सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले ७४ करोड ७१ लाख २२ हजार राजस्व असुली गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० सालमा सुनसरी भन्सार कार्यालयले वार्षिक ८२ करोड ९३ लाख ३२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा साउनदेखि असार मसान्तसम्म ९० दशमलव ०९ प्रतिशत अर्थात् ७४ करोड ७१ लाख २२ हजार राजस्व सङ्कलन गरेको हो ।
सुनसरी भन्सार कार्यालयले असार मसान्तसम्ममा ८२ करोड ९३ लाख ३२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा ९ दशमलव ९१ प्रतिशत कम अर्थात ८ करोड २२ लाख १० हजार राजस्व मात्रै सङ्कलन गरेको सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत गणपति कडेलले जानकारी दिए ।
सुनसरी भन्सार कार्यालयले साउन महिनामा ६ करोड ५७ लाख ५८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ६ करोड ९५ लाख ११ हजार अर्थात् १ सय ५ दशमलव ७१ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने भदौ महिनामा ७ करोड २६ लाख ९६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा १ सय ३२ दशमलव ६१ प्रतिशत अर्थात् ९ करोड ६४ लाख ३ हजार राजस्व सङ्कलन गरेको थियो ।
यसैगरी असोज महिनामा ६ करोड ८२ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ५ करोड ५८ लाख ६० हजार अर्थात् ८१ दशमलव ८८ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको थियो भने कात्तिक महिनामा ६ करोड ५५ लाख ८६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ७ करोड ८९ लाख ४५ हजार अर्थात् १ सय २० दशमलव ३७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।
त्यस्तै मङ्सिर महिनामा ७ करोड ८५ लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा सुनसरी भन्सार कार्यालयले ९ करोड १ लाख ६५ हजार राजस्व सङ्कलन गरेको थियो भने पुस महिनामा ८ करोड ११ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ६ करोड ८० लाख १२ हजार अर्थात् ८३ दशमलव ८० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो ।
सुरुवाती ६ महिनाको अवधिमा सुनसरी भन्सार कार्यालयले ४५ करोड ८८ लाख ९५ हजार राजस्व सङ्कलन गर्न सफल भए पनि पछिल्लो छ महिनाको अवधिमा राजस्व सङ्कलन घटेको देखिन्छ ।
माघ महिनामा ७ करोड १ लाख २३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा भन्सार कार्यालयले ५ करोड १२ हजार अर्थात् ७० दशमलव ४२ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने फागुनमा ६ करोड ८७ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ४ करोड ९० लाख १४ हजार अर्थात् ७१ दशमलव २६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।
यस्तै चैत महिनामा ६ करोड ६४ लाख ९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ४ करोड ६८ लाख ८४ हजार अर्थात् ७० दशमलव ६० प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने वैशाख महिनामा ७ करोड ४३ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा सुनसरी भन्सार कार्यालयले ४ करोड ८१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको थियो ।
त्यसैगरी जेठ महिनामा ५ करोड ९२ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ४ करोड ५० लाख ५७ हजार अर्थात् ७६ दशमलव ०२ प्रतिशत राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले असार महिनामा भने ५ करोड ७४ लाख ४२ हजार राजस्व असुल गर्ने लक्ष्य लिएकोमा ४ करोड ९१ लाख ८ हजार अर्थात् ८५ दशमलव ४९ प्रतिशत राजस्व असुल गरेको जनाएको छ । सुनसरी भन्सार कार्यालयले विगतमा औसतमा ५० करोड राजस्व असुली गर्ने लक्ष्य राख्ने गरेको देखिन्छ ।
सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत कडेलले भने, ‘यसपटक भने एकैपटक ३२ करोड बढी राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । व्यापारमा मन्दी छ, सुनसरीका नाका हुँदै विगतमा आउने कतिपय सामान अन्यत्रबाट पनि आउन थालेको छ, त्यसैले पनि वार्षिक लक्ष्य भेटाउन सकेनौँ ।’
वार्षिक लक्ष्यमा औसतभन्दा एकैपटक ३२ करोड लक्ष्य बढाएर राखिए पनि वर्तमान परिस्थितिमा लक्ष्यको ९० प्रतिशत राजस्व असुल गर्नु पनि आफूहरूको उपलब्धि भएको उनको दाबी छ ।