नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । बैठकको कांग्रेसले पहिलो पटक आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए । यसैगरी अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका छन्, भने नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका छन्। 

यसैगरी प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा व्यक्त गरे । सभापति देउवाले बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरे ।  

बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन् । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचीमाथि छलफल भइरहेको छ ।