झापाको भद्रपुरमा रहेको नवनिर्मित प्रादेशिक अस्पताल निर्माणका क्रममा ठेकेदारबाट भएको लापरबाहीपूर्ण कामलाई सच्याउने भएको छ ।
प्रादेशिक भवनमा भएको त्रुटिलाई सच्याउनका लागि साउन १५ गतेदेखि मर्मत थालिने भएको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, जिल्ला समन्वय प्रमुख विश्वनाथ बराल, युवा नागरिक समाज झापा भद्रपुरका अध्यक्ष प्रेम खनाललगायतको छलफलमा सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख रूपक आचार्यले भवन निर्माणमा त्रुटि भएको स्थानमा मर्मत गरिने बताए ।
१५ दिनअघि सघन सहरी तथा भवन निर्माण आयोजनाले भवन निर्माण कार्यमा भएको त्रुटिको र गुणस्तरको चेकजाँच गराउन स्ट्रक्चर इन्जिनियर प्रवीन ढकालसहितको विशेषज्ञ टोली खटाएको थियो ।
जेठ २२ गते नै सघन सहरी विकास आयोजना झापाका प्रमुख रूपक आचार्यले मेडिकल सुपरिटेन्डेन्ट डा. जयकुमार ठाकुरलाई सो भवन हस्तान्तरणको फारममा हस्ताक्षर गरी बुझिलिएका थिए भने आयोजनाको पत्रमा समितिका अध्यक्ष बराल, पदेन सदस्य पोखरेल, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता रोक्का, समितिका सदस्य लक्ष्मण पोखरेल, जानुका पौडेल, वडानम्बर ८ का अध्यक्ष गौरव सुब्बालगायतले रोहवरमा हस्ताक्षर गरेका थिए ।
ठेकेदारका प्रतिनिधि दीपक कार्कीले भवन निर्माण गर्दा समयमा रकम नपाएको र अहिले बनाउँदा ६० करोड लाग्ने बताएका थिए । कार्कीको भनाइलाई युवा नागरिक समाजका अध्यक्ष खनालले प्रतिवाद गरेका थिए । नगरप्रमुख पोखरेलले कानूनअनुसार जानुपर्ने र परेको बेलामा जवाफदेही हुनुपर्ने बताए ।
प्रतिवेदन सुनेपछि अध्यक्ष खनालले त्रुटिपूर्ण भवन बनाउने ठेकेदारलाई कारबाहीको माग गरेका थिए । कारबाहीको विषयमा प्रमुख आचार्यले तत्काल कारबाही गर्न नसक्ने बताएका थिए । भवनको विषयमा माओवादी केन्द्र भद्रपुर नगरसमिति, नेपाली काङ्ग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति जारी गर्दै चासो देखाएका थिए ।
जेठ २२ गते नै सघन सहरी विकास आयोजना झापाका प्रमुख रूपक आचार्यले मेडिकल सुपरिटेन्डेन्ट डा. जयकुमार ठाकुरलाई सो भवन हस्तान्तरणको फारममा हस्ताक्षर गरी बुझिलिएका थिए भने आयोजनाको पत्रमा समितिका अध्यक्ष बराल, पदेन सदस्य पोखरेल, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता रोक्का, समितिका सदस्य लक्ष्मण पोखरेल, जानुका पौडेल, वडानम्बर ८ का अध्यक्ष गौरव सुब्बालगायतले रोहवरमा हस्ताक्षर गरेका थिए ।
२४ करोड ६२ लाख रूपैयाँ (भ्याटबाहेक २२ करोड ६१ लाख ३७ हजार ३ सय ५२ रुपैयाँ ७१ पैसा) मा २०७४ साल कात्तिक ३० गते काठमाडौंको श्री कन्टेक प्रा.लि. नामक ठेकेदार कम्पनीले २०७९ भदौ ३१ गते कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । कुशल शर्मा प्रोप्राइटर रहेको सो निर्माण कम्पनीले प्रादेशिक अस्पतालको २ वटा भवनमा ६ वटा ब्लक र एउटा र्याम्प बनाएको छ ।
उद्घाटन गर्ने भनेर तयारी भइरहेको प्रादेशिक अस्पताल हस्तान्तरण नै नभई चुहिन थालेपछि सर्वत्र आलोचना सुरु भएको थियो । मेची अस्पतालको पुरानो भवन जीर्ण, खरिद गरिएका उपकरणहरू बिग्रने र बिरामीहरूको चाप पनि बढ्दै गएकोले हस्तान्तरण प्रक्रियामा रहेको प्रादेशिक अस्पतालको नयाँ भवन अनुगमन गर्दा भवन कमसल बनेको र पानी चुहिने समस्या रहेको अस्पताल विकास समितिले स्वीकार गरेको थियो ।
असार ६ गते विकास समितिले विज्ञप्तिमार्फत् असारको पहिलो सातामा आएकै वर्षे झरीको पानी रसाएर चुहिएको, आइसियु कक्षमै छतबाट पानी चुहिएको, छानाको फाइबर कमसल भएको र तीनवटा सेक्सनको छानाको जडानबाट पानी चुहिएको उल्लेख गरेका थिए ।
त्यस्तै २०८० जेठ २२ गते बसेको अस्पताल विकास समितिको बैठकमा हस्तान्तरण प्रक्रियाका विषयमा छलफल भएको जनाउँदै विज्ञप्तिमा अस्पतालको झ्याल, ढोकाको सामग्री कमसल भएको, शौचालयमा धेरै समस्या देखिएको लगायतका विषय उठान हुँदा उक्त समस्या समाधान गर्ने र अन्य समस्याहरू भए ठेकेदारले धरौटी स्वरूप राखेको रकमबाटै आवश्यक व्यवस्थापन गर्ने गरी अघि बढ्ने छलफल भएको पनि जनाइएको थियो ।
विज्ञप्तिमा भवन निर्माण प्रक्रियामा अस्पताल विकास समितिको कुनै संलग्नता नभएको स्पष्ट पार्दै भवन निर्माणको क्रममा देखिएको त्रुटि र प्राविधिकहरूको संलग्नताका सम्बन्धमा छानबिन गरी सम्बन्धित ठेकेदार तथा अनुगमन सुपरीवेक्षण गर्ने पक्षलाई कानूनी दायरामा ल्याई क्षतिपूर्तिसमेत असुल उपर गर्न सरकारसँग माग गरिएको छ ।
अस्पताल विकास समितिले नव निर्मित सो भवनमा देखिएको लापरबाही र असाधारण त्रुटिहरू निराकरण नभएसम्म सेवा प्रवाह गर्न नसकिने विज्ञप्तिमा उल्लेख गरेको थियो ।