• ध्रुव अधिकारी

राष्ट्रिय तथ्याङ्क कार्यालयले १२ औं जनगणनाको नतिजा भर्खरै सार्वजनिक गरेको छ । वि.सं.२०७८ साल भदौदेखि मङ्सिर महिनासम्म सञ्चालित जनगणनाको अन्तिम नतिजाअनुसार धरान उपमहानगरपालिकामा अक्सर बसोबास गर्ने जनसङ्ख्या १ लाख ६६ हजार ५ सय ३१ पुगेको छ । यस जनगणनाबाट प्राप्त विवरणअनुसार वि.सं.२०६८ को तुलनामा उपमहानगरपालिकाको जनसङ्ख्या २८ हजार ८ सय २६ ले बढेको छ । विगत एक दशकको अवधिमा यहाँको जनसङ्ख्या २०.९३% ले वृद्धि भएको छ भने वार्षिक वृद्धिदर १.८६% कायम भएको छ भने साक्षरता दर ८७.४% छ, जसमा पुरुष साक्षरता ९२.६% र महिला साक्षरता दर ५२.९% पुगेको छ । त्यस्तै प्रतिवर्गकिलोमिटर क्षेत्रफलमा ८ सय ६६ जनाको बसोबास रहेको छ ।


लिङ्गानुपातः

धरान उपमहानगरपालिकामा अक्सर बसोबास गर्ने पुरुषको सङ्ख्याभन्दा महिलाको सङ्ख्या बढी रहेको छ । पुरुष जनसङ्ख्या ७८ हजार ४ सय १० रहेकोमा महिलाको सङ्ख्या ८८ हजार १ सय २१ छ । जसअनुसार महिलाको सङ्ख्या करिब १० हजारले बढी रहेको छ । उक्त सङ्ख्या कुल जनसङ्ख्याको आधारमा ४७.१% पुरुष र ५२.९% महिला बसोबास गरेका छन् । पुरुष र महिलाको सङ्ख्याको अनुपात ८८.९८% छ । यसबाट प्रति १ सय महिलाको सङ्ख्या बराबर करिब ८९ पुरुषको सङ्ख्या हुन आउँछ ।

परिवारको आकारः

यस उपमहानगरपालिकामा ३० हजारभन्दा बढी घरधुरी र ४२ हजार ३ सय ९६ घरपरिवार रहेका छन् । वि.सं.२०६८ सालको जनगणना अनुसार प्रत्येक परिवारको औषत आकार ४.२९ रहेकोमा हाल ३.९३ कायम भएको छ । प्रतिपरिवारमा बसोबास गर्ने सदस्य सङ्ख्यामा घटेको छ ।

6

वडागत जनसङ्ख्याः

वडागत जनसङ्ख्यालाई हेर्दा सबैभन्दा ठूलो वडा नं. १५, दोस्रो ठूलो वडा नं. ११ त्यसपछि क्रमशः १७ र १४ रहेका छन् । त्यस्तै कम जनसङ्ख्या बसोबास गर्ने वडा नं.२ रहेको छ ।

8

सक्रिय जनसङ्ख्याः

यस जनगणनाबाट धरानमा आर्थिक रूपले सक्रिय जनसङ्ख्या १ लाख ११ हजार ७ सय ४३ रहेको छ । यो सङ्ख्या कुल जनसङ्ख्याको ६७.१% हुन आउँछ । यसरी उपमहानगरपालिकाको दुईतिहाइ जनसङ्ख्या आर्थिक रूपले सक्रिय हुनु यस उपमहानगरपालिकाको जनसाङ्ख्यिक लाभको अवस्था हो । धरानमा उच्चशिक्षा हासिल गर्ने उद्देश्यले अन्यत्र स्थानबाट आउने र अनुकूल मौसमको कारणले स्थायी बसोबास गर्ने मानिसको सङ्ख्या बढ्नुको कारणले सक्रिय जनसङ्ख्या बढी भएको अनुमान गर्न सकिन्छ ।

बालबालिकाको सङ्ख्या:

राष्ट्रिय जनगणना २०७८ अनुसार धरान उपमहानगरपालिकामा कुल ३७ हजार २ सय ७५ जना १४ वर्षमुनिका बालबालिका रहेका छन् । जसमध्ये बालिकाको तुलनामा बालकहरूको सङ्ख्या झण्डै १५ सय जतिले बढी देखिन्छ । यसबाट छोराप्रतिको मोह बढी भएको सामाजिक संस्कारको पुष्ट्याइँ हुनुका साथै भविष्यमा यही अवस्था कायम रहेमा महिलाको भन्दा पुरुषको सङ्ख्या बढी हुनसक्ने अनुमान गर्न सकिन्छ ।

7

वृद्धवृद्धाको सङ्ख्याः

प्राप्त नतिजाअनुसार धरान उपमहनागरपालिकामा १७ हजार ५ सय १३ जना ६० वर्षमाथिका ज्येष्ठ सदस्यहरूको बसोबास रहेको छ । जसमध्ये ६०–६४ वर्ष उमेरसमूहका मानिसहरुको बाहुल्यता देखिन्छ ।

समग्रमा धरान उपमहानगरपालिका जनसाङ्ख्यिक लाभको अवस्थामा रहेको र यो अवस्था कम्तीमा थप दुई दशकसम्म रहन सक्ने भएकोले उपलब्ध मानवीय स्रोतको अधिकतम् प्रयोग र उचित लाभ लिन सक्ने गरी सरकारी नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्न सामूहिक प्रयत्न रहेमा शिक्षा, सभ्यता र जागरणको इतिहास जस्तै वर्तमान र भविष्यमा समेत धरानको गौरव र समृद्धिको मार्ग प्रशस्त हुनेछ ।

9

(लेखकः धरान उपमहानगरपालिकाका पूर्व सूचना अधिकारी तथा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् ।)