा कम्पनीबाट भएका हालसम्मका निर्णयहरूको लिखत कागजात बुझाउन कम्पनी रजिष्ट्रारको कार्यालयले आदेश गरेको थियो ।
छत्रबहादुरले कम्पनी घाटामा गएको भन्दै विगत ८ वर्षदेखि चालु अवस्थामा रहेको उद्योग बन्द गराएका थिए । त्यस स्थानमा उत्पादित हरियो पत्ती आफ्नो छोराको स्वामित्वमा रहेको ‘शमशेर एण्ड गंगादेबी टि कम्पनी’ मा लगेर प्रशोधन गर्दै एकलौटी बिक्री गरिरहेको आरोप पीडित पक्षको छ ।
गिरीबन्धु टि–स्टेटमा छत्रबहादुरसहित प्रेमकुमार, कृष्णकुमार, त्रिलोचन (नन्दकिशोर), श्याम, प्रशान्त, राजेश, भरतलाल र रमेश गिरी शेयर होल्डर छन् । तर, सामाजिक रूपमा छत्रबहादुरले गिरीबन्धु टि–स्टेटलाई एकलौटीजस्तै बनाएका छन् ।
पीडितले २०४० सालदेखि कम्पनीको आम्दानीसमेत खोजी गरेका छन् । उनीहरूले छत्रबहादुरले एकलौटी रूपमा आम्दानी चलाइरहेको बताएका छन् । पीडित परिवारले २०४० सालदेखि हालसम्म छत्रबहादुर गिरीले कम्पनीलाई पु¥याएको आर्थिक क्षति, हानि नोक्सानी र अन्य गैरकानूनी, अवैध निर्णयहरूका साथै कम्पनीको हित विपरीत गरेका सम्पूर्ण निर्णयहरू छानबिन गरी कानूनी उपचार अवलम्बन गर्न माग गरेको छ ।
हालसम्म भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति छत्रबहादुरको निजी सम्पत्ति, घरघरानाबाट असुलउपर गरिनुपर्ने माग उनीहरूले राखेका छन् । यो विषयमा बुझ्न छत्रबहादुरसँग पटक–पटक फोन सम्पर्क गरे पनि सम्पर्क हुन सकेन ।