देउराली । सोमबार आत्मदाहको प्रयास गरेका धरान ३ का सुनचाँदी व्यवसायी यौवन खड्गीले तनावमा आएर आत्मदाहको प्रयास गरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ ।
धरानको भानु चोकमा आत्मदाहको प्रयास (blastkhabar.com)
आर्थिक लेनदेन मिलाउनु पर्ने तनावमा रहेका र परिवारको साथ नपाएको भन्दै आवेगमा आएर आत्मदाहको प्रयास गरेको यौवनले वयान दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले बताएका छन् ।
यौवनले सञ्चालन गरेको न्यु जयन्ती स्टोरमा १५ देखि १८ प्रतिशतसम्म ब्याज दिने भन्दै मानिसहरूबाट बचत उठाएपछि उक्त रकम तिर्न नसकेपछि बचत कर्ताहरूले रकम फिर्ता लिन ताकेता गर्दै आएका थिए ।
२०७६ साल फागुनमा खड्गी सम्पर्क विहीन भएपछि बचत कर्ताहरूले उनको घर घेराउ समेत गरेका थिए । त्यस यता बचत कर्ताहरूले उनको अचल सम्पत्ति रोक्का गर्नुका साथै विभिन्न समयमा उनकी श्रीमतीले लेनदेनको कागज गर्दै आएकोमा करिब ६ महिना अघि मात्र उनी घर आएका थिए ।
घर आइसकेपछि बचतकर्ता र उनी बीचको लेनदेनको विवाद मिलाउन पटकपटक छलफल भएकोमा आइतबार रोक्का रहेका अचल सम्पत्ति फुकुवा गरी दुई वर्षमा बचतकर्ताको बचत फिर्ता गरी फर्काउने गरी सामेबार उनको घरसहित करिब १ कठ्ठा जग्गा बचत कर्ताको नाममा नामसारी गर्ने दिन रहेकोमा उनले आत्मदाहको प्रयास गरेको बचत कर्ता मध्येकी एक अनु श्रेष्ठले बताइन् ।
आत्मदाहको प्रयास गर्नु भन्दा अघि खड्गीले विभिन्न व्यक्तिले तनाव दिएको भन्दै कानुनी कारबाहीको माग गर्दै उनको फेसबुक खातामा हस्तलिखित एक नोटको तस्बिर पोस्ट गरेका थिए । जसमा धरान उपमहानगरपालिका ३ नम्बर वडामा एसी जडान गरीदिनमाग गरिएको बताएका थिए ।
तर, उक्त नोटको खण्डन गर्दै वडाध्यक्ष विद्या शाक्यले खड्गीबाट पीडित बनेका बचतकर्ताहरूले स्वतःस्फूर्त रूपमा वडा कार्यालयमा एसी जडान गरिदिने भनेको र आफूले कसैसँग नमागेको बताएका छन् ।
उनले सञ्चालन गरेको न्यु जयन्ती स्टोरमा ७२ जना बचत कर्ताको ६ करोड ७४ लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको बताएका छन् । उनले आफूले व्यवहार मिलाउन चाहेको र कानुनी रूपमा पनि उन्मुक्त चाहेकोले बताएकाले बचतकर्ताहरूलाई केही समयका लागी पर्खन सुझाव दिएको डिएसपी मल्लले बताए।
उनले भने 'आज पनि उनको अवस्थाको बारेमा बुझ्न बोलाएका थियौँ । उहाँले कसैले आफूलाई आत्मदाह गर्न उत्प्रेरित गर्यो भन्दा पनि व्यवहारको तनाव र परिवारबाट उचित साथ नपाएको आवेगमा त्यस्तो गर्न पुगे भन्नु भयो । आवेगमा कसैको नाम लिन पुगे भन्नु भयो । अहिले सामान्य नै छ । अर्को पक्षलाई केही दिन तनाव मुक्त हुन दिनुहोस् फोन नगरिइदिनुहोस् भनेको छु ।'