धरान । धरान–१९ स्थित किरातेश्वर माध्यमिक विद्यालयले यस शैक्षिक सत्रबाट कक्षा ११ सञ्चालन गर्ने भएको छ । 

कक्षा ११ मा कानून र व्यवस्थापन सङ्काय अध्ययन गराउने विद्यालयका प्रधानाध्यापक डा. योगेन्द्र पालुङ्वाले बुधबारको पत्रकार सम्मेलनमा जानकारी दिए । सामुदायिक विद्यालयतर्फ धरानमा कानून विषय पढाउन लागेको यो पहिलो विद्यालय हो ।

धरानमा निजीतर्फ भने हिबिस्कस विद्यालयले अध्ययन गराइरहेको छ । विद्यालयले विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीलाई पहिलो वर्ष भर्ना शुल्क र एक सेट पुस्तक पनि निःशुल्क रूपमा उपलब्ध गराउने प्रधानाध्यापक पालुङ्वाले बताए । 

विद्यालयबाट यस वर्ष २७ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका थिए । एसईई दिनेमध्ये विज्ञान सङ्काय र होटल मेनेजमेन्ट विषय लिन चाहने विद्यार्थीहरू बाहिर जाने उनले बताए । ‘अन्य विद्यार्थीहरू यही स्कुलमा पढ्ने भन्ने भएको छ’ उनले भने, ‘यसपटक विद्यार्थीलाई निःशुल्क पुस्तक र भर्ना शुल्क लिने छैनौँ ।’

उनले कानून विषय सबैका लागि आवश्यक भएकाले पनि कानून विषयको अनुमति लिएको बताए । पत्रकार सम्मेलनमा सहभागी वडाध्यक्ष पूर्ण लिम्बूले स्कुलको भौतिक संरचना निर्माण गर्न वडाले सहयोग गरेको बताए ।

उनले कक्षा ११ र १२ ल्याउनका लागि स्कुलसँग मिलेर वडाले अभियान पनि चलाइरहेको बताए । धरान–१९ मा एउटा मात्रै सामुदायिक विद्यालय सञ्चालनमा छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउमान ताप्मादेनले विद्यालयको उन्नयनका लागि वडाभरि अभियान चलाउन लागिएको बताए ।